असारअघि विदेश भ्रमणमा निस्किने छैनन् प्रधानमन्त्री वालेन्द्र « Khabarhub

असारअघि विदेश भ्रमणमा निस्किने छैनन् प्रधानमन्त्री वालेन्द्र



काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाह सरकार गठन भएको १०० दिनसम्म कुनै पनि देशको भ्रमणमा ननिस्किने भएका छन्। बालेन्द्रको सचिवालय र परराष्ट्र मन्त्रालयका अनुसार उनी सरकार गठनको तीन महिनासम्म कुनै देशमा नजाने भएका छन् ।

पछिल्लो समय उनलाई भ्रमण गराउन दक्षिणी छिमेकी भारत आतुर देखिएको छ। स्रोतका अनुसार कुनै नाटकीय परिवर्तन नभएसम्म प्रधानमन्त्री शाह असारअघि भारत र चीन दुवैतिर नजाने लगभग निश्चित छ।

१०० दिनसम्म सरकारले परिणाममुखी काम गरेर चुनावी वाचाअनुसार नतिजा दिनुपर्ने भएकाले भ्रमणमा ननिस्किने सचिवालय स्रोत बताउँछ।

राम नवमी पर्वको अवसर पारेर चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेन्द्रलाई त्यही दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका थिए । 

बधाईसँगै उनले बालेन्द्र र आफू मिलेर नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्‍याउने पनि बताएका थिए । ‘भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पुर्‍याउन तपाईँसँग नजिकबाट काम गर्न म उत्सुक छु,’ मोदीले लेखेका थिए ।

त्यसपछि परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा. एस. जयशंकरबीच इन्डियन ओसन सम्मेलनमा मोरिससमा उच्चस्तरीय भ्रमणलगायतबारे छलफल भएको थियो । त्यही क्रममा भारतीय प्रधानमन्त्री मोदीले बधाई पत्र पठाउँदै बालेन्द्र शाहलाई भारत भ्रमणका लागि निम्तो दिएका थिए । 

त्यसबेला प्रधानमन्त्री शाहले निम्तोलाई सकारात्मक रूपमा स्वीकार गर्दै आवश्यक कूटनीतिक गृहकार्यपछि भ्रमणको मिति तय गर्ने बताएका थिए । खनालले पनि आवश्यक कूटनीतिक तथा एजेन्डाकृत छलफल गरेर जानकारी गराउने वचन दिएका थिए । जयशंकरले नेपालको तर्फबाट तयारी सम्पन्न भएपछि खबर पठाउन आग्रह गरेका थिए ।

सम्मेलनबाट फर्किएपछि पत्रकारहरूसँग खनालले भनेका थिए, ‘उच्चस्तरीय राजनीतिक भ्रमणका विषयमा प्रस्ताव आएको छ, तर मिति तय भएको छैन ।’

उनले नयाँ सरकारले आफ्नो प्राथमिकता निर्धारण गरेर दुवै देशका मन्त्रालयको प्राविधिक समितिले काम पूरा गरेपछि मात्रै उच्चस्तरीय राजनीतिक भ्रमण गर्ने विषयमा छलफल भएको बताएका थिए ।

हाल नेपाल र भारतले आ–आफ्नो तर्फबाट भ्रमणको तयारी अघि बढाए पनि मिति तय हुन अझै समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री शाहले पनि तीन महिनाअघि भारत वा चीन भ्रमणलाई प्राथमिकतामा नराखेकाले त्यस अवधिमा भारत भ्रमणको सम्भावना न्यून रहेको बताइएको छ ।

‘सुकुम्वासी व्यवस्थापनको काम भइरहेकाले बीचमै छाडेर प्रधानमन्त्री विदेश जान मिल्दैन। जेठ १५ गते बजेट ल्याउने तयारी छ । सरकार गठन चैत १३ गते भएको हो । असार १३ अगाडि भारत जाने मिति तय हुने अवस्था देखिँदैन,’ प्रधानमन्त्रीका एक सहयोगीले भने, ‘जेठ महिनामा भ्रमण हुने सम्भावना अत्यन्त न्यून छ। भए असारतिर हुन सक्छ ।’

परराष्ट्र मन्त्रालयले तयारी गरिरहे पनि प्रधानमन्त्री शाहले तीन महिनासम्म भारत नजाने बताइरहेका छन्। सरकारले प्रारम्भिक तीन महिनामा देशभित्रै परिणाममुखी काम गर्नुपर्ने भएकाले त्यसपछि मात्रै विदेश भ्रमणमा जाने चाहना रहेको एक कर्मचारीले बताए।

‘तीन महिनासम्म काम गर्ने रणनीति प्रधानमन्त्रीले अपनाउनुभएको छ। जानैपर्ने अवस्थामा असारअगाडि सम्भावना निकै न्यून छ,’ ती सहयोगीले भने।

एजेन्डा तयार हुँदै

प्रधानमन्त्रीको भारत भ्रमणका लागि परराष्ट्र मन्त्रालयले अझै एजेन्डा तयार गरिसकेको छैन । मन्त्रालयनिकट स्रोतका अनुसार मिति र एजेन्डाबारे परराष्ट्र सचिव र मन्त्रीस्तरीय छलफल जारी छ । अन्य मन्त्रालयसँग समन्वय गरेर तयारी अघि बढाइए पनि बजेटको व्यस्तताले ध्यान दिन नसकिएको बताइएको छ।

परराष्ट्रमन्त्री खनाल एजेन्डाबारे छलफलमा छन् । भारत भ्रमणका क्रममा ५० देखि ६० वटा एजेन्डा उठाउनुपर्ने चुनौती रहेको बताइन्छ । विशेषगरी लिपुलेक, लिपियाधुरा र चुच्चे नक्सासम्बन्धी विषय नेपालको एजेन्डामा पर्छ ।

भ्रमणको तयारीका लागि सचिवस्तरीय र मन्त्रीस्तरीय वार्ताको गृहकार्य पनि अघि बढाइएको छ । ‘बजेटका कारण सबै तयारी पूरा भइसकेको छैन, अन्य मन्त्रालयसँग काम भइरहेको छ,’ एक कर्मचारीले भने ।

भारतीय विदेश सचिव विक्रम मिश्री वैशाख २८ गते दुई दिने भ्रमणका लागि काठमाडौं आउने सम्भावना छ । उनी आएपछि केही एजेन्डामा छलफल हुने बताइएको छ। त्यसपछि परराष्ट्रमन्त्री खनाल भारत जान सक्ने छन्।

मिश्रीको भ्रमणबारे सोध्दा ती कर्मचारीले भने, ‘लगभग निश्चितजस्तै छ, तर नयाँ जानकारी आएको छैन। आउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

परराष्ट्र मन्त्रालयका अनुसार मिश्रीको भ्रमणपछि परराष्ट्रमन्त्री खनालको भारत भ्रमण हुने र त्यसपछि एजेन्डाको अन्तिम टुंगो लाग्ने अपेक्षा गरिएको छ ।

मिश्री आएपछि शिशिर जाने

परराष्ट्र मन्त्रालयले नेपाल–भारतबीच विगतमा भएका सहमति, उपलब्धि र प्राथमिकताहरूको समीक्षा गरिरहेको जनाएको छ। अन्तरमन्त्रालयीय तथा उच्चस्तरीय छलफलमार्फत सम्बन्ध सुधार र सुदृढीकरणका विषयमा अध्ययन भइरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री शाहले परराष्ट्रमन्त्री खनाललाई विगतमा भएका साना–ठूला सबै उपलब्धिको गहिरो अध्ययन गर्न निर्देशन दिएका छन् । दुई देशबीचका सम्बन्धमा समस्या भए समाधान खोज्ने र उपलब्धि नभएका विषयलाई तथ्यका आधारमा विश्लेषण गर्न भनिएको छ ।

मिश्रीले प्रधानमन्त्री भेट्वलान् ?

मिश्री नेपाल आएमा प्रधानमन्त्रीसँग भेट गर्ने अहिलेसम्म स्पष्ट जानकारी छैन। तर उनले आफ्ना समकक्षी अमृतबहादुर राईसहित मन्त्रीहरूसँग भेटवार्ता गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । अर्थमन्त्री, ऊर्जामन्त्री, भौतिक पूर्वाधारमन्त्री, सभामुख, राष्ट्रिय सभा सदस्य तथा कानुनमन्त्रीसँग पनि भेट हुन सक्ने बताइएको छ ।

यसअघि तेस्रोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली भारत भ्रमणमा गएका थिएनन्, यद्यपि भारतीय पक्षबाट निमन्त्रणा आएको थियो ।  

त्यसबेला मोदीका तर्फबाट भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री ओलीलाई औपचारिक निमन्त्रणा दिएका थिए । तर ओली भारत जानै नपाई उनको सत्ता भदौ २४ मा ढल्यो ।

तर २०७९ को निर्वाचनपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने भारत भ्रमणमा गएका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार  ७ : ४४ बजे

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले

सिंहदरबारभित्रकै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, तिराइयो दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

जल तथा मौसम विज्ञान विभागको सेवा स्तरोन्नति गरिन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान, बाढी