सहमतिको मसी नसुक्दै रास्वपासँग बिच्किए कुलमान, दोस्रो तह नेता एकता भाँड्न सक्रिय भएको आरोप « Khabarhub

सहमतिको मसी नसुक्दै रास्वपासँग बिच्किए कुलमान, दोस्रो तह नेता एकता भाँड्न सक्रिय भएको आरोप



काठमाडौं– उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच हुने भनिएको एकीकरण अझै अन्योलमा छ । दुई पक्षबीच एकीकरणको सहमति भए पनि अझै कयौँ मतभिन्नता कायमै रहँदा सहयात्रामा जटिलता देखिएको हो ।

दुई पक्षबीच मुद्दामा एकरूपता भए पनि पद विभाजनमा कुरो नमिल्दा एकता अन्योलमा परेको छ ।

सार्वजनिक प्रश्न उठेपछि तीनवटा मन्त्रालय सम्हालेका उज्यालो नेपालका नेता कुलमान घिसिङले बुधबार सरकारबाट राजीनामा दिएका छन् । यद्यपि उनले मंगलबार इन्जिनियरहरूको एक कार्यक्रममा आफू कुनै पार्टीको सदस्य बनिनसकेको बताएका थिए । तर प्रधानमन्त्री सुशीला कार्कीले बर्खास्त गर्ने अवस्था आउनुअघि नै उनले राजीनामा दिएका हुन् ।

गत पुस १४ गते बेलुका कुलमानलाई बौद्धको एक होटलबाट टिपेर जेन-जी अभियन्ता सुदन गुरुङले रवि लामिछाने र बालेन साह बसेको कमल पोखरीस्थित घरमा पुर्‍याएका थिए ।

त्यसपछि त्यही उनीहरूबीच पार्टी एकतामा सहमति भएको थियो । जुन सहमतिअनुसार कुलमान रास्वपाको दोस्रो वरीयतासहित उपसभापति हुने उल्लेख थियो । तर त्यसबेला गरेको एकता अहिले कुलमानका लागि घाँडो भएको छ । तीनवटा मन्त्रालयसहित सरकारमा रहेका उने तीन महिनामै मन्त्री पदबाट हात धुनु परेको छ।

त्यबसेला उज्यालो नेपाललाई रास्वपामा विलय गराउँदा अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए। जसमा कुलमानलाई रास्वपा सभापति रवि लामिछानेपछिको वरीयता र उपसभापति पद दिने सहमति भएको थियो । अन्य पदहरूबारे एकता प्रक्रियापछि आयोजना घोषणा सभामा सार्वजनिक गरिने सहमति भएको थियो । 

‘अहिले अन्यौलता नै देखिएको छ। एकता टुक्रिन पनि सक्छ। मुद्दामा पनि सुरूमै रास्वपाले आलटाल गर्‍यो ।  नेतृत्व व्यवस्थापनमा पनि अहिले आलटाल भएको छ। समानुपातिकमा जित्ने ठाउँमा हाम्रा मान्छे पारिएको छैन,’ उज्यालो नेपालका एक नेता भन्छन्, ‘केन्द्रीय समितिमा पहिला २१ जना समावेश गर्ने भनिएको थियो, अहिले १५ जनाबाट घटाउन थालिएको छ। प्रत्यक्षमा पनि जित्ने स्थानमा रास्वपाकै मान्छे राख्ने अवस्था छ। सल्लाह नगरी प्रत्यक्षतर्फ मनोमानी उम्मेदवार उठाउने तयारी गरिएको छ ।’

हतारमा गरिएको एकतालाई पनि कार्यान्वयनमा लैजान रास्वपाले आलटाल गरेपछि अहिले उज्यालोका नेताहरू आक्रोशित छन् । रास्वपाले सम्मानपूर्वक ठाउँ नदिँदा नेताहरू क्रुद्ध हुँदै गएका छन् ।

उज्यालो नेपालले रास्वपासँग पूरक सहमति गरेर संघीयता, धर्मनिरपेक्ष राज्य , गणतन्त्र, बहुसंस्कृतिवाद, राष्ट्रिय एकता संघीय लोकतान्त्रिक समावेशिता र समानुपातिकतालाई स्पष्ट किटान गर्नुपर्ने माग राखेको थियो ।

यस मागबारे केही दिनअगाडि राष्ट्रिय स्वतन्त्र पार्टी सकारात्मक देखिएर विधान र घोषणापत्रमा समेट्ने र पूरक सहमतिमा उल्लेख गर्ने बताएको थियो । तर रास्वपा अहिले त्यो सहमतिबाट पनि पछि हट्न खोजेको संकेत कुलमानले पाएका छन् ।

‘मुद्दा मिलिसकेको थियो तर कहाँबाट भाँडियो ? त्यसबारे खोजीनिती गरिरहेका छौँ’, उज्यालोका एक केन्द्रीय सदस्य भन्छन्, ‘कुलमानजीले बिहीबार बिहान गरेको रिपोर्टिङ अनुसार पूरक सहमति तथा पार्टी विधान र घोषणापत्रमा यी कुरा राख्न आलटाल गरिरहनुभए छ । एकता घोषणा नहुँदै टार्ने काम भएपछि दुईवटा विकल्प सोच्न थालेका छौँ । पहिलो, हामी आफैँ अगाडि बढ्ने । दोस्रो, पूरक सहमति गरेर सम्मानजनक अवस्था आएमात्रै रास्वपामा जाने ।’

कुलमान-रवि ‘वान टु वान’ बस्दै

सहमति कार्यान्वयनमा आलटाल गरिएपछि बिहीबार रास्वपा सभापति लामिछाने र उज्यालोका नेता घिसिङबीच वार्ता हुन लागेको छ । 

बिहीबार बिहान केन्द्रीय समिति बैठक राखेका कुलमानले अपराह्न ४ बजेपछि लामिछानेलाई भेटेर निर्णायक छलफल गर्ने तयारी गरेका छन् । उनले त्यसपछि कसरी अगाडि बढ्ने विषयमा निर्णय लिनेछन् ।

लामिछाने चितवन गएका छन् । अपराह्न ४ बजेपछि उनी काठमाडौँ फर्किने तयारी छ । त्यसपछि घिसिङसँग बस्ने जानकारी आफूहरूलाई आएको रास्वपा सचिवालयका एक सदस्यले बताए ।

‘हामी आज निर्णायक बैठक बसेपछि सम्मानजनक अवस्था भए पूरक सहमति गरेर जाने निर्णय गरेका छौँ’, रास्वपाका एक नेता भन्छन्, ‘कुलमान दाइसहित अहिले हामीले हाम्रो केन्द्रीय कमिटी बैठक सकेका छौँ । बौद्धको केन्द्रीय कमिटी बैठकले लचिलो भएर नगई सहमति कार्यान्यनमा आलटाल गरिए एक्लै अघि बढ्न सक्ने निर्णय गरेको छ ।’

कच्चा सहमति गरेको स्वीकारोक्ति

बौद्धमा बसेको उज्यालो नेपालको केन्द्रीय कमिटी बैठकमा कुलमानले पनि हतारमा कच्चा सहमति गरेको बिहीबार स्वीकारेका छन् । उनले सहमतिअनुसार रास्वपा अगाडि बढ्ने विश्वासमा परेर हतारमा सहमति गरेको बताए ।

‘जसले हामीलाई प्रत्यक्षमा सघाउँछन् र हाम्रो मुद्दा मिल्छ। उनीहरूसँग सहकार्य गरेर अगाडि जाऊँ, कच्चा सहमतिमा लचिलो भएर रास्वपामा जानुको औचित्य नहुने सल्लाह भएको छ’, उनेपा केन्द्रीय समिति बैठकबारे ती नेताले भने, ‘मधेशवादी दल र प्रगतिशील लोकतान्त्रिक पार्टी पनि छलफलमा रहेको कुरा सार्वजनिक भइसकेको छ। जनार्दन शर्मा र सुदन किराँतीहरूसँग पनि कुरा भइरहेको छ। मधेशकेन्द्रित दलहरूले पनि उज्यालोसँग सहकार्यका लागि प्रस्ताव गरिरहेको ब्रिफिङ बैठकमा भएको छ ।’
 
रास्वपा के भन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीका दोस्रो तहका नेताहरू कुलमानलाई विधान संशोधन गरेर अब थप एक महामन्त्री र एक उपसभापति दिने विषयमा सहमतिका लागि तयार छैनन् । सभापति लामिछानेले यसबारे उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालसँग छलफलमा छन् । उनीहरू यसमा सहमत नभएको रिपोर्टिङ उनेपामा पुगेको छ।  

यस्तै महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि कुलमानलाई थप एक उपसभापति र महामन्त्री दिएर पार्टीमा स्थान दिन नसकिने अडान लिएको स्रोतको दाबी छ ।

यता उज्यालो नेपाल पनि दुवै विकल्पमा छलफलमा छ। ‘रास्वपामा रहेको खण्डमा के गर्ने, नरहेमा के गर्ने भन्ने दुवै विकल्प हामीले सोचिसकेका छौँ’, कुलमाननिकट ती नेता भन्छन्, ‘सबै केन्द्रीय सदस्यको विचार चाहिँ दुवै विकल्प राखेर छलफल गर्नुपर्ने थियो। कुलमान दाइले पनि यही कुरा गर्नुभएको छ ।’ 

यता रास्वपा उपसभापति अर्याल कुलमानसँगको एकताबारे छलफल भइरहेको बताउँछन् । ‘उहाँहरूसँग एकता हुन्छ होइन, एकता भइसकेको छ । कसरी अगाडि बढ्ने विषयमा छलफल गरिरहेका छौँ । केही दिनभित्रमै सबै कुरा सहमतिमा टुङ्गिन्छन् । सहमति पत्र तयार भइरहेका छन्, हामी काम गरिरहेका छौँ’, उनले भने । 

तर कुलमान पक्षीय नेताहरूले पूरक सहमतिका लागि पत्र तयार नभएको र पद पनि दिन रास्वपाले नमाने जस्तो गरेको स्थितिलाई लिएर उज्यालोको बैठकमा समीक्षा गरेका छन् ।

‘सहमति कार्यान्यवन हुन नदिन रास्वपाका दोस्रो तहका नेताहरू तगारो बनेको रिपोर्टिङ कुलमान दाइले केन्द्रीय सचिवालय बैठकमा गर्नुभएको छ। बिहीबार रवि र कुलमानजीको वार्ता हुँदैछ’, उज्यालोका नेता भन्छन्, ‘रास्वपा दोस्रो तहका नेताहरूलाई अरु आउँदा आफ्नो स्थान गुम्ने डर देखियो । मुद्दामा कुरा मिलिसकेको थियो तर रास्वपाको दोस्रो तहका नेताले फेरि बिथोल्ने प्रयत्न गरिरहेको रिपोर्टिङ हामीलाई प्राप्त भएको छ । पूरक सहमति नभएकाले सोच्नुपर्ने अवस्था आएको छ ।’

उज्यालो नेपालसँगको एकतालाई लिएर रास्वपा नेताहरूले प्रश्न गरिरहेको रिपोर्टिङ बैठकमा भएको थियो ।

रास्वपा नेताहरू केन्द्रीय सदस्य दिँदा र प्रत्यक्षमा उठाउँदा पनि सल्लाहमार्फत् टुङ्ग्याएर जाने तयारी गरिरहेको बताउँछन् ।

‘सरकारको मन्त्री भएपछि कुलमानजीसँग थप कुरा हुन पाएको थिएन । मन्त्रीबाट बिदा हुनुभएपछि उहाँहरू बसेर केही निर्णय गरेर जानुहोला’, रास्वपाका ती नेता भन्छन्, ‘पूरक सहमति हुन्छ । उहाँहरूलाई सम्मानजनक स्थान पार्टीमा दिन तयार छौँ ।’

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  ४ : ३० बजे

कांग्रेस ललितपुरले जारी गरेको विवादित विज्ञप्तिप्रति आपत्ति

काठमाडौं – ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र कुमार श्रेष्ठले

देशभरीबाटै हिँड्न थाले कांग्रेस महाधिवेशन प्रतिनिधि, ७ भाइको काउन्टरले कति असर गर्ला 

काठमाडौं– नेपाली कांग्रेसको ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले पुस २७ र

देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा नजाने

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश घुमेर मात्रै

टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित

चौतारा– यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसान टिप्ने बेलाको सुन्तला

अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा

एजेन्सी– उत्तरी सिरियाली सहर अलेप्पोमा सरकारी सेना र कुर्दिश लडाकूहरूबीच