काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित खैबर जिल्लामा सन् २०२६ को आठौँ पोलियो संक्रमित पुष्टि भएको छ। पोलियो उन्मूलनका लागि राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्र (एनईओसी) ले बारा तहसीलको युनियन काउन्सिल जानबाज–बी निवासी १३ महिने बालिकामा संक्रमण देखिएको जानकारी दिएको हो।
योसँगै चालु वर्षमा खैबर जिल्लामा दोस्रो र खैबर पख्तुनख्वा प्रान्तमा छैटौँ पोलियो केस फेला परेको छ। यस वर्ष हालसम्म पुष्टि भएका आठ संक्रमितमध्ये छ जना खैबर पख्तुनख्वा प्रान्तका र दुई जना सिन्ध प्रान्तका रहेका छन्। समग्रमा पोलियो भाइरसको संक्रमण दर घटेको भए तापनि खैबर र पेशावर जिल्ला समेटिएको पेशावर ब्लकमा वातावरणीय नमुना परीक्षण पोजिटिभ देखिनुले भाइरस अझै सक्रिय रहेको र बालबालिकाको स्वास्थ्यमा जोखिम कायमै रहेको अधिकारीहरूले बताएका छन्।
संक्रमण पुष्टि भएसँगै पाकिस्तान पोलियो उन्मूलन पहल (पीईआई) ले विस्तृत अनुसन्धान सुरु गरेको छ। संक्रमण थप फैलिन नदिन लक्षित खोप अभियान र नियमित खोप सेवालाई सुदृढ बनाउने सहितका वैज्ञानिक प्रतिकार्यका उपायहरूको विश्लेषण भइरहेको जनाइएको छ। सन् २०२६ मा हालसम्म चारवटा ठूला खोप अभियानमार्फत ४ करोड ५० लाखभन्दा बढी बालबालिकालाई पटक–पटक खोप दिइसकिएको छ भने सेप्टेम्बरमा सञ्चालित उप–राष्ट्रिय अभियानबाट २ करोड ९३ लाखभन्दा बढी बालबालिका लाभान्वित भएका थिए।
आगामी नोभेम्बर २ देखि ८ सम्म खैबर सहित ९७ जिल्लाका करिब २ करोड ४० लाख बालबालिकालाई लक्षित गरी अर्को चरणको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ। पोलियो खोपकै कारण पाकिस्तानमा सन् १९९० को दशकको सुरुवातमा अनुमानित २० हजार रहेको वार्षिक पोलियो संक्रमण दर ९९.८ प्रतिशतले घटेर सन् २०२५ मा ३१ र यस वर्ष हालसम्म आठमा झरेको विज्ञप्तिमा उल्लेख छ।
पोलियो भाइरसका कारण लाग्ने यो अत्यधिक संक्रामक रोगको कुनै उपचार नभएकाले यसले आजीवन पक्षघात वा मृत्युसमेत निम्त्याउन सक्छ। विश्वका १९५ देशमा सुरक्षित रूपमा प्रयोग भइसकेको पोलियो खोप नै पाँच वर्षमुनिका बालबालिकालाई यसबाट जोगाउने सबैभन्दा प्रभावकारी माध्यम भएकाले आगामी अभियानमा आफ्ना बालबालिकालाई नछुटाई खोप खुवाउन एनईओसी र पीईआईले सम्पूर्ण अभिभावक तथा समुदायलाई आग्रह गरेका छन्।














प्रतिक्रिया