पाकिस्तानमा दूषित सुईको प्रयोगका कारण बालबालिकामा एचआईभी सरेपछि अनुसन्धान सुरु « Khabarhub

पाकिस्तानमा दूषित सुईको प्रयोगका कारण बालबालिकामा एचआईभी सरेपछि अनुसन्धान सुरु


२४ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको सरकारी अस्पतालमा दूषित सुईको पुनः प्रयोगका कारण दर्जनौँ बालबालिकाहरू एचआईभी सङ्क्रमित भएपछि सरकारले यस विषयमा उच्चस्तरीय अनुसन्धान सुरु गरेको छ । पाकिस्तानको दक्षिणपूर्वी सिन्ध प्रान्तस्थित कुलसुम बाई बालिका अस्पतालमा कम्तीमा ७८ जना बालबालिका एचआईभीबाट सङ्क्रमित भएको प्रान्तीय श्रममन्त्री सईद घनीले पुष्टि गरेका छन् ।

उनले यस घटनामा दोषी ठहरिने जो कोहीलाई पनि कडा कारबाही गरिने प्रतिबद्धता जनाउँदै पीडित परिवारलाई चिकित्सा उपचार र पूर्ण सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन् । गत वर्षको नोभेम्बर महिनामा पहिलो पटक बाहिर आएको यस घटनाबारे स्वतन्त्र छानबिनका लागि पीडित परिवारहरूले लामो समयदेखि माग गर्दै आएका थिए।

सरकारले सुनुवाइ नगरेपछि परिवारहरूले सिन्ध उच्च अदालत पुगेका थिए । अदालतले सुरक्षित स्वास्थ्य उपचार सेवा दिनु अस्पतालको कानुनी कर्तव्य भएको भन्दै सरकारलाई यस घटनाको विस्तृत प्रतिवेदन बुझाउन दुई हप्ताको समयसीमा दिएको छ।

यसैबीच, न्याय र बालबालिकाको आजीवन उपचारको माग गर्दै पीडित परिवारहरूले कराँची प्रेस क्लब बाहिर प्रदर्शन समेत गरेका छन् । अदालतमा निवेदन दायर गर्ने तारिक मन्सुरका अनुसार अस्पतालमा प्रयोग भइसकेका सुईहरू पुनः प्रयोग गरिएका कारण वास्तवमा २०० भन्दा बढी बालबालिकाहरू सङ्क्रमित भइसकेका छन् र तीमध्ये कम्तीमा नौ जनाको मृत्यु भइसकेको छ।

प्रान्तीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार यस वर्षको जनवरीदेखि मार्च महिनाको बीचमा सिन्ध प्रान्तमा दर्ता भएका ८९४ एचआईभी सङ्क्रमितमध्ये ३२९ जना बालबालिका मात्रै रहेका छन् । कराँचीका तीनवटा ठूला अस्पतालहरूमा विगत नौ महिनामा एचआईभी सङ्क्रमित बालबालिका भर्ना हुने दर निकै बढेको छ । सिन्ध सरुवा रोग अस्पतालमा सन् २०२४ मा जम्मा १० जना एचआईभी सङ्क्रमित बालबालिका भर्ना भएकोमा सन् २०२५ मा यो सङ्ख्या बढेर ७० पुगेको थियो भने यस वर्ष पनि सङ्क्रमण थपिने क्रम जारी छ।

पाकिस्तान मेडिकल एसोसिएसनले बालबालिकामा यसरी एचआईभी सङ्क्रमण फैलिनुलाई सङ्क्रमण नियन्त्रण र स्वास्थ्य प्रणालीको ठूलो असफलता भनेको छ। अवैध क्लिनिक र अस्पतालहरूमा सुईको असुरक्षित पुनः प्रयोग गम्भीर जनस्वास्थ्य चुनौती बनेको र अहिले देखिएका घटनाहरू त वास्तविक समस्याको सानो हिस्सा मात्रै हुन सक्ने एसोसिएसनको चेतावनी छ।

पाकिस्तानमा स्वास्थ्य संस्थाकै लापरबाहीका कारण एचआईभी फैलिएको यो पहिलो घटना भने होइन। यसअघि सन् २०१९ मा सिन्धकै रातोडेरोमा भएको यस्तै प्रकृतिको सबैभन्दा ठूलो महामारीमा ८०० भन्दा बढी बालबालिका सङ्क्रमित भएका थिए, जसको मुख्य कारण पनि दूषित सुईको पुनः प्रयोग नै रहेको विश्व स्वास्थ्य सङ्गठनको अनुसन्धानले देखाएको थियो।

त्यस्तै, सन् २०२४ को अन्त्यतिर पन्जाब प्रान्तको ताउन्सास्थित सरकारी अस्पतालमा पनि यस्तै लापरबाहीका कारण ३३१ जना बालबालिका सङ्क्रमित भएका थिए। संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार पाकिस्तानमा एचआईभी सङ्क्रमितको सङ्ख्या सन् २०१० मा ६७ हजार रहेकोमा सन् २०२३ सम्म आइपुग्दा बढेर ३ लाख १० हजार पुगेको छ। तर, न्यून स्वास्थ्य परीक्षणका कारण वास्तविक सङ्क्रमितको सङ्ख्या योभन्दा निकै बढी हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २४ असार २०८३, बुधबार  ६ : ४० बजे

मधेस प्रदेशसभा : प्रदेश विनियोजन विधेयकमाथि छलफल

जनकपुरधाम– मधेस प्रदेशसभामा मधेस प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका

तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल

एजेन्सी– कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबीच उत्तरपूर्वी