दार्जिलिङ – गीतकार आर.बी. खड्काद्वारा रचित गीतसङ्ग्रह ‘फर्केर हेर्दा’ भारतको ऐतिहासिक तथा सांस्कृतिक नगरी दार्जिलिङमा एक भव्य समारोहबीच लोकार्पण गरिएको छ। लभ एण्ड सपोर्ट फाउन्डेसन, दार्जिलिङ शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सङ्गीत, साहित्य तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व दार्जिलिङ नगरपालिकाकी उपसभापति श्रीमती प्रतिभा राईले गर्नुभएको थियो भने पब्लिक प्रोसिक्युटर श्री योगेश दियाली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, लभ एण्ड सपोर्ट फाउन्डेसनका सभापति श्री मनोज राईको विशिष्ट उपस्थिति रहेको थियो ।
समारोहमा नेपाली गीत–सङ्गीत क्षेत्रका वरिष्ठ गायक–गायिकाहरू पेमा लामा, उदय सोताङ, गोविन्दराज घताने, महेश शेवा, कर्म ग्याल्छेन बोम्जन, उत्तममणि बम्जन, हिरा रसाइली, डेजी बराइली तथा मनिला सोताङलगायत विशिष्ट स्रष्टा तथा सङ्गीतकर्मीहरूको गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई थप आकर्षक बनाउन विविध सांगीतिक प्रस्तुतिहरूसमेत राखिएका थिए। अमेरिकाबाट आउनुभएका वरिष्ठ गायक मनोज राई, सिक्किमबाट गायक मनोज याक्खा र गायिका रेमन्ती राई, तिनधारेबाट गायक महेश शेवा तथा मिरिकबाट गायक कर्म ग्याल्छेन बोम्जनले आ–आफ्ना सांगीतिक प्रस्तुतिमार्फत समारोहलाई संगीतमय बनाउनुभएको थियो ।
गीतकार आर।बी। खड्काको ‘फर्केर हेर्दा’ गीतसङ्ग्रहमा जीवनका विविध अनुभूति, प्रेम, सम्बन्ध, बिछोड, संघर्ष, जन्मभूमिप्रतिको अनुराग, प्रवासी जीवनका अनुभूति तथा मानवीय संवेदनालाई समेटिएका गीतहरू सङ्ग्रहित छन् । लोकार्पण समारोहले नेपाली गीत–साहित्य र सङ्गीतप्रतिको आत्मीयता तथा स्रष्टाप्रतिको सम्मानलाई थप उजागर गरेको थियो ।
कार्यक्रमको आयोजना तथा व्यवस्थापनमा लभ एण्ड सपोर्ट फाउन्डेसन, दार्जिलिङ शाखाका प्रेसिडेन्ट श्री ईजाज अली, सचिव श्री अनिल विश्वकर्मा र कोषाध्यक्ष श्री सुरेन बर्मेलगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूको सक्रिय भूमिका रहेको थियो ।
समारोहमा उपस्थित साहित्यकार, सङ्गीतकर्मी, समाजसेवी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूले गीतकार खड्कालाई कृति प्रकाशन तथा लोकार्पणको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए । दार्जिलिङको सांगीतिक तथा साहित्यिक परिवेशमा सम्पन्न उक्त समारोहले नेपाली गीत–साहित्यको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा यस्ता सिर्जनात्मक कृतिहरूको महत्त्वलाई समेत उजागर गरेको थियो ।














प्रतिक्रिया