सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा ! « Khabarhub

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

अझै भन्छन् : एमाले मेरो कारण होइन, अल्गोरिदमले हार्‍यो



काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी आन्दोलनका कारण राजनीतिक जीवनकै सबैभन्दा संकटमा परेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अहिले करिब करिब एक्लो बन्न पुगेका छन् ।

भदौ २४ गते नेपाली कांग्रेस र नेकपा एमालेको शक्तिशाली सरकार ढलेसँगै सबैभन्दा आलोचित पात्र बन्न पुगेका ओली पार्टी जीवनकै सबैभन्दा संकटपूर्ण अवस्थामा छन् यतिबेला ।

पूर्वप्रधानमन्त्री ओलीमाथि जेन-जी आन्दोलनमा दमन गरेको आरोपसहित प्रधानमन्त्री वालेन्द्र शाहले तत्कालीन गृहमन्त्री सुधन गुरूङ लगाएर गत चैत १४ गते पक्राउ गराएका थिए । त्यसको १३ दिनसम्म हिरासतमा बसेर उनी चैत २६ हाजिरी जमानीमा रिहा भए ।

तर विभिन्न ६ वटा गम्भीर रोगको सामना गर्नुपर्दा त्रिवि शिक्षण उनी अस्पतालमै बसे। उनी चैत १४ देखि नै त्रिवि शिक्षण अस्पतालमा बसे। जिल्ला प्रहरी परिसरको भौतिक हिरासतमा नबसे पनि ओलीलाई १३ दिनसम्म अस्पतालकै बेडमा प्रहरी निगरानीमा बसे ।

चैत २६ गते हाजिरी जमानीमा रिहा भएका उनी त्यसपछि अझै वैशाख ५ सम्म अस्पताल बसे। अर्थात् अस्पतालबाट ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भए । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास पुगे ।

अहिले पनि उनी गुन्डुमै आराम गरिरहेका छन् । तर उनको मनको बेचैनी भने भेट्न आउनेसँग निरन्तर पोखिरहेका छन् ।

चैत १४ गते पक्राउ पर्नुअघि भेट्न पुगेका महासचिव शंकर पोखरेलले उनलाई करिब एक घण्टासम्म सम्झाएर निकास दिन-विश्राम दिन आग्रह गरे। एक्लै बोलेका पोखरेलले घुमाउरो भाषामा अब नेतृत्व छाड्न भनेपछि कुनै जवाफ नदिएका ओली त्यसयता निरन्तर आफ्नो बचाउको योजना बनाएर बसेका छन् ।

‘त्यसबेला महासचिव कमरेडले सिधै नेतृत्व छोड भन्नु भएको थिएन। उहाँले अब परिस्थिति पनि पार्टीबाट बाहिर गइसकेको अवस्थामा अध्यक्षले निकास दिनुपर्ने कुरा उहाँको थियो’, पोखरेलका एकजना सहयोगीले भने, ‘महासचिव कमरेडले निकास दिन आग्रह गर्दा ओलीले कुनै जवाफ दिनु भएन । बरू महासचिवलाई बैठक कक्षबाट बिदा नगरी अर्को समूह बोलाएर छलफल गर्न थाल्नु भयो । त्यसपछि महासचिव उठेर हिँड्नु भयो ।’

पोखरेलको सन्देश बुझेपछि क्षुब्ध भएका ओलीले उनकै विरोध गरिरहे । चैत १४ मा पक्राउ नपरेसम्म उनले महासचिव नै आफूविरुद्ध लागेको भन्दै आक्रोश पोखिरहे ।

हुन पनि पछिल्लो समय पार्टी जोगाउनुपर्ने भन्दै महासचिव पोखरेल र उपाध्यक्ष विष्णु पौडेल एक ठाउँमा रहेका छन् । लुम्बिनीको एकै भूगोलका यी नेता ओलीलाई बिदा गरेर नेतृत्व आफूहरूको पोल्टामा ल्याउन चाहन्छन् । तर एमालेमा अहिले उनीहरूभन्दा तलको पुस्ताले नेतृत्वको सम्हाल्नुपर्ने आवाज चर्को रुपमा उठेको छ।

महासचिव पोखरेलका लागि गत मंसिरमा भएको एघारौँ महाधिवेशनबाटै ओलीलाई बिदा गर्ने मौका थियो । त्यो मौका तत्कालीन उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र उपाध्यक्ष पौडेलले पनि खेर फ्याँके । त्यसबेला इतर समूहमा रहने चर्चाबीच यी दुई नेता ओली प्यानलमा खुलेर आफूलाई समेत सुरक्षित गर्दै वरिष्ठ उपाध्यक्ष ईश्ववर पोखरेल समूहलाई बढार्न सफल भए।

तर अहिले तिनै नेताहरू फागुन २१ को चुनावमा पार्टी नौ सिटमा खुम्चिएपछि ओलीलाई बिदा गर्ने एजेन्डा बोकेर हिँडिरहेका छन् । आफ्ना विश्वासपात्र महेश बस्नेत धादिङकी शोभा पाठक प्रकरणमा निरन्तर विवादित भइरहेपछि ओलीसँग अहिले पदाधिकारीहरूको सिंगो पंक्ति नै साथमा देखिँदैन।

अहिलेलाई ओलीको रक्षाका लागि उनै सचिव बस्नेत, उपाध्यक्ष बादल र उपमहासचिव लेखराज भट्टहरू मात्रै उभिने अवस्था छ । अन्य सबै पदाधिकारी अहिले ओलीलाई बिदा गर्ने पक्षमा देखिएका छन् । लुम्बिनी भूगोलमा एकअर्काका विपक्षी पोखरेल र पौडेल पनि ओली हटाउने पक्षमा जुटेका छन्।

महाधिवेशनमा आफ्नै पदाधिकारीहरू आफ्नैहरू टाढिएर ओली एक्लो बनेको दृश्य यही बुधबार भक्तपुरको गुन्डुस्थित उनको निवासमा देखियो । जहाँ एमाले सुदूरपश्चिम र प्रदेश सभामा देखिएको किचलोको निकासका लागि ओलीले नेताहरूलाई झिकाएका थिए ।

गुन्डुमा देखिएको उक्त दिनको अनौठो दृश्य के थियो भने, ओलीले विश्वास गरेका कुनै नेता त्यहाँ देखिएनन् । ओलीका विश्वास पात्रमध्ये महासचिव शंकर पोखरेल र सचिव महेश बस्नेतसमेत उक्त बैठकको दृश्यमा थिएनन् । अर्थात्, ओली एक्लैले सुदूरपश्चिममा प्रदेश सभा सदस्य र नेताहरूसँग संवाद गरे ।

खासमा सुदूरपश्चिम प्रदेशसभामा अहिले एमाले नै आन्तरिक शक्ति संघर्षमा फसेको छ। त्यहाँ राजेन्द्र रावललाई संसदीय दलको नेताबाट हटाउने र बचाउने पक्षमा एमाले विभक्त छ ।

यही विवादबीच अस्वस्थ रहेका ओलीलाई भेट्न सुदूरपश्चिम प्रदेश सभाका ११ सांसदसहित केही नेता गुन्डु छिरे । अचम्म के भयो भने सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको बैठक भनेर गुन्डुमै बोलाइएको थियो ।

बैठकको मुख्य एजेण्डा सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतृत्व परिवर्तन थियो। तर त्यस दिन कुरा मिल्न सकेन । ५३ सदस्यीय प्रदेश सभामा एमालेका ११ जना छन् ।

वर्तमान संसदीय दलका नेता राजेन्द्रसिंह रावलप्रति पार्टी पंक्ति असन्तुष्ट छ । त्यही कुरा मिलाउन ओलीले उनीहरूलाई गुन्डु डाके । उक्त दिन गुन्डुबाटे दलको नेता छान्ने भनिए पनि त्यसो हुन सकेन । दलको नेतामा वर्तमान उपनेता सन्तोष शर्मा थापा, चक्र मल्ल, वीरबहादुर थापा र धर्मराज पाठक दौडमा थिए ।

दलको नेताका दाबेदार शर्मा र मल्ल एमालेका केन्द्रीय सदस्य हुन् । रावल ११ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा हारेका थिए । बुधबार कुरा मिल्न नसकेपछि ओलीले शुक्रबारलाई शीर्ष नेता झिकाएका छन् ।

ओलीलाई भेट्न शुक्रबार उपमहासचिव लेखराज भट्ट, दलका नेता राजेन्द्र रावल, प्रदेश संयोजक गणेश ठगुन्ना, नेता दामोदर भण्डारी र प्रदेश अध्यक्ष कृष्णप्रसाल जैसीसहित शुक्रबार गुन्डु जाने तालिका छ । सुदूरपश्चिम पार्टीको कुनै भूमिकामा नरहेका दामोदर डाकिएपछि पूर्वअध्यक्ष कर्णबहादुर थापालाई नबोलाएकोमा एमालेको अर्को पंक्ति रिसाएको छ।

ओलीको रोष

बुधबार पार्टीका कुनै पदाधिकारी र सहयोगी नबोलाई सुदूरपश्चिमका नेतासँग बसेका ओली क्रुद्ध देखिन्थे । फागुन २१ को चुनावमा भएको हारको दोष आफ्नो थाप्लोमा थोपरेर अध्यक्षबाट बिदा गर्न खोज्नेहरूप्रति ओलीले निकैबेर तितो पोखे ।

‘उहाँ आफ्नै सहयोगी र पार्टी पदाधिकारीहरूसँग पनि एकदमै आक्रोशित देखिनु भयो’, भेटमा सहभागी एकजना प्रदेशसभा सदस्यले खबरहबलाई भने, ‘फागुन २१ को चुनाव आफ्ना कारण एमालेले नहारेको उहाँले बताउनु भयो । उहाँ नेतृत्व छाड्ने मुडमा हुनु हुन्न। उहाँका कुरा सुन्दा पार्टी सचिवालय नभए केन्द्रीय कमिटी फेस गर्छु भनिरहनु भएको थियो।’

ओलीले उक्त भेटमा फागुन २१ को चुनाव फेसबुकको अल्गोरिदमले हराएको निष्कर्षसमेत सुनाउन भ्याए । ‘मेरो कारण चुनाव हारेको भन्छन्, तर जिल्ला, पालिका र वडामा पनि त पार्टीका अध्यक्ष थिए नि ! त्यहाँचाहिँ कसले हराएको हो त ?’, ओलीको प्रश्न उद्धृत गर्दै ती नेताले भने, ‘तलैसम्म हाम्रो पार्टी कमिटी थियो नि ! मेरो मात्रै होइन, तलका कमिटी पनि चुनाव हार्नुको कारणका भागीदार हुन् ।’

उता उनले राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी हतियार बनाएको भन्दै फेसबुकबारे पनि बोले । ‘मेरो कारण चुनावमा एमाले हारेको होइन। तलसम्म अरू पनि थिएन नि । पार्टी तिनका कारण पनि हारेको हो । म त केन्द्रको मात्रै अध्यक्ष हो’, ओलीले भने, ‘फेसबुकको अल्गोरिदमले पनि एमालेलाई हराएको हो।’

सचिवालय छल्ने योजना

गुन्डु पुगेका एमालेका अर्का नेताका अनुसार ओलीले पदाधिकारीहरूलाई केन्द्रीय कमिटीबाट अनुमोदित भएर देखाइदिने योजना सुनाएका छन् ।

‘महासचिव र उपाध्यक्षहरूसहित अधिकांश पदाधिकारी विपक्षमा रहेको हिसाब गर्नु भएका अध्यक्ष ओलीले सकेसम्म सचिवालय बैठक छल्ने योजना बनाएको हामीले बुझ्यौँ, उहाँ सचिवालय नडाकी सिधै केन्द्रीय कमिटी बसाउने मुडमा हुनु हुन्छ’, ती नेताले खबरहबलाई भने, ‘बिरामी शरीर भए पनि उहाँ दबाब नसुनी केन्द्रीय कमिटीबाट बहुमत जुटाउने दाउमा रहेको देख्यौँ ।’

ओलीले त्यही सन्देश नेताहरूलाई दिने गरेका छन् । भदौको आन्दोलन र फागुन २१ को चुनावी नतिजाको दोष अझैसम्म आफूले लिन नचाहेका उनी नेतृत्व सजिलै हस्तान्तरण गरेर बिदा हुने पक्षमा छैनन् । त्यहीकारण उनी प्रदेशका नेताहरू बोलाउँदै बाक्लो छलफल गरिरहेका छन् ।

उनले केन्द्रीय कमिटी सदस्यहरूलाईसमेत बोलाउँदै गुन्डुमै एक्लै अन्तरक्रिया बढाइरहेका छन्। यसअघि ओलीले राख्ने हरेक छलफलमा कुनै न कुनै पदाधिकारी हुन्थे। तर अचेल उनी एक्लै छलफलमा बसिरहेका छन् । अर्थात्, उपाध्यक्ष विष्णु पौडेल त उनको राडारबाट बाहिर गएको धेरै भइसक्यो, अब महासचिव शंकर पोखरेलसँग पनि उनी सशंकित भइरहेका छन् ।

प्रदेश सरकारसँग विरक्ति

ओलीले गुन्डुमा पुगेका नेताहरूसँग अब प्रदेश सरकारबारे पनि सोच्ने बेला आएको बताइरहेका छन् । विशेष गरेर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई लिएर उनको तिखो असन्तुष्टि छ ।

उता सुदूरपश्चिममा पनि कांग्रेसबाट मुख्यमन्त्री रहेका कमल शाहले सोचेजस्तो काम गर्न नसकेको उनको दाबी छ। ओलीले सुदूरपश्चिममा कांग्रेसले गठबन्धनको सहमतिअनुसार नचलेको आरोप लगाए । उनले सहमतिअनुसार कांग्रेस नचलेकाले पाँच वर्षका लागि गरिएको सहमतिबारे अब सोच्ने बेलाए आएको कुरा नेताहरूलाई सुनाए ।

उता कोशीका मुख्यमन्त्रीसमेत रहेका एमाले सचिव हिक्मत कार्कीले पनि राम्रोभन्दा नराम्रो गर्दै हिँडेको दिक्दारी ओलीले नेताहरूलाई सुनाए । खासमा पछिल्लो समय ओलीलाई बिदा गर्नुपर्ने पक्षमा कार्की पनि देखिएका छन् । उनी एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीसँग पनि उत्तिकै निकट छन् ।

‘कोशीमा हिक्मत कार्कीले पनि सोचेजस्तो काम गर्न सकेनन् । भन्न त हामीले पाँचै वर्ष चलाउन भनेका हौँ । तर उनको काम चित्त बुझ्दो भएन’, ओलीले यसरी सुनाए, ‘अब कोशी र सुदूरपश्चिमबारे हामीले सोच्ने बेला आएको छ। यसबारे चाँडै निर्णय लिनेछौँ ।’

ओली यी दुवै प्रदेशमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपासँग मिल्न चाहन्छन् । खासगरी गगन थापा कांग्रेसको नेतृत्वमा आएसँगै ओलीले अब उक्त दलसँग सहकार्य अघि नबढ्ने निष्कर्ष निकालेका हुन् । फागुन २१ को चुनावमा तालमेलका लागि ओली तयार भए पनि गगनले अस्वीकार गरिदिएका थिए।

तर उता महासचिव शंकर पोखरेल भने अहिले पनि कांग्रेससँग संवादमा छन् । उनी कांग्रेससँग २०८१ असार १७ गते भएको सहमतिअनुसारकै विश्वास कायम गरेर जानुपर्ने बताउँछन् ।

त्यहीअनुसार उनी कांग्रेसका नेताहरूसँग संवाद गरिरहेका छन् । अहिले ओली नेकपासँग र पोखरेल कांग्रेससँगको संवादमा रहँदा दुईजनाबीच झन् ठूलो विरोधाभाष देखिएको छ।

अन्य दलसँगको सहकार्यबारे नेतृत्व तहमै विरोधाभाष देखिइरहेका बेला ओलीलाई बिदा गर्ने उपाय पनि खोजी भइरहेको छ। एमालेमा पनि कांग्रेसमा जस्तै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा जानुपर्ने मत बलियो हुँदै गएको छ।

पुनर्गठन दबाब

यता एमालेको एउटा पंक्तिले वर्तमान केन्द्रीय कमिटी विघटन गरी बाहिरबाट समेत समेटेर तदर्थ कमिटी गठन गर्नुपर्ने आवाज उठाएको छ। एमाले केन्द्रीय सदस्य झपट रावलसहितका नेताहरूले ११ वैशाखमा काठमाडौंमा भेला गरेर विशेष महाधिवेशनको माग गरेका छन्। उनीहरूले प्रदेश र जिल्ला कमिटीहरू समेत विघटन गरेर नयाँ संरचना बनाइनुपर्ने र संगठित सदस्यताको पुनः छनबिन तथा नवीकरण गरिनुपर्ने माग उठाएका छन् ।

त्यस भेलामा नेताहरूले पार्टी ‘कहिले माओवादी, कहिले कांग्रेस, कहिले अन्य साना दलजस्तो’ शैलीमा चलाइएको टिप्पणी पनि गरेका थिए। यसअघि पनि नेताहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेका थिए । पछिल्लो समय बालेन शाह नेतृत्वमा नयाँ सरकार गठनपछि अध्यक्ष ओली पक्राउ परेको घटनाले पार्टीभित्र पुनर्गठनको आवाज चर्किएको छ।

पार्टीका केन्द्रीय पदाधिकारीहरूकै एक हिस्सा एमाले पुनर्गठनको पक्षमा देखिएका छन् । सचिवालयस्तरमै यसबारे बहस तीव्र बन्दै गएको छ । सर्वोच्च अदालतको आदेशसँगै पत्थरीको शल्यक्रियापछि अध्यक्ष ओली अझै पूर्ण सक्रिय हुन सकेका छैनन् । राजनीतिक र शारीरिक दुवै हिसाबले समस्यामा परेका ओलीलाई बिदा गरेर नयाँ नेतृत्व ल्याउनुपर्ने आवाजबीच उनी प्रतिरक्षा योजना बनाउन लागेका हुन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ७ : ०८ बजे

अमेरिका–इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि थप गर्ने

नयाँ बजेटले उद्योगी व्यवसायी उत्साहित

चितवन– सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि सार्वजनिक गरेको बजेटपछि

विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो

कञ्चनपुर– कृष्णपुर नगरपालिका-१ दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको

अफगानिस्तानको जलालाबादमा ट्रक दुर्घटना, १८ जनाको मृत्यु

एजेन्सी– पूर्वी अफगानिस्तानमा शनिबार एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा ट्रकमा

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा