काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पार्टीले प्रमुख सचेतक बनाउने तयारी गरेको बुझिन्छ । खबरहरबसँगको कुराकानीमा उनले यसबारे अझै टुङ्गो नलागिसकेको जानकारी दिए । बुर्लाकोटी प्रतिक्षा गरेर सरकारका काम हेर्न र गल्ती कमजोरी भए दबाब दिन आग्रह गर्छन् । आफ्नो वाचापत्रमा उल्लेख गरे अनुसार १०० पार्टी र सरकारले दिनमा उपलब्धिमूलक काम गर्ने जिकिर गर्छन् ।
पार्टीले सफा मनले काम गरिरहेकाले संविधान सुझाव सङ्कलनका लागि दलगत प्रतिनिधिहरूले नाम पठाउने क्रम जारी रहेको उनले जानकारी गराए । नेताहरू पक्राउ गरेर राजनीति प्रतिशोध राखेको विषयमा प्रश्न गर्दा उनी भन्छन्– ‘सरकारले सफा मनले काम गरिरहेको छ प्रतिक्षा गरेर हेरिदिन र केही गल्ती कमजोरी भए औल्याइदिन आग्रह गर्छु ।’
पार्टीगत कुरा गर्दा बुर्लाकोटी असोज भित्रमै पार्टीको पहिलो महाधिवेशन गर्ने गरी तयारी गरिरहेको बताउँछन् । उनी भदौ २३ गतेको नरसंहार पछाडि २४ गते आक्रोश पोखिएको र त्यसबारे छानबिन हुने बताउँछन् ।
सरकारले १०० दिनमा देखिने गरी काम गर्छ भन्नुभएको थियो। तर प्रतिपक्षी ले राजनीति प्रतिशोध राखेर राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले काम गर्यो भन्छन् नि ?
सरकारले कुनै प्रतिशोधको आधारमा काम गरेको छैन। जेन-जी आन्दोलनमा अपदस्थ सरकारले जुन किसिमको गतिविधिहरु गर्यो, छानविन आयोगको प्रतिवेदन आइसके पछाडि त्यसमा टेकेर अनुसन्धान गरेको हो । जेनजी आन्दोलनका सहिद मृतक र घाइतेको न्यायको लागि गरेको हो । यो पार्टी र सरकारको प्रतिशोधको रुपमा लिनुभएन। विशुद्ध सरकारको एउटा गतिविधि हो । यसलाई राजनीतिक प्रतिशोध भन्न मिल्दैन ।
आफ्नो पार्टीबाट आन्दोलनमा संलग्न रहेका व्यक्तिहरूलाई अहिलेसम्म पक्राउ गरिएन, उनीहरुले सार्वजनिक रूपमै आन्दोलन आह्वान गरेका थिए। तर पुराना दलकालाई छानीछानी अपराधीकरण गर्न थालियो भन्ने कुराहरु पनि उठाउन थालिएको छ ?
त्यो छैन, २३ गते एक प्रकारको नरसंहार जस्तै घटना भयो। त्यही आक्रोशमा २४ गते आगजनी र तोडफोड भएको देखिन्छ । त्यतिखेरै पनि सबैको आंंकलन यो २३ गतेको आक्रोश हो भन्ने थियो। अहिले २४ गते भनेको जस्तो देखिन्छ।
२३ गते त्यो तहको मानवीय क्षति भएको थिएन भने २४ गते त्यो आक्रोश हुँदैनथ्यो। हामीले भन्दै पनि आएका छौं– २४ गते आक्रोशभन्दा बाहेकको घुसपेठ छ र यदि कसैले नियतवस गरिरहेको छ भने त्यसलाई अनुसन्धान हुनुपर्छ । घुसपेठ गर्नेलाई कारबाही र त्यसको समीक्षा पनि हुनुपर्छ । २३ गतेको आक्रोश भएकाले पछिल्लो दिनलाई आक्रोशकै रुपमा बुझ्नुपर्छ।
यहाँको भनाइ २३ र २४ गतेको घटनामा दोषी भएका व्यक्ति जुनसुकै बेला पनि कारबाहीको दायरामा आउँछन् भन्ने हो ?
हो, २३ गते मानवीय क्षति पछाडिको आक्रोश त्यसलाई आक्रोशकै रूपमा बुझ्नुपर्छ। परिवारको सदस्य साथीभाइ गुमाउँदाको पीडाले पोखिएको आक्रोशलाई कारबाही हुने कुरा हुँदैन ।
२४ गते जुन प्रकारको घटनाहरू भए त्यसमा घुसपेठ र कसैले नियतवस गरेको छ भने त्यसलाई कानुनको दायरामा ल्याउनुपर्छ । छानबिन गरेर कारबाही गर्नुपर्छ । सरकारले निष्पक्ष ढङ्गले आफ्नो काम गर्छ । सरकार आफ्नो काम कर्तव्य र दायित्वभन्दा पछि हटेका खण्डमा तपाईंले आलोचना गर्नुस्।
ठ्याक्कै भन्दा १०० दिनमा हामीले यो यो काम गर्छौं भनेर तपाईंहरुले लक्ष्य राख्नुभएको छ। त्यो पूरा गर्न सकिएला ?
