काभ्रेपलाञ्चोक– बाढीबाट प्रभावित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुका साथै उद्योगबाट निस्किएको फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन नगरेसम्म बेथानचोक गाउँपालिका–४ मा सञ्चालित चलाल गणेशस्थान रोडा ढुङ्गा उद्योगको खानी सञ्चालन गर्न नपाइने भएको छ ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कात्तिक १८ गते बसेको बैठकले खानी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
बेथानचोक गाउँपालिकाले तयार पारेको स्थलगत छानबिन प्रतिवेदन र प्रभावित क्षेत्रका स्थानीयवासीसँगको छलफलका आधारमा यस्तो निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।
उनका अनुसार उद्योगबाट निस्किएको फोहोर अव्यवस्थित रूपमा थुपारिएका कारण भारी वर्षापछि बगेर बस्तीमा पस्दा क्षति पुगेको स्थलगत प्रतिवेदनमा उल्लेख छ ।
गत कात्तिक १२ देखि १४ गतेसम्म भएको वर्षाका कारण कात्तिक १४ गते बिहान बस्तीमा ढुङ्गा, माटो र गेग्रान पसेको थियो । उक्त घटनामा सेते तामाङ, पोतेबहादुर तामाङ, हर्कबहादुर तामाङ, पुष्पामाया तामाङ, जगतबहादुर तामाङ र सुमन तामाङका घर पूर्ण रूपमा क्षति भएका थिए ।
बाढीले खानेपानीको मुहान, पाइपलाइन र विद्युत्का पोलमा समेत क्षति पुर्याएको थियो । घटनामा मानवीय तथा पशुचौपायाको क्षति भने नभएको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीका अनुसार समितिले प्रभावित परिवारलाई गाउँपालिकाले निर्धारण गरेअनुसार क्षतिपूर्ति उपलब्ध गराउन र उद्योगबाट निस्किएको ढुङ्गा तथा अन्य फोहोरजन्य सामग्रीको उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ । यी दुवै काम पूरा नभएसम्म खानी सञ्चालन गर्न नपाइने उनले बताए ।
गाउँपालिकाबाट पुनः अनुमति नलिई उद्योग सञ्चालन गरेमा बन्द गराई कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालयलाई समेत निर्देशन दिइएको छ ।
समितिले खहरेखोलाको किनारमा सिमेन्टको पर्खाल निर्माण गर्ने वा जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विकल्पमा आवश्यक समन्वय गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
यसैबीच, गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३५ जनाको आधिकारिक विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रदेश मन्त्रालयमा पठाउने निर्णयसमेत बैठकले गरेको छ ।














प्रतिक्रिया