छिटपुट घटनाबाहेक सर्लाहीमा शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खस्यो « Khabarhub

छिटपुट घटनाबाहेक सर्लाहीमा शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खस्यो


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बरहथवा (सर्लाही)- सर्लाही जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक जिल्लामा कुनै प्रकारको विवाद नभएको जिल्ला सुरक्षा समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।

चारवटा निर्वाचन क्षेत्र कायम सर्लाहीमा निर्धारित समयअनुसार बिहीबार बिहान ७ः०० बजेदेखि नै मतदान सुरु भएको थियो । साँझ ५ः०० बजेसम्म यहाँका करिब ६० प्रतिशत मतदाताले मत जाहेर गरेका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए । सर्लाहीमा चारवटा निर्वाचन क्षेत्रमा गरी पाँच लाख ११ हजार ६०६ जना मतदाता छन् ।

त्यसमध्ये आधाभन्दा बढीले मतदान गरेका प्रारम्भिक विवरण प्राप्त भएको हो । अहिले जिल्लाका सबै मतदान केन्द्रमा मतपेटिका सङ्कलन सम्पन्न गरी कोठामा बन्द गरिएको उनको भनाइ छ । त्यसपछि बसेको सर्वदलीय बैठकबाट जिल्लाको १ र २ नं क्षेत्रमा बिहानदेखि मतगणना सुरु गर्ने तय भएको छ भने क्षेत्र नं ३ को बैठक जारी छ । क्षेत्र नं ४ मा भने बैठकसमेत बस्न बाँकी रहेकाले आज बिहान बैठक बसेर गणना सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

अधिकांश क्षेत्रको मतपेटिका सङ्कलन र रुजुका लागि रातको ११ः०० बजेसम्म लागेको थियो । चुरे भेगका गाउँबाट मतपेटिका ल्याउन समय लागेको क्षेत्र नं १ का निर्वाचन अधिकृत टीकाबहादुर थापाको भनाइ थियो । मतदान सम्पन्न भएपछि साँझ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीको कडा घेरामा मतपेटिका मतगणनास्थलसम्म पुर्याइएको छ ।

सर्लाही क्षेत्र नम्बर १ को लागि लालबन्दी नगरपालिका–१०, चन्द्रपुर वडा कार्यालयमा, क्षेत्र नं २ को जिल्ला समन्वय समितिको सभाहलमा, क्षेत्र नं ३, को हरिवनस्थित नापी कार्यालय भवनमा र क्षेत्र नं ४ को गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालयमा मतगणनाको तयारी गरिएको छ ।

सर्लाहीका क्षेत्र नं ४ स्थित बलरा नगरपालिका–४, जब्दीमा रहेको प्राथमिक विद्यालय मतदान केन्द्रमा दलका प्रतिनिधिबीच विवाद भएपछि केहीबेर मतदान रोकिएको थियो भने धन्कौल, मानपुर र बसवरिया गाउँपालिकाको जनता मावि भवानीपुर मतदान केन्द्रमा समेत सामान्य विवाद भएको थियो ।

तर तत्कालै सुरक्षाकर्मी उपस्थित भई अवस्था नियन्त्रणमा लिएका थिए । प्रमुख जिल्ला अधिकारी कडरियासहितको सुरक्षा अधिकारीको टोली मतदानस्थल पुगेर निरीक्षण गर्दै आवश्यक निर्देशन दिएका थिए । छ सय २८ मतदान केन्द्रबाट यहाँका मतदाताले मत जाहेर गरेका छन् ।

दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ जना अन्य मतदाता रहेको यस जिल्लामा ६० प्रतिशत हाराहारीमा मात्र मत खसेको हो । सुरक्षा दृष्टिकोणले अधिकांश क्षेत्रलाई अतिसंवेदनशील कायम गरिएको सर्लाही–४ मा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उम्मेदवारी परेको यस क्षेत्रको देशमै महत्त्वपूर्णमध्येको एक क्षेत्रका रूपमा चर्चा र चासो व्यक्त हुँदै आएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १ : ४९ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका