ललितपुर– नेपाली कांग्रेसले गत भदौ १० गतेको भोटेकोशी बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको पुनः स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउन न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा आज ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका बाढी पहिरो प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।
बैठकमा बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, पुनः स्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे छलफल भएको थियो ।
बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, सङ्घीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।
प्रभावित परिवारको आवश्यकतालाई ध्यानमा राखेर न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने निर्णय गरिएको सहमहामन्त्री स्नेहीले बताए । प्रभावित बस्तीको स्थलगत अवलोकन र अन्तरक्रियापछि पुनः स्थापना तथा पुनर्निर्माणका लागि पार्टीले चाल्नुपर्ने थप कदम तय गरिने उनले जानकारी दिए ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील रहेको जनाउँदै कांग्रेसले प्रभावितको जीवन सहज बनाउन, पुनः स्थापना सुनिश्चित गर्न र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ ।
त्यस्तै, प्रभावित नागरिकको पुनः स्थापना र पुनर्निर्माणका लागि आवश्यक सहकार्य, सहयोग र सहरीकरणलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि पार्टीले व्यक्त गरेको छ ।














प्रतिक्रिया