सारङ्गीको धुनले धानेको जिन्दगी « Khabarhub

सारङ्गीको धुनले धानेको जिन्दगी


२३ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो । उनकै लयमा सुजन गन्धर्वले सारङ्गीको धुनमा गीत गाउँदै हिँडेको आठ वर्ष भयो ।

उनीहरु हाल दैनिकजसो धरानस्थित श्रम संस्कृति पार्कमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सारङ्गी र मादलको साथमा गीत गाउँदै आएका छन् । एक जनाले मादल बजाउने र अर्काले सारङ्गी रेट्दै गीत गाउने उनीहरूको दैनिकी बनेको छ ।

सारङ्गीको मधुर धुनमार्फत उनीहरूले पार्क घुम्न आउने सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्ने गरेका छन् । अहिले उनीहरुको जीविकोपार्जनको माध्यम यही बनेको छ । सर्वसाधारण साथै पर्यटकले स्वेच्छाले रकम दिन्छन् ।

सुवास गन्धर्वले बाउबाजेदेखि चलिआएको पेसालाई निरन्तरता दिएको बताउँदै यही पेसाबाट परिवार पाल्दै आएको बताए । ‘बाउबाजेले सारङ्गी रेटेरै हामीलाई हुर्काउनुभयो, मैले त्यही परम्परा समातेको हुँ’, उनले भने ।

‘पहिला पहिला गाउँमा यातायातको सुविधा थिएन । कैयौँ दिन हिँडेर टाढा–टाढा पुगेर गीत गाउने चलन थियो । अहिले सवारीसाधनले सजिलो भएको छ’, उनले भने । नेपालको पूर्वदेखि पश्चिमसम्मका विभिन्न सहर तथा भारतको सिक्किम र दार्जिलिङसम्म पुगेर गीत गाएको उनको अनुभव छ । गाडी तथा सार्वजनिक स्थानमा गीत गाएर सर्वसाधारणबाट प्राप्त हुने स्वेच्छिक सहयोग नै आम्दानीको आधार भएको उनको भनाइ छ ।

सुवास गन्धर्वका अनुसार उनी ‘भ्वाइस अफ नेपाल’ मा समेत सहभागिता जनाउँदै ब्याटल चरणसम्म पुगेका थिए भने ‘इन्द्रेणी’ कार्यक्रममा गीत गाएका छन् । उनले भने, ‘धेरै कार्यक्रमहरुमा सहभागी भएर गीत गाउँदै पनि हिँडियो तर त्यहाँबाट अपेक्षित आम्दानी नभएपछि पुन सारङ्गी बजाएरै जीविकोपार्जन गर्न थालेको हुँ ।’ उनले काठमाडौँदेखि पोखरा जस्ता सहरका धेरै गल्लीमा सारङ्गी बजाइसकेका छन् ।

सुजन गन्धर्वले लामो समय भारतको दार्जिलिङमा रोजगारी गरेर गाउँ फर्किएपछि आठ वर्षदेखि सारङ्गी बजाउँदै गीत गाएर आम्दानी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनले परम्परागत पेसा जोगाउने उद्देश्यले यसलाई निरन्तरता दिएको बताए ।

उनले भने, ‘सारङ्गी बजाएर गीत गाउनु गन्धर्व समुदायको पुर्ख्यौली पेसा हो, हाम्रो संस्कृति र पहिचान पनि यही हो’, उनले भने, ‘पछिल्लो समय नयाँ पुस्ता अन्य पेसातर्फ आकर्षित हुँदै जाँदा यस्तो मौलिक कला सङ्कटमा पर्दै गएको छ ।’

आधुनिक प्रविधिको विकाससँगै मनोरञ्जनका माध्यम परिवर्तन भइरहेका बेला गन्धर्व समुदायको परम्परागत पेसा जोगाउन चुनौती थपिएको उनको भनाइ छ । स्वास्थ्यले साथ दिएसम्म आफूहरु यो पेसालाई निरन्तरता दिने उनले सुनाए ।

नेपालमा लोपोन्मुख जातिका रुपमा रहेको गन्धर्व जातिको मुख्य बाहुल्यता भोजपुर, कास्की ,तनहुँ, लमजुङ, गोरखा, चितवन, बाग्लुङ, पाल्पा, दैलेख, सुर्खेतलगायतका जिल्लामा छ । नेपाली लोकसङ्गीत र रङ्गमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, सम्वर्द्धनसँगै विकास गर्दै आएका लोक जीवनका संवाहक गन्धर्व जाति र तिनको वाद्यवादन साराङ्गी मादल पनि एक हो । आज आएर गन्धर्वले लोकगीतलाई स्थानीय गीत स्थायित्व गराई पेसाको रुपमा अपनाउँदै आएका छन् । (रासस)

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ७ : १९ बजे

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा

एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक

काठमाडौं– एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको