बालेन प्रधानमन्त्री हुने पक्का, रास्वपा नेताहरु भन्छन्– ‘सहमति तलमाथि हुँदैन’ « Khabarhub

बालेन प्रधानमन्त्री हुने पक्का, रास्वपा नेताहरु भन्छन्– ‘सहमति तलमाथि हुँदैन’

चैत नलाग्दै सत्ता बुझाउने तयारीमा प्रधानमन्त्री



झापा- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह झापा ५ बाट विजयी हुने पक्का भएको छ । उनी झापा ५ बाट ५५ हजारभन्दा धेरै मत ल्याएर निर्वाचित हुने अवस्थामा छन् । निर्वाचनको मत परिणाम सार्वजनिक नहुँदै राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउँदैन कि भन्ने विभिन्न आशङ्का र टिकाटिप्पणीहरु भइरहेका छन् । जिम्मेवार र राजनीतिक चेत भएका व्यक्तिहरूले नै रविले लोभका कारण बालेन्द्रलाई प्रधानमन्त्री दिँदैनन् भन्ने दाबी गरिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले भने यसलाई खण्डन गरेको छ ।

पार्टीका पहिलो वरियताका उपसभापति डिपी अर्याल बालेन्द्रको अनुहार देखाएर देशभरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउन लागेकाले उनी नै प्रधानमन्त्री बन्नेमा कुनै द्विविधा नरहेको बताउँछन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने बालेन्द्र शाह लगायत अरुलाई देखेर जनताले आशले मतदान गरेकाले उनीहरूको मतलाई निराशामा नबदल्ने बताए । अर्यालका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सरकार निर्माणको प्रक्रियामा जाँदा बालेन्द्रलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बनाउन कुनै पनि हस्तक्षेप नगर्ने बताए ।

हुन त राष्ट्रिय स्वतन्त्र पार्टीकी वैचारिक नेतृ सोबिता गौतमले पनि बालेन्द्र प्रधानमन्त्री बन्ने विषयमा शङ्का नगर्न आग्रह गरिरहेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउने र पार्टीबाट वरिष्ठ नेता शाह प्रधानमन्त्री बन्ने कुरामा कुनै द्विविधा नरहेको उनको भनाइ छ ।

पार्टीका वैचारिक नेता शिशिर खनाल पनि पार्टीले बहुमत ल्याउनुमा वरिष्ठ नेता बालेन्द्र शाहको ठूलो हात रहेको भन्दै उनलाई प्रधानमन्त्री बनाउन कसैले नरोक्ने बताउँछन् । रवि लामिछाने, बालेन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति विश्वास गरेर मतदाताले मतदान गरेकाले शाहलाई पार्टीले प्रधानमन्त्री चुन्नेमा पार्टीभित्र दुई लाइन नरहेको उनको भनाइ छ ।

‘सबै मतपरिणाम आएपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्छ । त्यसपछाडि हाम्रो तर्फबाट पहिला निर्धारित गरेकै व्यक्ति बालेन्द्र शाह प्रधानमन्त्री बन्नुहुन्छ ।’ खनालले खबरहबलाई भने, ‘जनतालाई झुक्याउनका लागि अन्य राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले जुन रूपमा बालेन्द्र प्रधानमन्त्री बनाइँदैन अथवा अरु कुराले विभिन्न टिकाटिप्पणी गरिरहनु भएको छ। यो बिल्कुल होइन । अब सरकार गठन हुँदा हाम्रो तर्फबाट बालेन्द्र शाह नै प्रधानमन्त्री बन्ने हो ढुक्क हुनुहोस् । यहाँहरूको मतको कदर भएको छ र हामीले राखेको अडानलाई कुनै पनि तल माथि हुन दिने छैनौँ ।’

विगतमा बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी मिलाउन महत्वपूर्ण भूमिका खेलेका खनाल बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दा गरेको सर्तलाई कार्यान्वयन गर्ने विषयमा कुनै कन्जुस्याईँ नहुने बताउँछन् ।

‘हाम्रो पार्टी सभापति रवि लामिछाने नै रहनुहुन्छ । संसदीय दलको नेता बालेन्द्र शाह बन्नुहुन्छ र उहाँ प्रधानमन्त्री हुनुहुन्छ ।’ खनाल भन्छन, ‘संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकाले उहाँलाई हामीले संसदीय दलको नेता बनाउँछौँ ।’

पार्टीका अर्का नेता विराजभक्त श्रेष्ठ पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन्द्र राई प्रधानमन्त्री बनाउने विषयमा आज पनि र भोलि पनि कुनै पनि विवाद तथा लोभ नरहेको बताउँछन् । उनी नयाँ पार्टीले जनतालाई ढाँट्ने काम नगर्ने बताउँदै जनताको मत र आफूहरुले राखेको सर्तलाई पार्टीले कुनै पनि हालतमा तल माथि नगर्ने उल्लेख गरे ।

‘जुन प्रकारले हामीमाथि शङ्का गरिएको छ यो पनि नेपाली जनताको माया हो । यति बुझ्नुहोस् हामीले गरेको प्रतिबद्धता र लिखित सहमतिलाई कुनै पनि हालतमा तोड्ने छैन ।’ श्रेष्ठले भने, ‘निर्वाचनको सुरुवाती मतपरिणामले नै हामी बहुमत ल्याउँछौं भन्ने स्पष्ट देखाइसकेको छ। अब राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार बन्छ र हाम्रो प्रधानमन्त्री बालेन्द्र शाह बन्नुहुन्छ ।’

हुन त निर्वाचित भइसकेपछि पार्टी सभापति रवि लामिछानेले पनि चितवनका आफ्ना मतदातालाई बालेन्द्र प्रधानमन्त्री बनाउने विषयमा कुनै द्विविधा नरहेको बताएका छन् ।

स्पष्ट बहुमतको लक्षण

हालसम्मको नतिजा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ४५ स्थानमा जित निकालिसकेको अवस्था छ । २०७९ को निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा २१ सांसद बनाएको यो पार्टी होमिँदा मूलधारको राजनीति दल बन्न पुगेको देखिन्छ । देशभरिको लहर र लिएको अग्रता हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी देशको पहिलो राजनीतिक शक्ति बन्नेमा कुनै दुईमत छैन । संविधानविद् भीमार्जुन आचार्य राष्ट्रिय स्वतन्त्र पार्टी देशको पहिलो दल बन्ने र बहुमत ल्याउने कुरामा कुनै द्विविधा नरहेको बताउँछन् ।

उनका अनुसार सबै अवस्थालाई हेर्दा पार्टीले बहुमत ल्याउने अवस्था रहेकाले एकल सरकार बनाउनका लागि पार्टीलाई कुनै अप्ठ्यारो अवस्था नरहेको उल्लेख गरे । ‘निर्वाचनको मत परिणाम आइसकेको छैन तथापि हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउने देखिन्छ । बहुमत ल्याएको खण्डमा सरकार गठनका लागि कुनै समस्या छैन ।’ आचार्यले खबरहबलाई भने, ‘विश्लेषण हतारो हुनसक्छ तर राष्ट्रिय स्वतन्त्र पार्टीले एकल सरकार बनाउने अवस्था देखिएको छ ।’

हालसम्मको नतिजा हेर्दा पार्टीले ७४ स्थानमा अग्रता कायम गरेको देखिन्छ । समानुपातिकमा पनि अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीकै मत बलियो हुनाले बहुमतसहितको एकल सरकार बनाउन कुनै अप्ठ्यारो नरहेको पार्टी उपसभापति अर्याल बताउँछन् । ‘हामी एकल सरकार बनाउँछौँ ।’ अर्याल भन्छन, ‘बहुमतको सरकार बनाउनका लागि हामीलाई कुनै समस्या देखिँदैन।’

प्रतिनिधि सभामा अहिले जम्मा २७५ सीट छ । समानुपातिक र प्रत्यक्षमा बहुमतका लागि १३८ सिट आवश्यक पर्छ । देशभरको नतिजालाई हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा र समानुपातिकमा जोड्दा १३८ बढी सीट ल्याउने अवस्था छ । त्यसैले अब बन्ने नयाँ सरकारको प्रधानमन्त्री बालेन्द्र शाह हुन्छन् भन्ने कुरामा द्विविधा नरहेको देखिन्छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले यसका लागि इमान्दार भएर अगाडिको सर्त कार्यान्वयन गर्नुपर्छ ।

पार्टी सभापति लामिछाने, दलको नेता बालेन्द्र

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने नै रहने र संसदीय दलको नेता बालेन्द्र शाहलाई बनाउने विषयमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै विवाद छैन । बालेन्द्रको सचिवालय पनि पार्टी सभापति लामिछाने नै रहने र संसदीय दलको नेता बालेन्द्र हुने विषयमा आफूहरूको कुनै असहमति नरहेको बताउँछ । राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पार्टी सभापति भएको व्यक्ति नै संसदीय दलको नेता हुनुपर्ने कुरा उल्लेख गरिएको छैन ।

विधानमा पार्टी सभापति जोसुकै भएपनि संसदीय दलको नेता प्रतिनिधिसभाका सांसदहरूबाट चुन्न पाउने व्यवस्था निर्धारण गरिएको छ । त्यही व्यवस्थालाई टेकेर संसदीय दलको नेता सांसदहरूले पनि चुन्ने र दलको नेतालाई प्रधानमन्त्री बनाउने यस अगाडिको प्रतिनिधिसभाका संसदीय दलका उपनेता विराज भक्त श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार पार्टी एउटा व्यक्तिले चलाउने र कार्यकारी जिम्मेवारी अथवा प्रधानमन्त्री अर्को नेताले चलाउने समझदारी यसअगाडि नै भएकाले त्यसलाई निरन्तरता दिने बताए । ‘हाम्रो विधानमा पार्टी सभापति भएको व्यक्ति नै संसदीय दलको नेता हुनुपर्छ भन्ने छैन ।’ श्रेष्ठले खबरहबलाई भने, ‘हामीले राम्रो चाहिँ के गरेका छौँ भने पार्टी एउटा व्यक्तिले चलाउने र संसदीय दल र कार्यकारी प्रधानमन्त्री अर्को व्यक्तिले चलाउने व्यवस्था मिलाएका छौँ । अबको हाम्रो पार्टी सभापति रवि लामिछाने हो र संसदीय दलको नेता र प्रधानमन्त्री बालेन्द्र शाह हो ।’

नयाँ जनमतलाई सरकार सुम्पिन आतुर प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले नया जनमतलाई सरकार सुम्पिन आतुर रहेको बताउँदै आएकी छन् । उनले प्रधानमन्त्री नियुक्ति भएको दिनदेखि नै नयाँ जनमत आएपछि आफू त्यो जनमतलाई सरकार सुम्पेर त्यहाँबाट सम्मानपूर्वक बाहिरिने बताइरहेकी छन् । निर्वाचन सम्पन्न भएपछि फागुन २१ गते पनि उनले नयाँ जनमतलाई सरकारको साँचो सुम्पिन आफू तयार रहेको बताएकी थिइन् ।

प्रधानमन्त्रीको सचिवालय पनि अबको एक साता पछाडि नयाँ जनमतको सरकार निर्माण हुने अवस्था रहेको बताउँछ । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले खबरहबलाई दिएको जानकारी अनुसार चैत नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताएको छ । ‘चैत नलाग्दै नयाँ सरकार गठन भइसक्ने खालको सरकारले तयारी गरिरहेको छ ।

‘प्रधानमन्त्रीज्यू पनि सबै निर्वाचन परिणाम आइसकेपछि बहुमत ल्याउने दललाई अथवा बहुमत नल्याए हामीले बहुमत पुर्‍यायौँ भन्ने दललाई सरकार सुम्पन तयार हुनुहुन्छ ।’ प्रधानमन्त्रीको सचिवालय भन्छ, ‘चैतको पहिलो साता भन्दा सरकार गठनको प्रक्रिया पछाडि नधकेलिएला । प्रधानमन्त्रीज्यू त एक साताभित्रमै सरकार नयाँ जनमतलाई सुम्पिन तयार हुनुहुन्छ ।’

आगामी नयाँ प्रतिनिधि सभा सांसदहरूको शपथ सिंहदरबारस्थित नयाँ संसद भवनमा खुवाउने गरी सरकारले तयारी गरिरहेको छ । प्रतिनिधिसभाको बैठक बस्नलाई अहिले नै त्यहाँ साजसज्जा नभए पनि शपथ खुवाउनका लागि भने सम्भव रहेको जानकारी संसद सचिवालयले प्रधानमन्त्रीलाई गराएको छ।

प्रधानमन्त्रीको सचिवालय सदस्यका अनुसार सिंहदरबारकै भवनमा सपथ खुवाएर प्रतिनिधिसभाको बैठक भने पुरानै भवन नयाँ बानेश्वरमा बस्न सक्ने अवस्था छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले नयाँ भवन पनि तहसनहस भएकाले सरकारले कुनै विकल्प लगाएर तत्कालका लागि सदन बस्ने व्यवस्था मिलाउन लागेको बुझिन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ३ : ४४ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट- बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय

सर्लाही–१ मा रास्वपाकी नीतिमा कार्की निर्वाचित

मलङ्गवा– सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा  राष्ट्रिय

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट– बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय