काठमाडौं- ‘आफन्त भेट्न आउनुभएको हो ?’ कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रम पुग्दा त्यहाँ पहरा दिइरहेका सुरक्षाकर्मीले रुखो स्वरमा सोधे ।
कीर्तिपुरको वंशीघाटमा रहेको यो आश्रमलाई काठमाडौं उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीका विस्थापितलाई राख्ने होल्डिङ सेन्टरमा परिणत गरिएको छ ।
सुकुम्वासी बस्तीमा डोजर लगाएर घरवारविहीन बनाइएका ६५ घरधुरीका २ सय ७७ जना हाल यस आश्रयस्थलमा छन् ।
‘नाम टिपाएर मात्र जानुस्,’ गेटमा पुग्नेबित्तिकै सुरक्षाकर्मीले रोके ।
‘म मिडियाबाट हो, रिपोर्टिङका लागि आएको’, मैले जवाफ दिएँ । मेरो भनाइ सुन्नासाथ उनीहरूले उस्तै पारामा ठाडो प्रश्न गरे, ‘यहाँ के गर्न आउनुभएको ? रिपोर्टिङ नै गर्ने भए मोबाइल, ब्याग सबै यहीँ राखेर मात्रै भित्र जान पाइन्छ ।’
मैले ब्याग त राख्न मानिनँ, तर मोबाइल बुझाउनैपर्ने बाध्यता आइलाग्यो । भित्र छिरेपछि बल्ल थाहा पाइयो- यो सुरक्षाका लागि मात्र थिएन, त्यहाँको विरक्तलाग्दो वास्तविकता लुकाउने प्रपञ्च पो रहेछ ।
सुरक्षाकर्मीले भनेअनुसार मोबाइल बुझाएर भित्र जान खोजेँ । आश्रमको गेटबाट भित्र छिर्नासाथ एक जना महिला नगर प्रहरी मेरो पछि लाग्न थालिन् ।

ती प्रहरीलाई मेरो पछिपछि खटाउनुको एउटै उद्देश्य थियो- सुकुम्वासीहरूले त्यहाँको व्यवस्थापनबारे पत्रकारसँग केही नराम्रो नबोलून् ।
भयो पनि त्यस्तै । जबसम्म ती महिला प्रहरी मसँगै थिइन्, कसैले गुनासो गर्ने आँट नै गरेनन् । सबैले एउटै जवाफ दिए- ‘सबै राम्रो छ, बिहान बेलुका खाना दिएकै छ, चाहिएको औषधि पनि पाएका छौँ ।’
जवाफ सुन्दा यस्तो लाग्थ्यो कि प्राथमिक तहका विद्यार्थीले गणितको सुत्र कण्ठस्थ पारेजस्तो उनीहरुलाई पनि पत्रकारलाई यस्तो जवाफ दिनुपर्छ भनेर कसैले घोकाएको छ ।
तर, त्यहाँको यथार्थ र उनीहरूको ओठे जवाफबीच आकाश जमिनको फरक थियो । एकातिर टन्टलापुर घाम, त्यसमाथि जस्ताको ठूलो ट्रसभित्र राखिएका केटाकेटी, काखमा दूधे बालख च्यापेर रापिलो घाममा ओहोरदोहोर गरिरहेका आमाहरू, शीतल छहारी खोजिरहेका बूढाबूढी अनि आमाको पछ्यौरी समातेर ‘भोक लाग्यो’ भन्दै छट्पटाइरहेका बालबालिका ।
यस्तो देखेपछि मलाई लाग्यो, यहाँको दैनिकी उनीहरूले भनेजस्तो पक्कै सहज छैन । अन्ततः ती महिला प्रहरीको आँखा छल्दै मैले त्यहाँका भुइँमान्छेहरूसँग एक्लै झन्डै एक घण्टा बिताउने मौका पाएँ । बल्ल त्यसपछि वास्तविकता खुल्दै गयो ।
राधास्वामीले खुवाउँदा राम्रो थियो, महानगरले त निल्नै नसक्ने दियो
रुखको छहारीमा शीतल ताप्दै बसिरहेका पासवान दम्पती भेटिए । उमेरले डाँडा काट्दै गरेका उनीहरूले सबैभन्दा पहिले खानामा दुःखेसो पोखे ।
‘आश्रमले आफैँ खुवाउने बेलासम्म खाना एकदमै राम्रो हुन्थ्यो । नरम भात हुन्थ्यो, बूढाबूढी र केटाकेटी सबैले रुचाउँथे,’ हिरालाल पासवानले मलिन हुँदै भने, ‘अहिले महानगरले खुवाउन थालेदेखि त खाना एकदमै बेस्वाद र अस्वस्थकर छ । केटाकेटी त खानै मान्दैनन्, हामी बूढाबूढीलाई पनि निल्न गाह्रो छ ।’

उनका अनुसार सुरुमा आउँदा राधास्वामीले बिहान चिया–नास्ता, त्यसपछि खाना, दिउँसो चिया पकौडा अथवा भुजाजस्ता खाजा दिन्थ्यो । बेलुका खाना पनि दिने गरेको थियो । तर, अहिले महानगरले दिउँसोको खाजा पूरै बन्द गरिदिएको छ । बिहान–बेलुका दुई छाक खाना मात्रै दिन्छ । त्यो पनि चित्त नबुझ्दो ।
प्रेसरका बिरामी पासवानले नियमित औषधि खानुपर्छ । प्रेसरकै कारण आँखामा समस्या आएपछि भर्खरै शल्यक्रिया गराएका छन् । एकातिर वृद्ध उमेर, त्यसमाथि नियमित औषधि खानुपर्ने दीर्घरोगी अनि भर्खरै आँखाको शल्यक्रिया गराएको बिरामी, यस्तो अवस्थामा पौष्टिक आहार पाउनु त परको कुरा, पासवानलाई दुई छाक मिठो खान पनि सकस छ ।
त्यस्तै, राधास्वामीमै आश्रित डम्बर तामाङको गुनासो केही फरक छ । उनका अनुसार त्यही बेस्वादको खाना पनि भनेको बेला पाइँदैन । ज्याला मजदुरीका लागि बिहानै हिँड्नेहरू खाना खाने समय १० बजेसम्म आइपुगेनन् भने भोकै बस्नुपर्छ, खाना पाइँदैन ।
लामो समय थापाथली सुकुम्वासी बस्तीमा बसेका तामाङ अहिले श्रीमती र दुई छोरीसहित यहाँ कोचिएका छन् । उनी आफैँ आँखा कम देख्छन् । चेकजाँच गर्दा रेटिनामा समस्या देखिएपछि चिकित्सकले शल्यक्रिया गर्नुपर्छ भनेका छन् ।
तर, उनीसँग शल्यक्रियाका लागि पैसा छैन । मुटुरोगी उनकी श्रीमतीको पनि भर्खरै अपरेसन गरिएको छ । यसले गर्दा उनी काममा जान सक्दिनन् । ‘म आफैँ आँखा देख्दिनँ, श्रीमती बिरामी छिन्, अब छोरीहरू कसरी पाल्ने ?’ तामाङले आफ्नो बाध्यता सुनाए ।

मिडियासँग पनि आक्रोश
होल्डिङ सेन्टरमा बस्नेहरू राज्यसँग मात्र होइन, रिपोर्टिङमा आउने मिडियाकर्मीसँग पनि उत्तिकै आक्रोशित रहेछन् ।
मिडियासँग बोल्दा आफूहरूले राम्रा–नराम्रा सबै कुरा राखेपनि मिडियाले चाहिँ भाइरल हुने शब्द मात्रै काटेर राख्ने गरेको उनीहरुको भनाइ छ । उनीहरु आफूले पोखेका गुनासा र दुःखका कुरा भने मिडियाले नराख्ने गरेको बताउँछन् ।
दुई छोराछोरीका साथमा बसिरहेकी रञ्जुदेवी साहले यस्तै आक्रोश पोखिन् । छोरी गर्भमा हुँदा उनका श्रीमान् बेपत्ता भए । आज छोरी १५ वर्ष पुग्दा समेत श्रीमानको अत्तोपत्तो छैन ।
अरूको घरमा काम गरेर, जस्ताको टहरो बनाएर उनले छोराछोरी हुर्काइन्, पढाइन् । अहिले त्यही टहरो पनि सरकारले भत्काइदियो ।
‘अहिले छोराछोरी स्कुल जानै मान्दैनन्, आफूले पनि काम पाएको छैन’ साहले भनिन्, ‘मिडियामा बोल्दा मैले ठट्टा गरेर बालेन मेरो जेठाजु पर्छन् भनेकी थिएँ । मिडियाले अरु सबै कुरो काटेर त्यही एउटा शब्दलाई मात्र भाइरल बनाइदियो । मेरो वास्तविक दुःख कसैले हाल्दै हालेन ।’
सुत्केरी र बालबालिकाको कन्तबिजोग
होल्डिङ सेन्टरका व्यवस्थापक र सुरक्षाकर्मीहरूको दाबी सुन्ने हो भने यहाँ एक वर्षमुनिका बच्चालाई खुवाउनका लागि सेर्लेक्स बाँडिएको छ, सुत्केरीहरूका लागि आवश्यक पोषिलो खानेकुरा बाँडिएको छ ।
तर, होल्डिङ सेन्टरभित्रको यथार्थ भने ठ्याक्कै उल्टो छ । बच्चाका लागि डाइपर र सेर्लेक्स दिए पनि आमाहरूलाई केही दिइएको छैन ।
होल्डिङ सेन्टरको हातामा छ महिने दूधे बालख काखीमा च्यापेर, हातमा चाउचाउको पोका समातेकी एक जना आमाले भनिन्, ‘साह्रै भोक लाग्यो भने पल्लो टेन्टमा ग्यास छ, त्यहीँ पकाएर खान्छु ।’
उनी सँगैकी अर्की महिलाले थपिन्, ‘भर्खरकी सुत्केरीको टेन्टमा ग्यास र खानेकुरा दिइएको छ, त्यहीँ गएर पकाएर खानू भन्छन् । तर, बारम्बार अर्काको कोठामा कसरी जानु ?’
स्कुले केटाकेटीको समस्या पनि उस्तै
यहाँ स्कुल जाने बालबालिकाको अवस्था पनि उस्तै छ । बच्चाहरूलाई विद्यालय पठाउनू, ड्रेस दिन्छौँ, इच्छुकले होस्टेल राख्नुस् भन्ने धेरै आश्वासन दिइएको छ । तर, व्यवहारमा भने सुकुम्वासी बस्तीका बच्चा भन्नेबित्तिकै साथीभाइले हेप्ने र शिक्षकहरूले पनि विभेदकारी व्यवहार गर्दै आएको अभिभावकको गुनासो छ ।
एउटी आमाले सुनाएको घटना झन् डरलाग्दो थियो । उनका अनुसार होस्टेल पठाइएका बालकलाई बेड खाली हुँदाहुँदै पनि शौचालय नजिकै लगेर सुताइयो । अपमान सहन नसकेपछि ती बालक भागेर आश्रममै आए । अहिले उनी कतै जान मान्दैनन् ।

यीमध्ये प्रायः सबैले काम नपाएको गुनासो गरे । थापाथलीमा हुँदा ज्याला मजदुरीका लागि मान्छेहरू काम दिन आफैँ खोज्दै आउँथे । तर, अहिले कीर्तिपुरको यो कुनामा आफैँले खोज्दा पनि काम नपाइएको उनीहरूको साझा गुनासो छ ।
यतिकैमा एक जना युवाले खोला छेउबाट ल्याएर फेरि खोला छेउमै राखिएको भन्दै आक्रोश पोखे । ‘खोला किनारबाट ल्याएर खोला किनारमै राख्दा हाम्रो जीवन सुरक्षित भयो त ?’ उनले प्रश्न गरे, खोलाकै किनारमा राख्नु थियो भने हाम्रो पुरानो बस्ती किन हटाइयो ? त्यहाँ कम्तीमा हामीले आफ्नो जीवन आफ्नै तरिकाले बाँच्न त पाएका थियौँ नि !’
उनका अनुसार अहिले एकातिर स्वतन्त्रता खोसिएको छ भने अर्कोतिर पानीको जोखिम पनि उस्तै छ । झरी पर्दा ट्रस छेउमा राखिएका धेरै टेन्टभित्र अहिले पनि पानी पस्छ । अझ, लगातार वर्षा भइरहँदा होल्डिङ सेन्टरमा थापाथली जत्तिकै जोखिम रहेको उनले सुनाए ।
उनले सरकारले चाँडोभन्दा चाँडो वास्तविक सुकुम्वासी पत्ता लगाएर स्थायी व्यवस्थापन गरिदिनुपर्ने माग गरे ।
सुरुमा उनीहरूलाई यहाँ ल्याउँदा सरकारले १५ दिनका लागि मात्र हो, त्यसपछि स्थायी व्यवस्थापन गर्छौँ भनेको थियो । तर आज झन्डै दुई महिना बित्न लाग्दा पनि उनीहरूको स्थायी बसोबासको टुङ्गो लागेको छैन ।













प्रतिक्रिया