काठमाडौं- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा आइतबार आएको पहिरोका कारण स्थानीय ५६ वर्षीया आनन्दी विकको घटनास्थलमै ज्यान गयो । गाउँका अरु ६ जना घाइते भए । उनीहरुमध्ये ५ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार जारी छ भने गम्भीर घाइते भएका एक जनालाई हेलिकोप्टरमार्फत् उपचारार्थ सुर्खेत पठाइएको छ ।
आइतबार सबेरै करिब १ बजेदेखि भीषण वर्षा भइरहेकामा ३ बजे गाउँको सिरानदेखि बग्ने धुलाखोला र आसपासका खोल्साबाट आएको गेग्रान र लेदोसहितको बाढी गाउँमा पसेको थियो । बाढीका कारण मानवीय क्षतिसँगै गाउँका ५० बढी घर र ज्ञानोदय आधारभूत विद्यालय समेत उच्च जोखिममा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर पाण्डेयले जानकारी दिए ।
‘राति १ बजेदेखि ठूलो पानी पर्यो । केहीबेरमा गाउँमाथिको डाँडाबाट ग्रेगान र लेदोसहित खसेको पहिरो तल बेँसीमा रहेको गाउँमा पस्यो,’ उनले खबरहबसँग भने, ‘पहिरोका कारण एक जनाको ज्यान गयो भने ६ जना घाइते मध्ये एकको अवस्था गम्भीर भएपछि हेलिकोप्टरमार्फत उपचारका लागि सुर्खेत पठाइएको छ ।’
उनका अनुसार १५ घरमा लेदोसहितको बाढी पसेको छ । बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासी बिहानैदेखि उद्धार तथा राहत कार्यमा जुटिरहेको उनले जानकारी दिए । ‘राति जनप्रतिनिधि र स्थानीय मिलेर उद्धार गर्यो । बिहान भएपछि जिल्लाबाट प्रहरी र सेनाको टोली पनि आउनुभयो,’ उनले भने ।
जिल्ला प्रशासन प्रमुखसहितको विपद् व्यवस्थापनको टोली पनि निरिक्षणमा आउँदै गरेको उनको भनाइ छ । थप जोखिमबारे प्रश्न गर्दा उनी भन्छन्, ‘कालो बादल अझै पनि छ, पानी फेरि पर्छ होला । त्यसले गर्दा जोखिम अझै बढ्ने देखिन्छ ।’
उनका अनुसार बाढीले क्षति पुर्याएका घरका नागरिकलाई आज आफन्तको आश्रयमा बस्न सुझाव दिइएको छ । राहतका लागि भने तत्कालका लागि पालिकाले राहत स्वरुप २० हजार देखि दश हजार रुपैँयासम्म नगद सहयोग उपलब्ध गराएको उनले बताए ।
‘असार मसान्त भएकाले पालिकाको खातामा पनि पर्याप्त रकम छैन । तर, पनि बढी क्षति पुगेकालाई प्रतिपरिवार २० र सामान्य क्षति भएको घरलाई दश हजार दिएका छौँ,’ उनले थपे, ‘गाउँ नजिकैको सानो बजारबाट सामान किन्न सुझाएका छौँ । यहाँ पनि खासै सामान पाइँदैन । सदरमुकाम नै जानुपर्छ ।’ उनले पालिकासँग पर्याप्त रकम नभएकाले प्रदेश र संघ सरकारसँग सहयोगको अपिल गरे ।












प्रतिक्रिया