रास्वपाको धोका हाम्रा लागि ठूलो पाठ भयो, आत्तिएका छैनौँ : कुलमान घिसिङ « Khabarhub

अन्तर्वार्ता

रास्वपाको धोका हाम्रा लागि ठूलो पाठ भयो, आत्तिएका छैनौँ : कुलमान घिसिङ

अन्य दलसँग चुनावी अलायन्स गर्न उज्यालो नेपाल तयार



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँग १२ दिने एकीकरणमा जाँदा कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी बनिनसक्दै करिब करिब सकिने बाटोमा पुग्यो । पुस १३ गते हतार हतारमा गरिएको एकीकरण पुस २६ गते टुट्दा उक्त पार्टी करिब करिब थला नै पर्‍यो । देशभर संगठन बनिसकेको पार्टी बिनालक्ष्य र योजना एकतामा जाँदा छिन्नभिन्न भयो । १२ दिने एकीकरणका कारण कयौँ नेता कार्यकर्ता रास्वपामै बसे। उज्यालोमा फर्किएकाले पनि अहिलेसम्म कुलमानको साथ छाडिरहेका छन् । रास्वपाको एकीकरण सहमतिका कारण कुलमानको उज्यालो नेपालले बन्द सूचीमा आफ्ना नेताहरू पठाउनै सकेन। पार्टी एकीकरणको १२ दिनमै छुटिँदाको घाटा अहिले पनि कुलमानले ब्यहोरिरहेका छन् । जुरूक्क उठिसकेको पार्टीलाई अहिले कुलमानले मरितरि डोर्‍याएर हिँड्नुपर्ने अवस्था छ ।

रास्वपासँग भएको हठातको एकता भाँडिएपछि उज्यालो नेपालले राष्ट्रिय परिवर्तन पार्टीलाई समानुपातिकमा सघाएको छ । उसले प्रत्यक्षमा देशभर आफ्ना उम्मेदवार उठाएको छ । समानुपातिकमा बाँसुरी चुनाव चिह्न र प्रत्यक्षमा बिजुलीको चिम चुनाव चिह्न लिएर उज्यालो नेपाल पार्टी जनतामाझ जाँदा विभाजनको असर तलैसम्म देखिएको छ। काठमाडौं क्षेत्र नम्बर ३ मा उठेका कुलमान आफैंले पनि रास्वपासँगको १२ दिने एकता र विभाजनबारे समर्थकलाई चित्त बुझाउन सकेका छैनन्।

समग्रमा हेर्दा रास्वपासँगको एकीकरणका कारण कुलमान घाटामा छन्। १२ दिन अल्मलिएको कुरामा अहिले पनि उनी पछुताइरहेका छन्। तर उनी गुनासो गरेर बसेका छैनन् । बिहीबार पनि उनी धनुषा र सिरहाका ग्रामीण भेगमा चुनावी अभियान लिएर पुगे। जनताले आफ्नो इमान र राष्ट्रप्रतिको निष्ठालाई सम्मान गर्दै सम्मानजनक मत दिएर जिताउने विश्वास लिएर उनी कुदिरहेका छन् । तर कुलमानलाई काठमाडौं ३ बाटै जित्नका सहज देखिँदैन। तर आदिवासी जनजातिको पनि बसोबास रहेको यस क्षेत्रबाट निर्वाचन जित्ने दाबी गर्छन् उनी । खबरहबसँगको कुराकानीमा घिसिङ उज्यालो नेपाल पार्टीले पनि निर्वाचनमा मिलेर जान अन्य दलसँग सहकार्यको ढोका खुल्लै राखेको बताए । ‘अलायन्स त हुनसक्छ, हामीले भनिरहेका पनि छौँ। यो निर्वाचनमा कुनै कुनै क्षेत्रमा स्थानीय अलायन्स गरेर जाने बाटो खुला गरेका छौं । हामी ओपन नै छौँ ।’

बिहीबार उनी निर्वाचनकै सिलसिलामा जनकपुर पुगेका थिए। मधेशमा पनि आफ्नो पार्टीको आकार राम्रो भएको बताउँदै घिसिङले भने, ‘समानुपातिकमा बाँसुरी चुनाव चिह्न र प्रत्यक्षमा चिम चुनाव चिह्मा भोट दिन यहाँका जनता उत्साहित हुनुहुन्छ ।  मधेसमा हाम्रो राम्रो सिट  आउँछ’, घिसिङले भने, ‘आफ्नो क्षेत्रलाई पनि मैले प्राथमिकतामा राखेको छु। बीचमा कहीँ कतै अलमलिएर पार्टीलाई केही घाटा लागेको तर बिस्तारै रिकभर हुन्छ।’

राजनीति यात्रा सहज नभएको बताउँदै घिसिङले कम्फर्ट जोन खोज्न यो बाटो नहिँडेको उल्लेख गर्छन् । भन्छ्न, ‘मैले सबै कम्फर्ट जोन मात्रै लिएर बस्ने हो भने जागिर खाएरै बसे हुन्थ्यो । सजिलो काममा मात्रै चुप लागेर बसेको भए हुन्थ्यो। मेरो कुरा के हो भने कम्फर्ट जोनबाट निस्केर च्यालेन्ज सामना गर्नुपर्छ । म त्यसकाा लागि तयार छु।’ सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा तीनवटा मन्त्रालय सम्हालेका उनले सडक र पूर्वाधारको क्षेत्रमा केही राम्रा काम पनि गरे । उनै घिसिङसँग हामीले निर्वाचनपछि पार्टीको आकार, चुनावी तालमेल र कर्मचारीबाट बिदा भएर राजनीतिक यात्रा निस्किँदाको अनुभवसहितका विषयमा कुराकानी गरेका छौँ । 

पहिलोपटक निर्वाचनमा होमिँदै हुनुहुन्छ कस्तो लागेको छ ?

निर्वाचन भन्ने कुरो सहज पक्कै हुँदैन । तर मैले यसलाई सहज रुपमा लिएर काम गरिरहेको छु। म मेरो व्यक्तिगत निर्वाचन क्षेत्रमा मात्रै होइन, समग्र देशभर नै पार्टीको हैसियत उठाउन लागिरहेको छु। विभिन्न आक्षेप र आक्रमण भइरहेका हुन्छन् । तिनलाई परास्त गर्न इमानदारीसाथ लागिरहेको छु। 

पहिलो पटक संसदीय निर्वाचनमा भिड्दै हुनुहुन्छ, जित्छु जस्तो लागेको छ ?

जित्छु भनेरै उठेको हो । हामी जित्छौँ। आममतदाताको इच्छाअनुसार नै मैले काठमाडौं ३ बाट उम्मेदवारी दिएको हो । मतदाताले हामीलाई विश्वास गर्नुहुन्छ । उहाँहरूको विश्वास र साथ पाएरै मैले यो यात्रालाई अगाडि बढाउने निधो गरेको हो। 

यहाँलाई उज्यालो नेपालका प्रणेता पनि भनिन्छ । त्यही उपमाको प्रचार गरेकै कारण यहाँसम्म आइपुग्नुभयो, खास अबको राजनीतिक एजेण्डा चाहिँ के छ, निर्वाचन जित्न ? 

हामी देश समृद्ध बनाउँछौं भनेर यहाँ आएका छौं। भ्रष्टाचारमुक्त देश बनाउँछौँ भन्ने संकल्प बोकेका छौँ। आफ्नो निर्वाचन क्षेत्र र समग्र देशको समृद्धिका लागि हामीले के के गर्न सक्छौँ भनेर खाका बनाइरहेका छौं । शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीका क्षेत्रमा पनि के गर्न सकिन्छ भनेर प्रतिबद्धता तयार गरिरहेका छौँ ।

हिजो हामीले एउटा डेलिभरी दिएर काम गर्दै प्रमाणित भएर आएका हौँ। हामी कर्मचारी प्रशासनमा हुँदा नै हाम्रो मूल्याङ्कन भइसककेको छ, जनताले हामीलाई तौलिसकेका छन् । आगामी दिनमा हाम्रो भिजनलाई अगाडि बढाएर कार्यान्वयनमा जोड दिनेछौँ । समृद्धि र सुशासनको बाटोमा देशलाई लैजान आममतदाताले हामीलाई जिताउनुहुन्छ ।

यस बीचमा यहाँले धेरै राजनीति चुनौतीहरू सामना गरिरहनु भएको छ। कस्तो लागेको छ यिनलाई पार गर्न ? 

सधैँ कम्फर्ट जोनमात्रै लिएर बस्ने हो भने जागिर खाएकै भए भइजान्थ्यो । सजिलो कामै चुप लागेर बसेको भए हुने थियो। मेरो प्रष्ट कुरा के हो भने कम्फर्ट जोनबाट निस्केर च्यालेन्जको सामना गर्नुपर्छ।

कम्फर्ट जोनमै बसेको भए त म अनुभव, विज्ञता र पहिचानले गर्दा आरामदायी जीवन बिताउन सक्ने थिएँ । मेरो क्षमताले भ्याउने गरी जागिर खाएर, व्यापार गरेर बस्ने अवस्था थियो। प्रतिष्ठित संस्थाहरूले जागिरका अफर पनि गरेका थिए। त्यतातिर म बस्न सक्थेँ ।

तर, मैले त्यसलाई आवश्यक ठानिनँ । मेरो उद्देश्य त्यो होइन, मेरो उद्देश्य गरिबी उन्मूलन र रोजगारी सिर्जना गरेर देशलाई आत्मनिर्भर बनाउँदै देशलाई समृद्धितिर लाने हो । अहिलेको भ्रष्टाचार अन्त्य गर्ने हो । राजनीतिक क्षेत्रमा लाग्दा सधैँ चुनौती हुन्छ भन्ने बुझेरै यता हामफालेको हो ।

हरेक मानिसले कम्फर्ट जोनबाट बाहिर आउनुपर्छ। च्यालेन्ज स्वीकारेपछि जहाँ समस्या हुन्छ, त्यहाँ परिणाम दिन सकिन्छ । राजनीतिक क्षेत्रको अँध्यारो र दुर्गन्ध जति पनि छ, त्यसलाई हटाएर उज्यालो बनाउन लागेको हुँ । त्यसैका लागि हामी जनतासामु परीक्षण हुँदै उपलब्धि दिन आएका छौँ। 

उज्यालो नेपाल फैलिरहेका बेला रास्वपासँगको १२ दिने एकताले तपाईंहरूलाई ठूलो घाटा लाग्यो नि, समानुपातिकमा आफ्ना मान्छे पठाउन पाउनु भएन । १२ दिनले तपाईं र पार्टीमा ठूलो संकट निम्त्यायो होइन ? 

संकट त नभनौँ, ती १२ दिन बीचमा हामीलाई यताउता पारेर ढिसमिस गर्न खोजिएको पक्कै हो । हामी इमानदारिताको कसम खाएर यहाँसम्म आएका छौं। बीचमा हामी अल्मलियौँ। रास्वपासँगको जेन्टल एकतालाई ठूलो विश्वास गरेका थियौं । तर हामीलाई विश्वासघात भयो। यसबाट हामीले ठूलो पाठ सिकेका छौं । कहिले सफलता, कहिले असफलता यो त भइरहन्छ ।

तर हामी अहिले अगाडि बढेका छौं । आगामी दिन अझै राम्रो हुनेछ। वैकल्पिक शक्तिहरूको विश्वासघातले हाम्रो पार्टीलाई केही घाटा अवश्य भएको छ । तर ढिलो चाँडो जनताले यी सबै कुरा बुझ्नु हुनेछ, हामी आत्तिएका छैनौँ। जे हुन्छ, राम्रोकै लागि हुन्छ भन्ने बुझेरै अगाडि बढेका छौं । 

यही निर्वाचनमै रास्वपासँग तालमेल गर्ने अवस्था छ कि छैन ?

राष्ट्रिय स्वतन्त्र पार्टीसँगको तालमेल अहिले हामीले सोचेका छैनौं । यतातिर हामीले सोच्नसमेत भ्याएका छैनौँ। 

अन्य दलहरूसँग सहकार्य अथवा तालमेल गरेर जाने अवस्था छ ? 

अन्य वैकल्पिक शक्तिसँग परिस्थिति सिर्जना भए हामी निर्णय गर्दै जान्छौँ। तर तत्कालीन अवस्थामा कसैसँग तालमेल र सहकार्य गर्ने अवस्था छैन। 

यहाँले सोचेको र लिएको लक्ष्य उद्देश्य पूरा गर्न एक्लै अगाडि बढेर सम्भव नहोला नि ?

अलायन्स त हुनसक्ने भनि नै रहेका छौँ। यो निर्वाचनमा पनि कुनै कुनै क्षेत्रमा स्थानीय अलायन्स बनाएर जाने बाटो खुला गरेका छौं । त्यसमा ओपन छौं । तर केन्द्रमै एकीकरण गरेर देशव्यापी अलायन्समा जाने अवस्थामा छैनौँ। अलायन्सका लागि यहाँले भनेको जस्तै ढोका खुल्ला छ। 

अहिलेसम्म अलायन्सका लागि प्रस्ताव आए ?

अलायन्सका लागि धेरै ठाउँबाट प्रस्ताव आएका छन्। तर हामी आत्तिएर अलायन्स गर्ने पक्षमा छैनौँ। समग्र अवस्था विश्लेषणपछि देश, जनता र सुशासनको पक्षमा काम गर्नेसँग अलायन्स गर्छौं। प्रस्तावहरूलाई भित्री रूपमा विश्लेषण गरिरहेका छौं । 

को-कोबाट प्रस्ताव आए ?

अहिले यो र त्यो भन्ने पक्षमा म छैन । नयाँपुराना सबै पार्टीबाट प्रस्ताव आएका छन्। एकचोटि हामी पछुताइसकेकाले आत्तिएर निर्णय गर्ने पक्षमा छैनौँ। 

यहाँहरूले कतिवटा निर्वाचन क्षेत्रमा जित हासिल गर्नुहोला ? 

प्रतिस्पर्धा धेरै ठाउँमा हुन्छ । जित्ने अवस्था समग्रमा देख्दैछु । अहिले नै यति सिट भनेर तपाईंलाई भन्न सक्दिनँ, धेरै सिटमा हामी जित्छौँ। सम्मानजनक सिट ल्याउन सफल हुन्छौँ। यो जनताको विश्वास हो। अहिले हामी परीक्षणको कसीमा छौँ। परीक्षणपछि जनताले हामीलाई चुन्नेमा म ढुक्क छु। 

तर जनतामा कुलमान उज्यालो नेपाल छँदाछँदै बाँसुरी चुनाव चिह्नमा किन मतदान गर्ने भन्ने पनि छ नि ?  

यो पार्टी जेन-जी आन्दोलनको पेरिफेरीमा रहेर नेपाली जनताको चाहना र मर्मलाई सम्बोधन गर्न बनेको हो । देशलाई समृद्ध बनाउन र भ्रष्टाचारमुक्त गर्न बनेको हो। नयाँ जोशसहित आएको पार्टी हो । यो नेपालको समग्र परिवर्तनको लागि, आर्थिक रूपान्तरणको लागि जन्मेको पार्टी हो । यो पार्टी कुनै भाषण र जप गर्न आएको होइन। परिणाम दिन आएको हो । देशमा परिणाम दिननसकेकाहरूले चलाएको पार्टी परीक्षण भइसके । हामी परिणाम दिने हिसाबले काम गर्छौं।

हामी आन्दोलनको गतिलाई बोकेको र परिणाम दिने पार्टीका रूपमा अगाडि आएका छौं। हाम्रो अगुवाइमा सही नीति र नेतृत्व भएका व्यक्तिहरू रहनु भएको छ । त्यसकारण यो पार्टीलाई जनताले चुन्नुहुन्छ भन्नेमा म विश्वस्त छु। 

तर आफ्नै निर्वाचन क्षेत्र जित्न यहाँलाई सजिलो छैन भन्ने सुनिन्छ ?

त्यहाँका मतदाता र शुभेच्छुकसँग कुरा गर्नुस् न । सामाजिक सञ्जालमा कसले कस्तो हल्ला गर्छ, त्यसका पछि लागेर विश्लेषण नगरिदिनुहोला । मेरो क्षेत्रका जनताले मलाई आशा, भरोसासहित साथ दिएकाले गृहजिल्ला छोडेर त्यहाँबाट उठेको हुँ। रह्यो कुरा, मैले मात्र जित्ने नजित्ने विषय। देशभर मेरो पार्टीका नेताहरुले हल्ला नगरी सम्मानजनक मतसहित विजय हासिल गर्नुहुन्छ। 

निर्वाचनपछि यहाँ पनि प्रधानमन्त्रीको दाबेदार हो ?

अहिले नै यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भनेर घोषणा गर्नुभन्दा जनताले चुनेको प्रधानमन्त्री चाहिँ वास्तविक देशको प्रधानमन्त्री हुन्छ । म प्रधानमन्त्री हुन्छु, लौ न मलाई बनाओ भनेर भाषण गर्दैमा हुने होइन।

प्रधानमन्त्री हुन जनताले मत दिएर पठाउनु पर्छ । त्यो व्यक्तिलाई समग्रले विश्वास गरेको हुनुपर्छ । हामी हल्लाभन्दा काम गर्ने पक्षमा छौँ। जनताले मलाई पूर्ण साथ सहयोग दिनुभएको छ।

मैले जनता र देशलाई घाटा हुने र समग्र शुभेच्छुकलाई घाटा हुने कुनै गतिविधि गरेको छैन । त्यसैले जनताले मलाई चुनेर ल्याउँछन् भन्नेमा विश्वस्त छु। तर म प्रधानमन्त्री हुन र त्यसकै लागि दौडिन राजनीतिमा आएको पक्कै होइन ।

जनताले विश्वास गरेमा त्यो जिम्मेवारी पनि आउला। तर म प्रधानमन्त्री हुन हतात्तिएको छैन। समग्र जनताको चुल्हो बल्नुपर्छ भन्ने पक्षमा आवाज उठाएको मान्छे हो । म अहिले पनि त्यही कुरामा दृढ छु ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ८ : ४३ बजे

गहना पोखरी पुरानै शैलीमा पुनर्निर्माण हुँदै (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको हाडीगाउँमा रहेको ऐतिहासिक सम्पदास्थलमा गहना पोखरीको पुनर्निर्माण कार्य

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

हिउँ र चिसोमा हराइरहेको डोल्पा : ६ महिना न शिक्षा न स्वास्थ्य !

काठमाडौं – देश अहिले चुनावमय बनेको छ। विभिन्न राजनीतिक दलका

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी

राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री