पद बाँडफाँटको दबाबमा रवि, बालेनलाई मिलाउँदा कुलमानले खोजे लिखित सहमति « Khabarhub

पद बाँडफाँटको दबाबमा रवि, बालेनलाई मिलाउँदा कुलमानले खोजे लिखित सहमति



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार ३३ जना नेतालाई केन्द्रीय सदस्य बनाएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहनिकट २६ जना र विवेकशील साझाबाट ७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।

विवेकशील साझाका अध्यक्ष समीक्षा बास्कोटा, महासचिव रञ्जु दर्शना, प्रकाशचन्द्र परियार लगायतका नेताहरू रास्वपाका केन्द्रीय सदस्य बन्दा बालेन्द्र शाह वरिष्ठ नेता भएका छन्। रास्वापमा प्रवेश गरेको दुई साता बितिसक्दा पनि बालेन्द्र औपचारिक रुपमा कुनै कार्यक्रममा देखिएका छैनन् ।

बालेन र उनीनिकटले पद पाउँदा कुलमान पक्षका नेताहरूको कस्तो व्यवस्थापन होला भन्ने प्रश्न उठेको छ । यसबारे रास्वपा नेता विराजभक्त श्रेष्ठलाई जिज्ञासा राख्दा एक दुई दिनभित्रै उज्यालो नेपालकालाई पनि केन्द्रीय सदस्यसहित अरू पदाधिकारीको जिम्मेवारी दिने तयारी रहेको बताए ।

श्रेष्ठले भने, ‘यस विषयमा आन्तरिक तयारी भइरहेको छ । अब बस्ने केन्द्रीय कमिटी बैठकले निर्णय गरेपश्चात् उहाँहरूको पनि जिम्मेवारी तोकिने छ ।’

आइतबार नै बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले रास्वपामा थप चार पदाधिकारी समेत थप्ने निर्णय गरेको छ। खबरहबलाई प्राप्त जानकारी अनुसार एक महामन्त्री पद बालेन पक्षले पाउने भएका छन् । सह-प्रवक्ता बालेन पक्षकै सचिन पोखरेललाई बनाइँदै छ ।

सहमतिमा दायाँबायाँ नभए सह-महामन्त्री पनि बालेन पक्षका भूपदेव शाहलाई बनाउने तयारी छ । तर कुलमान पक्षीय नेतालाई समेट्न केही जिम्मेवारी हेरफेर समेत हुनसक्ने अनुमान छ । बालेनले महामन्त्रीमा सुनील लम्साललाई अगाडि सार्ने तयारी गरेका छन् । यसबारे छलफल भइरहेको छ ।

‘रास्वपामा वर्तमान सह-प्रवक्ता प्रतिभा रावल र रमेश प्रसाईंलाई कतै मिलाएर एकजना सहप्रवक्ता कुलमान र अर्को बालेन पक्षलाई दिने सल्लाह भएको रहेछ । हाम्रा साथीहरूले हिजो केन्द्रीय सदस्यको शपथ खानुभयो । आगामी बैठकले यसको निर्णय गर्दै जाला’, बालेन पक्ष भन्छ, ‘महामन्त्री हामीले पाउने पक्कापक्की छ । त्यसका लागि सुनीलजीलाई अगाडि सारेका छौँ । कुलमान पक्षको दाबी पनि महामन्त्रीमा छ रे ।’

उज्यालोसँग मुद्दा मिल्यो, बाँडफाँटमा अड्कियो

उज्यालो नेपालले पनि महामन्त्री र अझै एकजना उपसभापति दाबी गरेकाले विधान पार्टीले विधान सच्याउन सक्ने रास्वपा नेताहरू संकेत गर्छन् । ‘उनेपालाई पनि समेट्नुपर्ने भएकाले अझै एक महामन्त्री या उपसभापति थप्न सकिने सम्भावना छ,’ ती नेताले भने, ‘मुद्दामा कुरा मिलिसकेको छ । नेतृत्व व्यवस्थापन र पदमा मिलेको छैन ।’

उनेपाबाट रास्वपा गएकालाई कति केन्द्रीय सदस्य दिने पनि रास्वपाले खाका बनाउन सकेको छैन । उनेपाका एक नेता भन्छन्, ‘हामीले २१ मागेका हौँ। उहाँहरू घरी १५ घरी १८ दिने कुरा गर्नुहुन्छ । समानुपातिकमा पनि १४ मात्रै पठाइएको छ । थप्ने त भन्नुभएको छ, तर सम्झौताका क्रममा कुरा बिग्रियो ।’

उनेपा नेताहरूका अनुसार कुन–कुन पदाधिकारी र समानुपातिकको त्रुटि सच्याएमा मात्रै अगाडि बढ्ने रणनीति छ । ती नेता भन्छन्, ‘समानुपातिकमा उनेपालाई नजित्ने ठाउँमा पठाइएको छ । उहाँहरूको चाहिँ हतारमा गल्ती भयो भन्ने छ । सच्याउने भन्नुहुन्छ, हेरौँ ।’

उनेपाले १२ जना नेताहरूको नाम केन्द्रीय सदस्यका लागि तयार गरेको छ । ‘आइतबार बसेको केन्द्र सचिवालय र केन्द्रीय कमिटी बैठकमा उज्यालोबाट १२ जनाको नाम केन्द्रीय सदस्यका लागि आएको साँचो हो । उहाँहरूले अरू पनि थप्नुपर्छ भन्नुभएको छ । हामीले १८ दिने भनेको हो,’ रास्वपा एक नेता भन्छन्, ‘संघीयता, धर्मनिरपेक्ष राज्य , गणतन्त्र, बहुसंस्कृतिवाद, राष्ट्रिय एकता, संघीय लोकतान्त्रिक समावेशिता र समानुपातिकतालाई कीटान गर्नुपर्ने विषयमा कन्भिन्स भएका छौँ ।’

ती नेता उनेपाले राखेको विषय स्पष्ट उल्लेख गर्नुपर्ने भएकाले केन्द्रीय सदस्यमा मनोनित गर्न समय लागेको बताउँछन् । उनले थपे, ‘उहाँले समानुपातिकको बन्द सूचीमा पनि हाम्रा पक्षबाट १८ जना नेताको नाम हुनुपर्छ भन्ने मागसमेत राख्नुभएको छ।’

रास्वपाले उज्यालोबाट १४ जनाको मात्रै बन्दसूचीमा पठाइएको स्वीकार गरेको छ। तर नाम सच्याउन आयोगले समय दिएकाले कुलमान पक्षलाई दिएको १८ जनाको भागबन्डामा उनैलाई नाम टुङ्ग्याउन छोडिदिने रास्वपा नेता बताउँछन् ।

‘१८ जना पठाउनुभएकोमा, १४ जनाको मात्रै समायोजन भएको रहेछ । बाँकी उज्यालोबाट समानुपातिकमा परेका दुईजनाले नाम फिर्ता लिएपछि अब ६ जनाको नाम बन्दसूचीमा पठाउन पाउनुहुन्छ,’ रास्वपाका अर्का नेता भन्छन्, ‘उहाँहरूको भागबाट अब ६ जनाको नाम बन्दसूचीमा समायोजन गर्नुपर्ने हुन्छ, हामी तयार छौँ । अरू गल्ती पनि सच्याउँछौँ ।’

रास्वपा प्रवक्ता मनिष झाले पनि त्रुटि भए सच्याउन तयार रहेको बताएका छन् । उनले समानुपातिकमा भएको गल्ती सच्याउन आयोगले समय दिएकाले सामान्य हेरफेर गर्ने बताएका छन् ।

कुलमान पक्षसँगै रास्वपाले छानेकै चारजनाले समानुपातिकबाट नाम झिक्ने घोषणा गरिसकेका छन् ।

पूरक सहमति गर्दै

उज्यालो नेपालले रास्वपासँग पूरक सहमतिको तयारी गरिरहेको छ। संघीयता, धर्मनिरपेक्ष राज्य , गणतन्त्र, बहुसंस्कृतिवाद, राष्ट्रिय एकता संघीय लोकतान्त्रिक समावेशिता र समानुपातिकतालाई स्पष्ट कीटान गर्नुपर्ने उठेपछि पूरक सहमतिमा राख्न खोजिएको हो ।

उनेपा र रास्वपा एकीकरण हुँदा यी विषय छुटेकाले त्यसलाई सच्याएमा मात्रै आफूहरू सहभागी हुने अडानका कारण कुलमानले त्यसलाई मिलाउन तयारी गरेका छन् ।

शनिबार र आइतबार रास्वपा सभापति रवि लामिछाने र उनेपा संरक्षक कुलमान घिसिङबीच लामै संवाद भयो । अब यी विषय पार्टी विधान र घोषणापत्रमा उल्लेख गर्ने सहमति भएको छ । तर त्यो सहमतिले मूर्त रूप पाउने नपाउने टुंगो छैन ।

