कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक वातावरण तनावग्रस्त बनेको छ।
विभिन्न स्थानबाट भारतीय जनता पार्टी र तृणमूल कांग्रेस (टीएमसी) का कार्यकर्ताबीच झडपका खबरहरू आइरहेका छन्।
यसैबीच मंगलबार राति केन्द्रीय कोलकाताको ऐतिहासिक न्यू मार्केट (हग मार्केट) क्षेत्रमा भागभाग मच्चिएको छ।
करिब राति ९ बजे केही व्यक्तिहरू बुलडोजर लिएर पुगेका थिए । उनीहरूले टीएमसीको एक कार्यालयमा आक्रमण गरे।
जानकारी अनुसार न्यू मार्केट युनियनसँग सम्बन्धित टीएमसी कार्यालयलाई पूर्ण रूपमा भत्काइएको छ।
टीएमसीले भाजपा समर्थकहरूले हग मार्केट क्षेत्रमा पसलहरूमा समेत बुलडोजर चलाएर तोडफोड गरेका आरोप लगाएको छ।
यसका साथै दक्षिण कोलकाताको टोलिगञ्ज क्षेत्रमा पूर्व विधायक अरूप विश्वासको कार्यालयमा पनि तोडफोड गरिएको छ। बेलियाघाटा क्षेत्रमा एक कार्यकर्तामाथि कुटपिट भएको बताइएको छ।
टीएमसीका अनुसार अभिषेक बनर्जीको आम्तलास्थित कार्यालय पनि भीडको निशानामा परेको थियो।
चुनावपछि बढ्दो हिंसाप्रति भारत निर्वाचन आयोगले कडा ध्यान दिएको छ। आयोगले राज्यका मुख्य सचिव, प्रहरी महानिरीक्षक तथा केन्द्रीय सुरक्षा बलहरूलाई ‘शून्य सहनशीलता’ नीति अपनाउन निर्देशन दिएको छ।
यसअघि कोलकाता प्रहरीले सामाजिक सञ्जालमा भ्रामक वा उत्तेजक सामग्री फैलाउनेहरूविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको थियो।
प्रहरीले हाल शहरको अवस्था नियन्त्रणमा रहेको जनाएको छ र सर्वसाधारणलाई अफवाह नफैलाउन आग्रह गरेको छ।














प्रतिक्रिया