काठमाडौँ- कच्चा तेलको मूल्यमा आएको गिरावट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग सम्बन्धित सेयरमा गिरावटसँगै विदेशी लगानीकर्ताहरु भारतीय सेयर बजारतर्फ आकर्षित हुन थालेका छन् । विदेशी लगानीकर्ताहरुले बिहीबार मात्रै भारतीय सेयर बजारमा करिब ६ वर्षयताकै उच्च सेयर खरिद गरेका छन् । तथ्याङ्कअनुसार विदेशी लगानीकर्ताले एकैदिन १.६ अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब ४७ अर्ब ९६ करोड भारतीय रुपैयाँ बराबरको सेयर खुद खरिद गरेका हुन् । यो सन् २०२१ फेब्रुअरी २४ यताकै उच्च दैनिक खरिद हो ।
अमेरिकी मध्यावधि निर्वाचनको नतिजापछि तेलको मूल्यमा तीव्र गिरावट आउनुका साथै एआई क्षेत्रका सेयरहरूमा बिक्रीको चाप बढेपछि विश्वव्यापी कोषहरूले आफ्नो लगानी सन्तुलन मिलाउन भारतीय बजारतर्फ ध्यान केन्द्रित गरेका हुन् । प्रमुख तेल आयातकर्ता मुलुक भारतको बजार यस वर्ष उच्च तेल मूल्य र एआईसम्बन्धी सेयरको अभावका कारण अन्य उदीयमान बजारहरूको तुलनामा पछि परेको थियो ।
तर, पछिल्ला पाँच कारोबार सत्रमा मात्रै विदेशी लगानीकर्ताले २ खर्ब ८ अर्ब ३५ करोड भारतीय रुपैयाँ (२.२० अर्ब डलर) बराबरको सेयर खरिद गरिसकेका छन्। अक्टोबर महिनासम्ममा कीर्तिमानी ३० अर्ब डलर बराबरको सेयर बिक्री गरेका विदेशी लगानीकर्ताको यो कदमलाई बजारमा आएको तीव्र उलटफेरका रूपमा हेरिएको छ ।
लगातार छ कारोबार सत्रदेखि उकालो लागेका यी सूचकाङ्कहरूले यस अवधिमा ८ प्रतिशतभन्दा बढीको वृद्धि हासिल गर्दै एक वर्षयताकै लामो सकारात्मक लय कायम गरेका छन् । एलियान्ज ग्लोबल इन्भेस्टर्सका भारतीय इक्विटी प्रमुख पोर्टफोलियो प्रबन्धक आनन्द गुप्ताले बढ्दो कम्पनी मुनाफा, औसतभन्दा कम मूल्याङ्कन र न्यून विदेशी स्वामित्वका कारण भारत आकर्षक अवसर बनेको बताएका छन् ।
त्यस्तै, मोतीलाल ओसवाल फाइनान्सियल सर्भिसेजका अनुसन्धान प्रमुख सिद्धार्थ खेम्काले अमेरिकी मध्यावधि निर्वाचनको परिणाम, कमजोर अमेरिकी डलर र घट्दो अमेरिकी ट्रेजरी प्रतिफलले विश्वव्यापी लगानी वातावरणमा सुधार ल्याएको भन्दै भारतीय सेयर बजारको सकारात्मक गति कायम रहने विश्वास व्यक्त गरेका छन्।














प्रतिक्रिया