इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर « Khabarhub

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका छन् । उत्खननका क्रममा एउटा पूर्ण प्राचीन सहर र अर्को स्थानमा सामूहिक चिहानहरू फेला परेका हुन् । यी नयाँ खोजहरूले देशको पर्यटन क्षेत्रलाई थप प्रवर्द्धन गर्नेमा इजिप्ट सरकार आशावादी देखिएको छ ।

इजिप्टको पश्चिमी मरुभूमि क्षेत्रमा बाइजेन्टाइन युगको एउटा सहर निकै सुरक्षित अवस्थामा फेला परेको छ, जसलाई अहिलेसम्मकै महत्त्वपूर्ण पुरातात्विक खोजहरूमध्ये एक मानिएको छ । इजिप्टको अलेक्जेन्ड्रिया सहरनजिकैको दाखला ओएसिस र मरिना एल–अलामीनका पुरातात्विक स्थलमा हालै गरिएका यी दुवै खोजलाई निकै महत्त्वपूर्ण मानिएको छ ।

त्यहाँको पर्यटन तथा पुरावशेष मन्त्रालयका अनुसार, पहिलो खोजले चौथो शताब्दीमा दाखला ओएसीसको दैनिक जीवन, सहरी विकास र आर्थिक गतिविधिबारे विस्तृत जानकारी उजागर गरेको छ । त्यतिबेला इजिप्ट बाइजेन्टाइन साम्राज्यको हिस्सा थियो ।

इजिप्टको पुरातात्विक मिसनका अध्यक्ष महमुद मसुदका अनुसार, बाइजेन्टाइन युगको यो सहर चौथो शताब्दीको मध्यतिरको एउटा ‘बेसिलिका चर्च’ रहेको बस्तीको माथिल्लो भागमा अवस्थित छ, जहाँबाट सहरका मुख्य सडकहरू स्पष्ट देखिन्छन् । यसका साथै, सहरको बाहिरी क्षेत्रको सुरक्षाका लागि बनाइएका दुईवटा ‘वाच टावर’का अवशेष पनि फेला परेका छन् ।

सुरक्षाका दृष्टिले बाक्लो पर्खालले घेरिएको एउटा बलियो किल्ला तथा बैठक कोठा र गुम्बज आकारका छाना भएका कयौँ घरहरू पनि यहाँ फेला परेका छन् ।

मन्त्रालयको विज्ञप्तिअनुसार पुरातत्वविद्हरूले रोटी पकाउने भट्टी, भान्साघर तथा खाना पकाउन प्रयोग गरिने ढुंगाका पिस्ने सिलौटो जस्ता औजार समेत फेला पारेका छन् । यसबाहेक बाइजेन्टाइन सम्राटहरूको चित्र अंकित, ल्याटिन भाषाका शिलालेख तथा इसाई प्रतीक भएका निकै सुरक्षित अवस्थाका काँसका सिक्का भेटिएका छन् । साथै, रोमन सम्राट कन्स्टेन्टियस द्वितीयको शासनकालका सुनका सिक्का पनि फेला परेका छन् ।

इस्लामिक, कप्टिक तथा यहूदी पुरावशेष विभागका प्रमुख दीया जहरानका अनुसार, उनीहरूले माटाका भाँडाका करिब २०० वटा टुक्राको संग्रह प्राप्त गरेका छन्, जसलाई त्यस समयमा लेखन सामग्रीका रूपमा प्रयोग गरिन्थ्यो । जहरानले यी टुक्रालाई ‘अस्ट्राका’ भनिने जानकारी दिँदै तिनमा आर्थिक कारोबार, पत्राचार तथा दैनिक जीवनसँग सम्बन्धित विवरण कुँदिएको बताए ।

