‘अपदस्थ’ र ‘असक्षम’को गठजोडले ल्याएको प्रलय « Khabarhub

‘अपदस्थ’ र ‘असक्षम’को गठजोडले ल्याएको प्रलय



जीवनको उत्तरार्द्धमा अल्बर्ट आइन्स्टाइनलाई कसैले सोध्यो- ‘यदि पुनर्जन्म हुन्छ भने के तपाईं फेरि वैज्ञानिक बन्न चाहनुहुन्छ ?’ उनले शान्त भएर जवाफ दिए- ‘म एउटा साधारण प्लम्बर हुन चाहन्थेँ । प्लम्बर भएको भए मसँग कहिलेकाहीँ आफ्नै बारेमा सोच्ने समय हुने थियो । मेरो सारा जीवन चन्द्रमा र ताराका विषयमा सोचेरै बित्यो । म जन्मिदा जस्तो अज्ञानी थिएँ , आज यस संसारबाट बिदा हुने बेलामा त्यस्तै भएर जाँदैछु । यद्यपि विश्वले मलाई ज्ञानी भन्छ । अर्को जन्म हुन्छ भने अज्ञानी भएर मर्न चाहन्न । त्यो जीवन म जागरुक, आफैंमाथि विजय प्राप्त रवाफिलो बाँच्न चाहान्छु ।’

जेन-जी आन्दोलनले सर्वत्र स्वाहा बनाएपछि आम मानिसलाई लागेको थियो- शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल जस्ता शीर्ष नेताले कसरी अनुहार देखाउलान ? राजनीति गर्दा उभिने नैतिकताको धरातल कति बाँकी रहला ? यिनका चण्डमुण्ड, ढोके, हुक्के, चम्चेको हाल के होला ? आम्दानीका स्रोत सुक्दा यिनका घरलाई चारधाम ठानेर धाउनेको चुल्हो कसरी बल्ला ? दशकौंदेखि पद, पैसा र पावरमा खेलेको बानीमा अचानक तगारो लागेपछि भुटभुटिएका परिवारका सदस्यमा कस्तो मनोवैज्ञानिक आघात पर्ला ? प्रणालीलाई नै राजनीतिकरण गर्ने कुकर्मप्रति पछुतो मानेर जनताप्रति याचना गर्लान कि नगर्लान ?

कुनै समय जनताको स्वाधीनताका लागि यो पुस्ताका नेताहरुले खेलेको भूमिकाप्रति उच्च सम्मान छ । तर त्यही कीर्तिलाई मिटरब्याजमा लगाएर मनमौजी गर्ने हक यिनीहरुलाई छैन् ।

संसारमा अद्भूत मस्तिष्कका धनी आइन्स्टाइन जीवनको अन्तिम अवस्थामा आफैंप्रति दिक्दार थिए भने हाम्रा नेताहरु ब्रम्हनाल नपुगेसम्म एक कार्यकालको मोह त्याग्दैनन् भने त्यो मानसिकता आफैंमा परीक्षणयोग्य हो । जेन-जी आन्दोलनको सफलतासँगै डिस्कर्डबाट मुलुकको कार्यकारी चयन भयो । नयाँपुस्ताले राजनीतिमा गरेको यो असाधारण प्रयोग थियो । ढ्वाङको मतले दलका नेतालाई जहाँ पुर्‍याउँथ्यो, नवयुवाले सुशीला कार्कीलाई त्यहीँ पुर्‍याए । कार्यकर्तालाई पुस-माघको जाडोमा आइसक्रिमको व्यापार गराउन पल्किएका नेताहरुलाई यी घट्ना पत्याउन अहिले पनि कठिन भइरहेको छ । कुर्सीमा अरु बसेको दृश्य यिनीहरुका लागि अंगुर अमिलोको पुनरावृत्ति हो ।

पूर्वाग्रह नराखी भन्दा जेन-जी आन्दोलनपछि केपी ओलीको अवस्था बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको जस्तै हो । फरक यिनी आफ्नै माटोमा रहे, उनी सिमाना कट्न बाध्य भइन ।

पूर्वाग्रह नराखी भन्दा जेन-जी आन्दोलनपछि केपी ओलीको अवस्था बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको जस्तै हो । फरक यिनी आफ्नै माटोमा रहे, उनी सिमाना कट्न बाध्य भइन । ओलीको शरीरमा ढाँटेको पत्ता लगाउने ‘पोलिग्राफ’ मेसिन लगाउने हो भने उनी यति त्रसित छन् कि उनको बोलीमा विवेकशून्य उत्तेजनाको प्रभुत्व पाइन्छ । राज्यले लगाएको स्थानहदको अवस्थालाई चुनौती दिने हिम्मत नभएकै कारण पूर्व निर्धारित पोखराको महाधिवेशन रातारात काठमाडौं सारिएको बुझ्न सहजै सकिन्छ । देउवालाई ज्ञानेन्द्र राजाले ‘असक्षम’को पदवीसहित डामेकै हुन् ।

लोकतान्त्रिक व्यवस्था भनिए पनि व्यवहारमा नेता र कार्यकर्ताको अवस्था मुखिया र आसामीको जस्तो छ । झिसमिसेमै परेलामा लागेको तुसारो पुछ्दै चाकरीमा हाजिर बजाउने कार्यकर्ताले देउवाको घर खरानी भएपछि उनको नयाँ निवासमा बल्ल छानोमुनि ओतिने अवसर पाए ।

बूढानीलकण्ठस्थित देउवा निवासको मझेरीमा राखिएको चिसो फलामको कुर्सी अन्तिम बोर्डरलाइन थियो । वर्षौंसम्म त्यही फलामे कुर्सीमा बसेर कार्यकर्ताको देउवा दर्शन चल्यो ।

भेटमा देउवाले दुखेसो गर्नेको पीडा पूर्ण वाक्यमा सुन्ने धैर्य कहिल्यै राखेनन् । कार्यकर्ताले आफ्ना नेतासँग कुम जोडेर फोटो खिच्न पाउँदैनथे । उठेको कार्यकर्ता र घोसेमुन्टो लगाएको देउवा पोजमा कार्यकर्ताले कृतकृत हुनुपथ्र्यो । ठूलै नेता पनि चकटीमा बसेर वर्षौंदेखि एकतर्फी आदेश लिएर फर्कन्थे । जेन-जी आन्दोलनपछि शेरबहादुरमा आएको अर्को परिवर्तन भनेको चालकसँगैको सिटबाट पछाडि आसन फेर्नु हो । सरकारले अगुवा, पछुवा खोसेपछि सुरक्षा सल्लाहमा परिवर्तन भएको हुनसक्छ ।

कार्यकर्तासँग यसखाले दूरी बीपी, केपी, जीपीबाटै आएको विरासत हो । शीर्ष नेतृत्व र नेताबीचको खाल्डो साँच्चै कहालीलाग्दो दूरीमा रहने गरेको छ । एमालेमा ओलीको सेखपछि पनि फोटोले शासन गर्‍यो भने आश्चर्य नमाने हुन्छ । प्रचण्डले त को त कुरै गर्न परेन, कुर्सी जुरेन भने भित्तैमा भए पनि उनलाई पदको फुर्को अनिवार्य छ । आन्दोलनपछि नेताहरुले घर फेरे, सोफा फेरे, ओछ्यान फेरे, गाडी फेरे तर मति फेरेनन् । आफू सत्य, संसार भ्रम भन्ने स्थायी मान्यता जीवित छ ।

जेन-जी आन्दोलनपछि नेताहरुले घर फेरे, सोफा फेरे, ओछ्यान फेरे, गाडी फेरे तर मति फेरेनन् । आफू सत्य, संसार भ्रम भन्ने स्थायी मान्यता जीवित छ ।

तरबार लिएर छिनाउन आउने भन्दा अहोरात्र कानमा चिनी भर्ने अपराधी हुन भन्ने सत्य नबुझेर दलभित्र तिनै दुखी आत्मा बटुलेर रमाउनु भनेको नाफाको जिन्दगी फेरि डुबाउनु हो । कमजोरी नभएको सृष्टिमा को होला र ? तर जेन–जी आन्दोलनपछि कांग्रेसलाई नैतिक धारमा उभ्याउने पात्र कोही थिए भने महामन्त्रीद्वय गगन र विश्वप्रकाश नै हुन् । उनीहरु कांग्रेस पार्टीकै घडा बनेर उभिए । सदनदेखि सडकसम्म यिनकै आवाज पत्याइए । तर आरजुलाई व्यवस्थापन गराउने अन्तिम घिडघिडो बोकेका शेरबहादुर र शेरबहादुरलाई देखाएर जमिन टेकेका कृपापात्रले परिवर्तनको एजेण्डा छिर्नसम्म दिएनन् ।

राजनीति नीतिहरुको उच्च आसन हो । देशका सम्पूर्ण जनसंख्याको व्यवस्थापकीय दायित्व बहन गर्ने हुनाले राजनीति गर्नेहरु सुतेको अवस्थामा पनि जागा हुनुपर्ने मान्यता राखिन्छ । देउवा+++++++, ओली, प्रचण्डले वर्षौंदेखि भोटलाई मासुभात र मदिरासँग साट्ने साधन बनाएकै हुन् । यिनीहरु सत्तामा पुग्दा लोकतन्त्र फस्टाउने, झर्दा मुर्झाउने व्याख्या खोटो दर्शन भइसक्यो ।

ढुकुटीमा बाँडचुँडको संस्कृति यिनीहरुकै प्रतापमा सम्भव भएको हो । देशको नीति तथा कार्यक्रम व्यापारीको घरमा डिल गर्ने अभियन्ता यिनै महान आत्माहरु हुन् । आफ्नो लहडलाई कानून मान्न बाध्य यिनैले बनाए । देश बनाउने जिम्मा धुर्मुस सुन्तली नामको चटके जोडीलाई विशाल कार्यक्रम गरेर जिम्मा दिने ओली–प्रचण्डले त्यो हर्कतको जिम्मेवारी लिन पर्दैन ? नेतालाई प्रश्न सोध्ने मात्र नभई अडिट पनि हुनुपर्छ । त्यसैले सबैभन्दा पहिले ढुकुटीमाथि दोहनको मुद्दामा ओली–दाहाललाई कठघरामा उभ्याइनु पर्छ ।

देशमा विधि व्यवस्था परिवर्तन भएको यतिका दशक वित्दा शिक्षा, स्वास्थ्य, विकासप्रतिको राष्ट्रिय रोडम्याप खै ? पठाओले एउटा एप्स बनाएर हजारौं युवालाई रोजगार दियो । मोबाइलले साउँअक्षर नपढेका सबैलाई साक्षर बनायो । तर दुखकासाथ भन्नुपर्छ नेताहरुको दत्तचित्त खर्च उठाउने र कार्यकर्ता व्यवस्थापनमा खुम्चियो । यिनीहरुको जीब्रोले सिंगो देश कहिल्यै उच्चारण गरेन । यिनीहरुको राजनीतिक घोषणाको अन्तिम मस्यौदाकारमा कि व्यापारी कि सरकारी अधिकारी नियुक्त छन् ।

सरकारमा बसेकाले नै नक्कली भुटानी शरणार्थीको गोरखधन्दा चलाएको मुद्दाका कारण अहिले पनि कति पुलिसको गेस्ट हाउसमा छन् ।

सरकारका सचिव, मुख्यसचिवलाई राजनीतिमा पल्काएर लाभको पद दिँदा त्यसले प्रणालीमा कस्तो असर पर्छ भन्ने न्यूनतम हेक्का नराख्दा गल्ती अरुको, बद्नामी नेताको काँधमा बज्रियो । सरकारमा बसेकाले नै नक्कली भुटानी शरणार्थीको गोरखधन्दा चलाएको मुद्दाका कारण अहिले पनि कति पुलिसको गेस्ट हाउसमा छन् । तर फाइदाको बाली भित्र्याउनेहरु लोकतन्त्रको विधिशास्त्र पढाउन व्यस्त छन् । आफूलाई सरकार लाग्ने भएपछि सरकार फेर्ने अनेक तिकड्म गरिए । रानीपोखरीको पुलिस, पानीपोखरी सारिए । कालिकोटका सिपाही बालकोट सरे । बालकोटका कार्गेडमा बढुवा भए । यो आरोप नभएर नओझेलिएको दृश्य हो ।

मुख्यसचिवले आफ्नै हातले आफैंलाई नियुक्ति दिने अघोषित परम्परा नै बसाइयो । सरुवा, बढुवा, नियुक्ति, लाइसेन्स जताततै शुभलाभमा चल्यो । डाक्टर, वकिल, न्यायाधीश, व्यापारी, ठेकेदार, पत्रकार, कर्मचारी, पुलिस सबै पार्टीका तामातुलसो समाउने भए । स्कुले किशोरले आफूहरुको राजनीतिक व्यवस्थापनमाथि प्रश्न उठाउँदै बन्दुकको कुन्दामा किन खेल्यो ? स्कुले ड्रेसका बच्चा सेनाको ट्यांकरमाथि किन खेले ? लाखौं कार्यकर्ताले देवतुल्य ठानेर घरमा फोटो सजाइएका आफूहरुमाथि रक्तमुछेल हुने गरी किन हातपात गरियो ? इतिहासमै कहिल्यै नदेखिएको राज्यका संयन्त्रमा वैचन्य किन आयो ? प्रहरी प्रमुखले राजनीतिक मुखियालाई एउटा यक्ष प्रश्न सोधे– राष्ट्रिय सम्पति जोगाउन बसेको सुरक्षाकर्मीले भवन जोगाउने कि भवन जलाउन आउनेहरु ? यो प्रश्नको उत्तर खोज्ने जाँगर किन कुनै राजनीतिक नेतृत्वमा आउन सकेन ? पुलिस र सेनाको दृष्टिकोण किन बाँझियो ? राजनीतिभित्र अपराधशास्त्र कति गहिरो छ भन्ने पुष्टि गर्न यही प्रकरण काफी छ ।

पार्टीका वर्गीय संस्थामा आवद्ध नहुनेले न अस्पतालमा बेड पायो, न अदालतमा न्याय पायो, न अपरेसन गर्दा एक पिन्ट रगत पायो हुँदाहुँदा आर्यघाटको चितामा समेत राजनीति पहुँचको रंग देखिन थाल्यो । सरकारी जागिरे उपसचिवसम्मलाई कानूनले नै नेता बन्ने अधिकार दियो । त्यसभन्दामाथि पदका राजनीतिक सेटिङमा उस्ताद देखिए ।

पार्टीका वर्गीय संस्थामा आवद्ध नहुनेले न अस्पतालमा बेड पायो, न अदालतमा न्याय पायो, न अपरेसन गर्दा एक पिन्ट रगत पायो हुँदाहुँदा आर्यघाटको चितामा समेत राजनीति पहुँचको रंग देखिन थाल्यो ।

राज्यसंयन्त्रमा अव्यवस्था मौलाउँदा वडामा पानी सदस्य जित्न नसक्नेहरु राजनीतिमा भित्रिए । यिनै शीर्ष नेताले रोपेको विषवृक्षका कारण राजनीति चौताराको मादलजस्तो बन्यो । सरकारका निकाय कुनै भरलाग्दा भएनन् । न्यायमा जनताको पहुँच भएन । कुनैबेला एमाले–माओवादी कथित एकीकृत गरी नेपाल कम्युनिष्ट पार्टी नामको लाहाको घर बनाइएको थियो । कुर्सीको विवादले त्यो घर ध्वस्त भयो ।

बीपीले भनेका थिए- ‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन् या दास’ । प्रमुख दलका कार्यकर्तामा अहिले पनि दोहोरो मापदण्ड छ । मानिसले डाक्टर, न्यायाधीश र भगवानसँग सत्य बोल्नुपर्छ भन्ने मान्यता छ । तर राजनीतिकर्मी भट्टीमा मात्र साँचो बोल्छन् । समस्या के छ भने त्यहाँ बोलेको प्रमाणिकरण हुँदैन । अघिल्लो पुस्ताका नेताहरुको नियत सफा भइदिएको थियो भने अमेरिकामा घण्टा हानेर जीविका चलाइरहेको रवि लामिछानेलाई सेलब्रेटी मानेर जनता पछि लाग्नुपर्ने थिएन । जर्मन नागरिकसँग बिहे गरेर उतै घरबास गरेकी आशिकालाई ‘मदर टेरेसा’ भनेर सञ्जालमा प्रदूषित बनाउनुपर्ने थिएन ।

चौबीसै घण्टा अन्टसन्ट लेखाइमा कलेजो ठण्डा पार्दै आएका हर्क साम्पाङलाई नगरप्रमुख झेल्नुपर्ने भाउँतो धरानेलाई पर्ने थिएन । युटुबमा अन्तर्वार्ता दिएर दिन कट्नी गर्दै आएकी सुशीला कार्कीलाई प्रधानमन्त्री बन्ने भोक थिएन । विद्युत प्राधिकरणको एउटा कर्मचारी कुलमानसँग देशका ठूला मान्छेहरु एकपछि अर्को निहुँ खोज्न जाँदा त्यही कर्मचारी अहिले देशका तीन शक्तिशाली मन्त्रालयको मन्त्री बन्न पुग्यो ।

नेपालमा मात्र होइन, छिमेकी मुलुक भारतमा हिजो अन्ना हजारे, अरविन्द केजरीवाल उदाए । तर केही वर्षमा त्यसैगरी बिलाए । यस्ता पात्र आउँदा राजनीतिमै नाभी गाडेकाहरुले आत्मसमीक्षा गर्नुपर्ने हो । तर सोचमा समेत फराकिलोपन देखिएन ।

अहंकारले के हुन्छ ? रामायणको सानो अंश ग्रहण गरे पुग्छ । रावणसँग सुनको लंका थियो । समुद्रको पानी गुलियो बनाउने, मत्र्यलोक र पाताललोक सुनको सिंढीले जोड्ने योजना थियो । ज्योतिष, तन्त्रमन्त्रमा दक्ष थिए। संगीतका वाचाल बादशाह मानिने यिनले शिव ताण्डव स्तोत्रको रचना गरेको मानिन्छ । भगवान शिवका परमभक्त रावण युद्धकला, राजनीति, प्रशासन, अस्त्रशस्त्रमा निपुण थिए। यस्ता बहुआयामिक व्यक्तित्त्वको छविलाई एउटा मात्र कमजोरी अहंकारले सिध्यायो । नेताहरुसँग बाँकी रहेको दुई विकल्प छ- सकिने कि सच्चिने ?

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १० : २२ बजे

कांग्रेस बनाउने गगनको ‘जरा अभियान’ : कोइराला-खड्काको असन्तुष्टि

काठमाडौँ – नेपाली कांग्रेसले २०८३ वैशाख १ गतेदेखि देशैभर ‘एकमहिने

१५ दिनभित्र घरबहाल नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम हुने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी ४के (Galaxy 4K) टेलिभिजनलाई १५ दिनभित्र

बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रम प्रस्तुत गरिने

बागमती– बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक अपराह्न ५

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन हुने

काठमाडौँ– नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान भण्डारखालमा विद्यावारिधि तह डिएम/एम

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी : यो पटक ज्येष्ठ सूचीमा ४१ वर्षे रोनाल्डो

काठमाडौँ – विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष