काठमाडौं- सात वर्षपछि उत्तर कोरिया पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई प्योङयाङमा भव्य स्वागत गरिएको छ । सोमबार प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदा राष्ट्रपति सी र उनकी पत्नी पेङ लियुआनलाई उत्तर कोरियाली नेता किम जोङ उन र उनकी पत्नी री सोल जुले भव्य स्वागत गरेका थिए ।
उनीहरुलाई स्वागत गर्न प्योङयाङको किम इल सुङ स्क्वायरमा आयोजित विशेष समारोहमा हजारौँ नागरिक, बालबालिका र सैन्य टुकडीको उपस्थिती रहेको थियो । राष्ट्रपति सी र सर्वोच्च नेता किमबीच भएको औपचारिक भेटवार्ताका क्रममा चीन र उत्तर कोरियाबीच रणनीतिक सहयोगलाई सुदृढ बनाउने र एक अर्काको सार्वभौमसत्ता एवं सुरक्षा हितको दृढतापूर्वक रक्षा गर्ने सहमति भएको छ ।
चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार राष्ट्रपति सीले व्यापार, कृषि, निर्माण र प्रविधि लगायतका व्यापक क्षेत्रमा सहयोग विस्तार गर्न चीन इच्छुक रहेको बताएका छन् । जवाफमा उत्तर कोरियाली नेता किमले राष्ट्रपति सीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध निकै मजबुत रहेको प्रष्ट पारेको उल्लेख गरे । उनले चीनसँगको मित्रताको नयाँ युगलाई मजबुत बनाउन तत्पर रहेको बताएका थिए ।
हालैका वर्षहरूमा उत्तर कोरियाले रुसलाई युक्रेन युद्धका लागि सेना र हतियार सहयोग गरेर मस्कोसँगको सम्बन्धलाई बढी प्राथमिकता दिएको चर्चा चलिरहेका बेला यो भ्रमण भएको हो । विश्लेषकहरूका अनुसार उत्तर कोरिया पूर्ण रूपमा रुसमाथि मात्र निर्भर रहन नसक्ने भएकाले उसलाई चीनको पनि उत्तिकै साथ चाहिएको छ । यस भ्रमणलाई उत्तर कोरियामाथि बेइजिङको परम्परागत र विशिष्ट प्रभाव पुनः स्थापित गर्ने बलियो प्रयासका रूपमा हेरिएको छ ।
पछिल्लो समय अमेरिका र पश्चिमा देशहरूसँग चीन र उत्तर कोरिया दुवैको छुट्टाछुट्टै तनाव बढिरहेको सन्दर्भमा यो भ्रमणलाई विश्व राजनीतिमा निकै अर्थपूर्ण मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ता लगत्तै राष्ट्रपति सी उत्तर कोरिया पुगेका हुन् । आउँदो सेप्टेम्बरमा सीले पुनः अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्ने कार्यक्रम तय भइसकेको छ ।
कोरोना महामारीपछि चीन र उत्तर कोरियाबीचको व्यापार पुरानै लयमा फर्किएको छ भने सिधा हवाई र रेल सेवा पनि पुनः सञ्चालनमा आइसकेका छन्। राष्ट्रपति सीले यस अवसरलाई जनस्तरको सम्बन्ध बढाउने माध्यम बनाउनुपर्नेमा जोड दिएका छन्। विश्लेषकहरूका अनुसार चीनले उत्तर कोरियालाई चामल, मल, संयुक्त आर्थिक परियोजना र चिनियाँ पर्यटक पठाउने जस्ता ठूला राहत प्याकेजहरू उपलब्ध गराउन सक्नेछ।













प्रतिक्रिया