पूरा गर्छौं सरकारले जुन लक्ष्य राखेर काम गरेको छ त्यसलाई १०० दिनमै पूरा गर्ने गरी सरकारको तयारी छ । त्यसमा पार्टीको तर्फबाट के कसरी सहयोग गर्ने भनेर गृहकार्य पनि गरिरहेका छौं । १०० दिनको लक्ष्य १०० दिनमै पूरा गर्ने गरी काम गरिरहेका छौं । उपलब्धि हासिल गर्ने किसिमले सरकार लागेको छ।

सरकारको निर्णय र एक्सनले थोरै जनतामा आशा पुराना दलमा त्रास जन्माउने किसिमको होला होइन ?
अहिले नयाँ सरकारले काम प्रारम्भ गरेको छ। अहिले यो नयाँ सरकारको काम प्रतिक्षा गरेर हेर्दिन र केही कमी कमजोरी भए सुधार गरेर यसलाई अझ राम्रो बनाउनको लागि सहयोग गर्न म आम जनसमुदायमा आग्रह गर्न चाहन्छु।
सँगसँगै अन्य दलका नेता जन र अन्य दललाई पनि आग्रह गर्न चाहन्छु कि हामी एउटा सफा मनले यो मुलुक निर्माण गर्नुपर्छ भनेर राजनीतिमा लागेका हौँ। र फोहोर सफा गर्दै मुलुक निर्माण गर्ने एउटा अभियानमा लाग्दाखेरि कहीँ कतै त्यस्तो शङ्का रह्यो भने हामीलाई भनेर त्यो शङ्का निवारण गरेर अगाडि बढ्नका लागि यहाँहरूको साथ सहयोग अत्यन्तै आवश्यक छ।
त्यसको लागि म आग्रह गर्न चाहन्छु–हाम्रो एक मात्र लक्ष्य भनेको यो मुलुक बनाउनुपर्छ र यो बनाउने सन्दर्भमा हाम्रो अगाडिको बाटोमा सहयोगको अपेक्षा गर्नु स्वाभाविक हो। त्यसको लागि सहयोग गर्न म अनुरोध पनि गर्न चाहन्छु। म के भन्छु भने सरकारले सफा मनले काम गरिरहेको छ। प्रतिक्षा गरेर हेर्दिनुस् र गल्ती कमजोरी भए हामीलाई यो कुरा भएन यसरी जानु भनेर सम्झाइदिनुहोस् । तर अहिले गल्ती भएको छैन ।
सरकारले १०० दिनमा संविधान संशोधन र केही नियम फेर्नुपर्ने भए सुझाव संकलन कार्यदल गठन गरेर काम गर्ने भन्नुभएको थियो । त्यो कहाँ पुग्यो ?
संविधान संशोधनका लागि सरकारले सबै राजनीतिक दलका प्रतिनिधि सम्मिलित टकिङ पोइन्ट बनाउनलाई एउटा कार्यदल बनाएको छ। त्यसले संविधान संशोधनका छलफलका विषयवस्तु पहिल्याएर त्यसलाई बाहिर लिएर आउँछ र त्यसलाई बृहत छलफलको रुपमा अगाडि बढाउँछौँ।
यो प्रक्रियालाई सबैले अपनत्व गर्ने हो भने संविधानलाई सुन्दर बनाउने सन्दर्भमा योगदान आवश्यक पनि छ । संविधानमा हामीले त्रुटी छ, यो छ, त्यो छ भनेका चिजहरुलाई यो सही समय हो, यसलाई सदुपयोग गरेर मुलुकको समृद्धि र सुशासनको लागि आवश्यक उपयुक्त संविधान निर्माणमा सबैजना लाग्नुपर्छ, लागौं भन्न चाहन्छु।
यो कार्यदलमा तपाईहरुले दलगत प्रतिनिधि ल्याउने प्रक्रिया थालनी गर्नुभयो कि छैन ?
छ । यो हामीले थालनी गरेर दलहरूलाई पत्राचार गरिसकेका छौं । दलको प्रतिनिधि पठाउनका लागि प्रधानमन्त्री कार्यालयबाट पत्राचार भएको छ र दलको प्रतिनिधिहरूको नाम आउने क्रम जारी छ।
अहिलेसम्म कुन कुन दलको आयो रे ?
यसबारेमा मैले फलोप गर्न पाएको छैन तर प्रधानमन्त्रीज्यूले हामीलाई दिएको जानकारी अनुसार प्रतिनिधिहरूको नाम आउने क्रम शुरु भएको भन्नुभएको छ ।
पुराना दलहरूले सहभागिता नजनाउने अथवा सहयोग नगर्ने अवस्था छ कि छैन ?
