एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै विभिन्न क्यानाडाली वस्तुको आयातमा प्रतिबन्ध र अतिरिक्त शुल्क लगाउने निर्णय गरेका छन्। ट्रम्पको निर्णयसँगै दुई देशबीचको व्यापार तनाव थप बढेको छ।
ट्रम्पको कार्यकारी आदेशअनुसार गद्दा, मोटरबोट र गल्फ कार्टलगायत क्यानाडाली उत्पादनमा सेप्टेम्बर १५ देखि ५० प्रतिशत अतिरिक्त शुल्क लाग्नेछ। यस्तै, मादक पेय पदार्थ तथा केही दुग्धजन्य उत्पादनको आयातमा सेप्टेम्बर २९ देखि प्रतिबन्ध लगाइनेछ।
यसअघि अमेरिकाले अगस्ट २२ मा क्यानाडाली वस्तुमा शुल्क लगाएपछि क्यानाडाले अमेरिकी आयातमा २७ अर्ब ६० करोड क्यानाडाली डलर बराबरको प्रतिशोधात्मक शुल्क लगाएको थियो। त्यसको प्रतिक्रियास्वरूप ट्रम्पले क्यानाडाली कम्पनीलाई अमेरिकी सरकारी ठेक्काबाट वञ्चित गर्ने चेतावनी दिए।
ट्रम्पले यसअघि क्यानाडाली विमान निर्माता कम्पनी बोम्बार्डियरको बिक्री रोक्ने प्रयास गर्ने चेतावनीसमेत दिएका थिए। त्यसप्रति कान्सासका रिपब्लिकन सिनेटर रोजर मार्सल र जेरी मोरानले अमेरिकी रोजगारीको संरक्षणका विषयमा ह्वाइट हाउसमा चासो व्यक्त गरेको बताइएको छ।
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले भने व्यापार विवाद थप बढाउने पक्षमा आफू नरहेको बताए। उनले कामदार, व्यवसाय र समुदायको सुरक्षा तथा हितका लागि क्यानाडाले प्रतिशोधात्मक शुल्क लगाउनुपरेको स्पष्ट पारेका छन् ।
अमेरिका र क्यानाडाबीच अगस्ट २१ मा वासिङ्टनमा भएको वार्ता असफल भएपछि व्यापार वार्ता पुनः सुरु हुन सकेको छैन। दुई देशबीचको व्यापार तनावले क्यानाडाली अर्थतन्त्रमा थप दबाब पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
क्यानाडाको अमेरिकी बजारसँगको आर्थिक निर्भरता उच्च छ। क्यानाडाको करिब ६० प्रतिशत आयात अमेरिकाबाट हुने गरेको छ भने करिब ७० प्रतिशत निर्यात अमेरिकी बजारमा जाने गरेको छ।
अमेरिकी शुल्कको प्रभाव न्यूनीकरण गर्न क्यानाडा सरकारले व्यवसायी तथा कामदारका लागि ७ अर्ब ५० करोड क्यानाडाली डलर बराबरको सहायता प्याकेजसमेत घोषणा गरेको छ।












प्रतिक्रिया