यसका साथै पुरातत्वविद्हरूले मरिना एल–अलामीन पुरातात्विक स्थलमा १८ वटा प्राचीन चिहान फेला पारेका छन् । मन्त्रालयका अनुसार, तीमध्ये आठ मिटर गहिराइसम्म चट्टान काटेर बनाइएका ११ वटा चिहान र जमिनको सतहमाथि चुनढुंगाबाट निर्मित सातवटा चिहान रहेका छन् । यससँगै यस क्षेत्रमा फेला परेका कुल चिहानको संख्या ४८ पुगेको छ ।

यस स्थलमा पुरातत्वविद्हरूले माटाका भाँडा, एक प्रकारको सुराही, बत्ती, प्लेट, पूजा गर्ने स्थान तथा चुनढुंगाका बेसिन पनि फेला पारेका छन् ।

मिसनकी प्रमुख इमान अब्देल खालिकले २.५ मिटर लामो ग्रेनाइट ढुंगाको एउटा शवपेटिका फेला परेको र त्यसभित्र मानव कंकालका अवशेष रहेको जानकारी दिइन्, जसको हाल अध्ययन भइरहेको छ । उनले शवपेटिका नजिकै प्लास्टरबाट बनेको ‘स्फिंक्स’को मूर्तिको अवशेष पनि फेला परेको बताइन् ।

खालिकका अनुसार, केही मृतकहरूको मुखभित्र राखिएका सुनका चारवटा टुक्रा पनि फेला परेका छन्, जसलाई ‘सुनौलो जिब्रो’ भनिन्छ । यो त्यस समयको अन्त्येष्टि संस्कार तथा धार्मिक विश्वाससँग जोडिएको परम्परा थियो ।

मरिना एल–अलामीन इजिप्टको उत्तरी तटमा रहेको अलामीन सहरनजिकैको एउटा पुरातात्विक स्थल हो । सन् १९८६ मा पत्ता लागेको यस स्थलका बारेमा पुरातत्वविद्हरूको विश्वास छ कि यो भूमध्यसागर किनारमा अवस्थित प्राचीन ग्रीको–रोमन बन्दरगाह सहर ’ल्यूकास्पिस’ थियो । यो सहर दोस्रो शताब्दीमा निर्माण भएको र चौथो शताब्दीसम्म समृद्ध रहेको मानिन्छ ।

इजिप्ट सरकारले यो नयाँ खोजले देशको महत्त्वपूर्ण पर्यटन क्षेत्रलाई ठूलो राहत पुग्ने आशा राखेको छ । इजिप्टको पर्यटन उद्योग मुख्यतः त्यहाँको प्राचीन इतिहास र सांस्कृतिक सम्पदामा आधारित छ । स्वेज नहरसँगै पर्यटन पनि इजिप्टका लागि विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत हो । यसका साथै यो खोज भएको क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश हुनबाट केवल एक कदम टाढा रहेको छ ।

सन् २०११ को विद्रोह र कोरोना महामारीपछि वर्षौंसम्म राजनीतिक अस्थिरता र हिंसाको सामना गरेको इजिप्टको पर्यटन क्षेत्र अहिले विस्तारै पुरानै लयमा फर्किन थालेको छ । आधिकारिक तथ्यांकअनुसार गत वर्ष एक करोड ९० लाख पर्यटकले इजिप्ट भ्रमण गरेका थिए, जुन सन् २०२४ को तुलनामा २१ प्रतिशत बढी हो । त्यस्तै, सन् २०२६ का पहिलो चार महिनामा मात्रै ६१ लाख पर्यटक इजिप्ट पुगिसकेका छन्, जबकि सन् २०२५ को सोही अवधिमा यो संख्या ५७ लाख थियो ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  १० : ३३ बजे

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी

रसुवा बाढी पीडितलाई गायिका समीक्षाको खाद्यान्न सहयोग

काठमाडौं – गायिका समीक्षा अधिकारीले रसुवा बाढी पीडितलाई खाद्यान्न सहयोग

प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरू)

चितवन– प्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