इन्कार गरेर सहभागिता नजनाउँदाखेरि समाधान हुँदैन । त्यसकारण समाधानको लागि र देशलाई अगाडि बढाउन यो प्रक्रियामा अगाडि बढ्नुपर्छ । त्यस्तो कुनै कुराहरू अप्ठ्यारो परेको छ भने त्यो कुरालाई दलहरुले संवाद गरेर निकास निकाल्नुपर्छ। त्यसको लागि सरकारले तत्परता राख्छ।
थोरै यहाँसम्म मैले पार्टीगत कुरा गरेँ । सरकार चलाउने र पार्टी चलाउने सभापति र प्रधानमन्त्री बाहेक अरु लगभग एउटै व्यक्ति हुँदा पार्टी चलायमान हुँदैन कि भन्ने पनि देखिन्छ। यसलाई कसरी म्यानेज गर्नुहुन्छ ?
पार्टीमा केही पदाधिकारी सरकारमा नगएको अवस्था छ। उहाँहरू सरकारमा जानुहुन्न । उहाँहरू सरकारमा गएपनि र संसदीय भूमिकामा रहेपनि दलको पनि काम म्यानेज गरेर गर्ने तयारीमा हुनुहुन्छ। सरकारमा जाने व्यक्तिको पार्टीमा कम भूमिका हुन्छ।
कोही व्यक्ति पार्टीमा मात्रै रहनुहुन्छ । उहाँहरूको सरकारमा कम भूमिका हुन्छ। सरकार संसदीय दुवैतर्फको भूमिकामा रहने साथीले म्यानेज गर्ने गरी काम गरिरहेका छौं । सरकार संसदीय भूमिका र पार्टीलाई कसरी चलाउने भनेर हामीले मेकानिजम बनाउँदैछौँ।
त्यही मेकानिजम अनुसार काम गर्छौं। सरकारको कामलाई पनि अप्ठ्यारो नपर्ने पार्टीको कामलाई पनि अप्ठ्यारो नपर्ने र संसदीय कामलाई पनि बाधा नपुग्ने गरी जनशक्तिह परिचालन गर्छौं। सबै क्षेत्रलाई उस्तै ढंगले निरन्तर अगाडि बढाउने गरी पार्टीले काम गर्छ ।

तपाईंहरूले सभामुख पनि चुनिसक्नुभयो प्रमुख सचेतक, सचेतक र संसदीय दलको उपनेता कहिले चुन्नुहुन्छ ?
यो पार्टीले छलफल गरिरहेको छ । यो हप्तातिर यसलाई टुङ्ग्याउँछौं। पात्रको विषयमा अहिले हामी प्रवेश गरेका छैनौं।
यहाँ आफै पनि प्रमुख सचेतक बन्दै हुनुहुन्छ रे ?
पार्टीले अहिले निर्णय गरिसकेको छैन । त्यसैले मैले भन्न मिल्ने अवस्था छैन। आकांक्षा त सबै नेताहरूले आ–आफ्नो रोल के हुन्छ भनेर राख्नुभएकै हुन्छ। यो छलफल भएर आउन बाँकी नै छ। तर म पार्टीको भूमिकामा पनि ठिकै छु जस्तो लागेको छ। मलाई पार्टीको भूमिका बढी महत्व छ किनकि पार्टीलाई देशव्यापी रूपमा संगठनात्मक हिसाबले अगाडि बढाउनु छ।
तपाईंहरूले पार्टीको पहिलो महाधिवेशन गर्नुभएको छैन कहिले गर्नुहुन्छ ?
निर्वाचनको ६ महिना पछाडि पहिलो महाधिवेशन गर्ने भनेका थियौँ। सम्भवत त्यहीअनुसार हामीले गृहकार्य गरिरहेका छौं । महाधिवेशनको मिति नै तोकिसकेको अवस्था छैन। तर ६ महिनाभित्रमा हामी गर्ने तयारीमा छौं।
असोज भित्रैमा पार्टीको पहिलो महाधिवेशन हुन्छ। यसलाई हामीले आवश्यक छलफल अगाडि बढाएर केन्द्रीय समितिले निर्णय गराउँछौँ।
संगठन विस्तारको के कस्ता योजना बनाउनुभएको छ ?
हो, त्यसको योजना बनाइरहेका छौं । वैशाखको २ गतेबाट देशव्यापी रूपमा यसको काम अगाडि बढ्छ।
अन्तिममा उपसभामुखको विषयमा नेकपा राप्रपा र श्रम संस्कृति पार्टीसँग छलफल गर्दै हुनुहुन्छ रे कसलाई दिने योजना बनाउनुभयो ?
उपसभामुखको निर्वाचन गर्ने विषय सभामुखको क्षेत्राधिकार भित्र पर्छ। सभामुखले उपयुक्त समयमा यो विषयमा छलफल गर्नुहुन्छ। सभामुखले छलफल गरेपछि मात्रै दलहरूसँगको संवाद अगाडि बढ्छ। अहिले त्यो विषयमा पार्टीले छलफल गरेको छैन ।













प्रतिक्रिया