‘शनिबारसम्म पार्टी नै एक नहुने भन्ने अन्यौल थियो । आइतबारको बैठकले पूरक सहमति घोषणापत्र र पार्टी विधानमा यी कुरा समेटने सहमतिपछि एकता हुन्छ भन्ने निर्णयमा पुगेका छौँ’, उनेपाका ती नेताले भने ।

उनेपाका एक केन्द्रीय सदस्यले खबरहबलाई अगाडि भने, ‘अपरिपक्व एकताले अगाडि जान सकिँदैन । ती कुरामा लिखित प्रतिबद्धता जनाएर एकता गरौँ भनेपछि रविजी तयार हुनुभयो रे । हाम्रा संरक्षक र अध्यक्षज्यूले कुरा गर्नु भएछ । जेन्टलम्यान सहमतिले मात्रै नभएर लिखित मागेको हो । नत्र एक्लै अघि बढिन्छ ।’

किन गए आयोग ?

शुक्रबार मात्रै उज्यालोका अध्यक्ष अनुपकुमार उपाध्याय, श्री गुरुङ लगायत नेताहरू निर्वाचन आयोग पुगेर समानुपातिकमा बन्द सूची बुझाउने समयबारे सोधेका थिए । यसले यी दुई पार्टीहरूको एकतामा संशय देखिएको थियो । शुक्रबार उनीहरू आफ्नो पक्षका ११० जनाको सूची लिएर निर्वाचन आयोग नगएको नेता महेन्द्र थापा बताउँछन् ।

थापाका अनुसार उज्यालो नेपालले पुस १४ गते नै ११० जनाको बन्दसूची आयोगलाई बुझाइसकेको थियो । त्यसबेला ५० हजार रुपैयाँ शुल्क पनि बुझाएकाले त्यसको अवस्था के हुन्छ भनेर मात्रै सोधेको उनी दाबी गर्छन् । पार्टी एक नभइसकेकाले कानुनी प्रक्रिया बुझेको उनले बताए ।

‘हामीले पुस १४ गते नै ११० जनाको बन्दसूची बुझाइसकेका थियौँ । ५० हजार लागत शुल्क तिरेका थियौँ । त्यसको विषयमा साथीहरूले सोध्नुभएको रहेछ । तर ११० जनाकै नाम शुक्रबार बुझाइयो भनेर प्रचार गरिदिनुभयो’ थापाले खबरहबलाई भने, ‘हाम्रो तर्फबाट ६ जनाको नाम समानुपातिकमा थप्नुपर्ने थियो । त्यसको प्रक्रिया बुझ्न जाँदा साथीहरूले अरू कानुनी प्रक्रियाबारे पनि बुझ्नुभएको रहेछ । त्यसैलाई बाहिर प्रचार गरिएको छ ।’

थापाले भनेजस्तै पुस १४ मै उज्यालो नेपालले समानुपातिकको बन्दसूची बुझाइसकेको थियो। उज्यालोका प्रवक्ता राजु थापासहितको टोलीले बन्दसूची बुझाएपछि मात्रै बौद्धमा बैठक बसिरहेका संरक्षक घिसिङलाई छापामार शैलीमा अभियन्ता सुदन गुरुङले उठाएका थिए । उनले त्यहाँबाट रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भए ठाउँ लगेर सहमति गराएका थिए ।

गुरुङले तीन नेतालाई मिलाए पनि त्यसको भोलिपल्टैबाट उज्यालो नेपालमा एकताको विषयलाई लिएर मतभेद सिर्जना भएको थियो । त्यसकारण अहिलेसम्म उज्यालोका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीको अपनत्व लिन सकिरहेका छैनन् ।

‘संघीयता, धर्मनिरपेक्षलगायतका विषयमा स्पष्ट धारणा आएमा मात्रै एकतामा जान तयार छौँ’, उज्यालोका नेताहरू भन्छन्, ‘पार्टी एकीकरण भइनसकेकाले सबै कुराको अपनत्व लिन समस्या भएको छ।’

कुलमान पनि सैद्धान्तिक र वैचारिक मुद्दामा आफ्नो धारबारे राष्ट्रिय स्वतन्त्र पार्टीले लिखित प्रतिबद्धता नजनाएसम्म मिलेर अघि बढ्ने कुरामा अझै अनिर्णित छन्।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ३ : ३४ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर