सुदन न यता न उता « Khabarhub

सुदन न यता न उता

कुलमान र हर्क मिलाउन जुटेको जिकिर



काठमाडौं- कोशी प्रदेशमा नेकपा माओवादीको नेताका रुपमा राम्रो प्रभाव बनाएका सुदन किरातीलाई अहिले एउटा संकट आइ परेको छ।

तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको संघर्षका क्रममा नेता जनार्दन शर्मालाई साथ दिएर बाहिरिएका सुदन अहिले न यता न उताको अवस्थामा छन् ।

डा. बाबुराम भट्टराईसहित मिलेर खोलेको प्रगतिशील लोकतान्त्रिक पार्टीले फागुन २१ को चुनावमा पानीसमेत पिउन नसकेपछि धेरै नेता तितरबितर भइसकेका छन् । जनार्दनले रुकुम पश्चिममा चुनाव हारेसँगै प्रलोपालाई अझै ठूलो धक्का लागेको छ। उनै जनार्दनका सहयात्री सुदनको राजनीतिक यात्रा तत्काललाई कुहिरोको काग जस्तै हुन पुगेको छ।

स्पष्ट वक्ता, बौद्धिक छवि बनाएका कारण नेपाली राजनीतिमा उनको सम्भावना नभएको होइन । सुदनलाई अझै बढी आदिवासी जनजाति समुदायमा रुचाइन्छ । अझ फागुन २१ मा पूर्वका सुनसरी १, भोजपुर र खोटाङमा श्रमसंस्कृति पार्टीका उम्मेदवार जिताउन भूमिका खेलेपछि उनी खोजिएका नेतामा पर्छन् ।

तर उनै सुदन अहिले राजनीतिक दोसाँधमा छन् । सुदन प्रशस्त कार्यकर्ता अघिपछि लगाएर हिँड्न सक्ने नेता हुन् । उनलाई युवा पंक्तिको साथ पनि छ । तर प्रलोपाको जहाज डुबेसँगै पछिल्लो समय उनी नयाँ डुंगाको खोजीमा छन् । उनी आफ्नो नयाँ राजनीतिक घर बनाउने कोसिसमा छन् । तर निर्णय गर्न नसकेर संकट परेको छ। उनी नयाँ यात्राका लागि तयार भए पनि स्वागत गर्ने पार्टी तयार भएका छैनन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर नेकपा बन्दा असन्तुष्ट उनी प्रगतिशील लोकतान्त्रिक पार्टीमा गए । तर फागुन २१ को चुनावी धक्कापछि उनी न यता न उताका भएका छन् ।

निर्वाचनको धक्काले जनार्दन पनि मौन रहेका बेला सुदनले प्रलोपाबाट राजीनामा दिइसकेका छन्। अब उनको उत्कट इच्छा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग जोडिने हो । कोशीमा हर्कको राम्रै प्रभाव पनि छ । केन्द्रको राजनीतिक गरेर एक पटक मन्त्री भएका उनी अब प्रदेशतिर झर्न चाहन्छन् । प्रदेशमा झर्न उनलाई कोशीमा जनाधार भएकै हर्कको पार्टी हो ।

हर्कको पार्टीले कोशीका आदिवासी जनजातिमा गहिरै प्रभाव पारेको छ। त्यसो त सुदन पनि गोपाल किराती नेतृत्वको किरात जनवादी वर्कर्श पार्टीबाटै राजनीतिमा होमिएका हुन् । खम्बुवानसमेत भनिने उक्त पार्टी पनि जातीय पृष्ठभूमिबाटै आएर माओवादीमा विलय भएको थियो ।

जातीय मुद्दामा सुदन र हर्कबीच कुरा मिले पनि एकता गरेर जानेबारे उनीहरू सहमत हुन सकेका छैनन् । हर्क अहिले सुदनलाई भित्र्याइहाल्ने मनस्थितिमा देखिँदैनन् । उनले भोजपुरकै ध्रुवराज राईलाई पार्टी ल्याएर चुनाव पनि जिताइसकेका छन् ।

सहकार्यका लागि पटक–पटक हर्क र सुदनबीच संवाद भए पनि एक हुने निष्कर्षमा पुगेका छैनन् । सुदनसँगै प्रलोपा छोडेकी ओजस्वी भट्टराई र प्रलोपा छाड्न खोजिरहेका सन्तोष परियारको राजनीतिक करिअर पनि यतिबेला बादलले ढाकेको छ।

तर सन्तोष प्रलोपा नछोडिसकेको बताउँछन् । प्रलोपाका नेता जनार्दन शर्मा र राम कार्की चुपचाप छन् । कार्की पुस्तकको तयारीमा छन् । जनार्दन कता, के गर्दैछन् टुंगो छैन ।

यता हर्कसँग मिल्न तम्तयार सुदन उस्तै दोधार र दोसाँधमा छन् । हर्कले ग्रीन सिग्नल नदिएपछि उनी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग पनि संवादमा छन् ।

अध्यक्ष कुलमान घिसिङसँग सुदन संवादमा रहेको उज्यालो नेपाल पार्टीका नेता डा. महेन्द्र लावती बताउँछन् । सुदनकै सहयोगीहरू हेमन्त राई र राजन समीपले पनि यो कुराको पुष्टि गरेका छन्।

तर सुदन तत्कालै कुलमानसँग पनि जोडिने सम्भावना कमजोर छ। ‘संवाद भइरहेको छ । उहाँसँग जोडिने टुंगो लागेको छैन,’ सुदननिकट एक नेताले भने, ‘शक्ति बाँडफाँटलगायत कुरामा सैद्धान्तिक र व्यावहारिक सहमति हुनुपर्‍यो । हाम्रो धेरै कुरा श्रम संस्कृतिभन्दा उज्यालोसँगै मिल्छ । हर्कजीसँग धेरै सैद्धान्तिक र नीतिगत कुरा नभएकाले अप्ठ्यारो भएको छ ।’

सुदनले हर्कलाई सैद्धान्तिक र नीतिगत कुरामा स्पष्ट पार्टीको खाका कोर्नुपर्ने बताएका थिए । तर हर्क सुदनको त्यही कुराले बिच्किए । हर्क श्रम संस्कृति पार्टीमा आफ्नै प्रभुत्व जमाउन चाहन्छन् । उनी आफैंलाई सर्वेसर्वा मानेर ‘हर्कवाद नीति’ अगाडि बढाउन चाहन्छन् । यो कुरामा सुदनले असहमति जनाएका थिए । तर हर्क र सुदनको संवाद टुंगिसकेको छैन, त्यसैले भविष्यमा एकता सम्भावना उत्तिकै रहेको उनीहरूनिकट बताउँछन् ।

हर्क र कुलमान दुवैसँग संवाद

अहिले सुदनले हर्कसँग पनि छलफल जारी राखेका छन्। यता कुलमानसँग पनि छलफल अघि बढाउने रणनीति उनले अपनाएका छन् । हर्क र सुदन मिलाउन कलाकार राजेशपायल राई र दयाहाङ राईसमेत लागेका छन् ।

तर पनि मिलन बिन्दु भेटिएको छैन । राजेशपायल र हर्क खोटाङका हुन् भने सुदन र दयाहाङ भोजपुरका हुन् । केही सहयोगी र प्रलोपाका नेताहरू पनि मिसाउने भएकाले सुदनले हर्कसँग सामूहिक सौदाबाजी गर्न चाहेका छन् ।

अबको स्थानीय र प्रदेशसभा निर्वाचनमा कोशी आफूलाई ४० प्रतिशतभन्दा बढी स्थानीय तहको उम्मेदवार दिनुपर्ने र प्रदेशको मुख्यमन्त्रीमा अघि सार्नुपर्ने लगायत माग सुदनका छन् । उनले पदीय बाँडफाँट ६०/४० प्रतिशत हुनुपर्ने माग गरेका छन् ।

हर्कले भने सुदनले ‘हड्डी हेरेर हाड ननिली ठूलो भाग मागेको’ भन्दै एकतालाई टारेका छन् । ‘एकता यही शनिबारभित्र हुने थियो । पदीय भागबन्डासहित विचार नै मिलेका छैनन्,’ हर्कनिकट नेताले भने, ‘छलफल जारी छ । सैद्धान्तिक र वैचारिक एकरूपता कायम गर्ने अडान उताबाट राखिएको हो ।’

श्रमसंस्कृति पार्टीको मुख्य सिद्धान्त ‘हर्कवाद’ रहेकाले सुदनले यसलाई सच्याएर सैद्धान्तिक रूपमा बलियो सिद्धान्त बनाउनुपर्ने अडान राखेका छन् ।

यस्तै उनले वैचारिक रूपमा राष्ट्रियतासम्बन्धी बहुसंस्कृतिवाद, लोकतन्त्रवाद, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षतालगायत सवालमा पार्टीको ठोस धारणा आउनुपर्ने मत राखेका छन् ।

सुदन र कुलमानबीच छलफल भएको अहिले मात्रै होइन । निर्वाचनअघि पनि कुलमान, सुदन र जनार्दन शर्मासम्म मिल्ने कुरा थियो । तर अन्तिममा कुलमानले बाँसुरी चुनाव चिह्नअन्तर्गतको पार्टीलाई समानुपातिकमा मत हाल्ने भएपछि भाँडियो ।

कुलमान र सुदनको सम्बन्ध पनि धेरै लामो हो । सुरुवातदेखि नै सुदन हर्कभन्दा कुलमानसँग नजिक थिए । तर कुलमान राष्ट्रिय स्वतन्त्र पार्टीमा मिल्न जाँदा पदीय भागबन्डा, सैद्धान्तिक विषयलगायत कुरा नमिल्दा त्यहीबेला टाढिन पुगे।

सुदनले कुलमान र जनार्दन मिलाउन लामै कसरत गरे पनि अन्तिममा असफल भएको स्वीकारोक्ति डा. महेन्द्र लावतीले गरेका थिए । अहिले सुदन र कुलमान नजिकिएका छन् । ‘स्वाभाविक रूपमा निर्वाचनअघि पनि उहाँसँग संवाद भएकै हो । अहिले पनि राजनीतिक संवाद भएकै छ,’ कुलमाननिकट महेन्द्र भन्छन्, ‘त्रिपक्षीय रूपमा छलफल तयारी गरेका छौं । सुदनजीसँग स्वाभाविक रूपले राजनीतिक कुरामा छलफल हुने नै भयो । विचार र व्यवहार मिलेमा छलफलबाट एकता पनि हुन सक्ला ।’

सुदनको दाबी : हर्क र कुलमान मिलाउन खोज्दैछु

सुदन भने हर्क र कुलमानलाई एक ठाउँमा ल्याउने प्रयत्नमा रहेको बताउँछन् । दुवैसँग कुरा भइरहेको स्वीकार्दै सुदनले एक ठाउँमा ल्याएर राष्ट्रिय शक्ति बनाउने बताए ।

‘मैले त हर्क र कुलमानजीलाई एक ठाउँमा ल्याउने प्रयत्न गरिरहेको छु । यही हिसाबमा छलफल अगाडि बढ्छ,’ सुदनले केही समयअघि भने, ‘जनतालाई चामल चाहिएको छ, सैद्धान्तिक कुरा रटाएर काम छैन । त्यसकारण जनताको जनजीविका सम्बोधन गर्न हामी सबै एक बनौँ भनेर काम गरिरहेको छु ।’

सुदनको सचिवालय पनि कुलमान र हर्कलाई एक ठाउँ ल्याउन छलफल भइरहेको दाबी गर्छ । कुलमान र हर्कलाई एक ठाउँमा ल्याउने कोसिस भए पनि उनीहरूलाई जुटाइसकेको अवस्था छैन। तर भविष्यमा त्यसको पनि योजना अगाडि बढाइएको सचिवालयका सदस्य बताउँछन् ।

यता हर्क र कुलमाननिकट नेताहरू पनि मिलेसम्म एकता, नमिलेसम्म मोर्चाबन्दी गरेर अगाडि बढ्न छलफल भइरहेको स्वीकार्छन् । ‘स्थानीय र प्रदेश निर्वाचन नजिकिँदैछ । मिलेसम्म पार्टी एउटै विचार समूहलाई एक ठाउँमा ल्याइन्छ, नमिलेमा मोर्चाबद्धसहित नयाँ शक्ति अगाडि बढ्ने कुरा स्वाभाविक हो,’ हर्कनिकट नेताले भने, ‘हाम्रो अध्यक्षले पनि यसबारे विभिन्न कोणबाट छलफल गरिरहनुभएको छ । देशभर पार्टीलाई अगाडि बढाउने गरी मोर्चाबन्दी हुन सक्छ ।’

पाँचथर पुगेर पार्टी विस्तार गर्ने क्रममा पनि कुलमानले भविष्यमा विचार मिल्ने शक्तिहरू एक भएर जाने विषयमा संवाद भइरहेको स्वीकारेका थिए । उनले नेताहरूसँग अनौपचारिक रूपमा पनि हर्क, कुलमान र सुदन भविष्यमा एउटै भएर अगाडि बढ्न सक्ने संकेत गरेको नेताहरूको दाबी छ ।

स्थानीय र प्रदेश निर्वाचनको तयारी

अहिले पार्टीहरूले आफ्नो हिसाबले स्थानीय र प्रदेश निर्वाचनको तयारी गरिरहेका छन् । नयाँ शक्ति, बालेन र राष्ट्रिय स्वतन्त्र पार्टी मिल्दा देशभर उथलपुथल गरेको देखेपछि छरिएका नयाँ शक्ति पनि एक हुने तयारीमा छन् ।

स्रोतका अनुसार अहिले मधेश प्रदेशमा नयाँ ढंगले राजनीति अगाडि बढाइरहेका प्रभु साह, ०७९ मा सुदूरपश्चिममा उदाएर अहिले अप्ठ्यारोमा पुगेको नागरिक उन्मुक्तिका नेता रेशम चौधरी, कुलमान, सुदन र हर्क साम्पाङबीच सहकार्यबारे छलफल सुरु भएको बताइन्छ । वैकल्पिक शक्ति एक ठाउँमा ल्याएर जनतालाई फरक राजनीतिक ‘टेस्ट’ दिन छलफल चलिरहेको नेताहरू बताउँछन् ।

‘प्रदेश र स्थानीय तहको निर्वाचन नजिकिएकाले वैकल्पिक शक्तिहरू एक ठाउँमा ल्याउन छलफल भइरहेको छ । हर्क, सुदन, कुलमान मात्रै होइन, रेशमदेखि प्रभुसम्म छलफलमा छौं,’ स्रोत भन्छ, ‘केही नपाकेकाले कुरा अगाडि नबढाइएको हो । वैकल्पिक अन्य शक्ति मिलेर जाऔं भन्न कुराकानी अवश्य हुन्छ ।’

सुदन, कुलमान, हर्क, रेशम र प्रभु मिलेमा स्थानीय र प्रदेश निर्वाचनमा राम्रै सिट आउने अवस्था छ। यदि हर्क, कुलमान र सुदनमात्रै मिले कोशीमा भारी सिट ल्याउने अवस्था बन्छ । अन्य प्रदेशमा पनि यी तीन आदिवासी नेताले सम्मानजनक नतिजा ल्याउने देखेरै एकताको बल भएको हो ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ८ : ०२ बजे

लिपुलेकबारे वार्तामा बस्न भारत तयार, चीनले दिएन कुनै प्रतिक्रिया

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्तामा बस्न

प्रधानन्यायाधीश सिफारिसबारे धारणा बनाउन बारले डाक्यो बैठक

काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा गरेको सिफारिसबारे धारणा बनाउन नेपाल

आफ्नो कारणले बदमान रामकृष्णलाई रविले यसरी लगाए मस्का

काठमाडौं – फिल्म निर्माता बनेका गायक रामकृष्ण ढकाल राष्ट्रिय स्वतन्त्र

सुदन न यता न उता

काठमाडौं- कोशी प्रदेशमा नेकपा माओवादीको नेताका रुपमा राम्रो प्रभाव बनाएका