लमजुङ– केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ र खरले बनेका घुमाउने घरले गाउँको मौलिकता झल्काउँथे ।
प्रत्येक गाउँमा देखिने त्यस्ता परम्परागत घर अहिले कहाँ छ भनी खोज्नुपर्ने अवस्था छ । आधुनिकताको आकर्षणसँगै देशकै पहिचान त्यस्ता पुराना घुमाउने घर भत्काइँदैछ । त्यस्ता घर अहिले जिल्लामै औँलामा गन्न सकिनेछ ।
क्व्होलासोथार गाउँपालिका–४ भुजुङका वडाध्यक्ष नारायण गुरुङका अनुसार केही वर्षअघिसम्म गाउँमा घुमाउने शैलीका धेरै घर थिए । अहिले भने त्यस्ता मौलिक घर एउटामात्र बाँकी छ ।
करिब छ वर्षअघि स्थानीय संस्कृति र परम्परा चिनाउने उद्देश्यले अर्को घुमाउने घरलाई सङ्ग्रहालयका रूपमा रूपान्तरण गरिएको छ । त्यस सङ्ग्रहालयमा पुग्ने पर्यटकले परम्परागत घरको अवलोकन गर्ने, तस्बिर खिच्ने र गाउँको मौलिकता नियाल्ने गर्दै आएका छन् ।
‘पहिले टोलैपिच्छेजस्तो घुमाउने घर हुन्थ्यो, अहिले एउटामात्र बाँकी छ’, वडाध्यक्ष गुरुङले भने। विद्युत् र आधुनिक प्रविधिको पहुँच नहुँदा घुमाउने घर गाउँलेका लागि केवल बस्ने ठाउँ थिएन, मौसमअनुकूल जीवनको भरपर्दो आधारसमेत थियो ।
जाडोमा न्यानो हुने, भित्र कोठा छुट्याएर प्रयोग गर्न सकिने र बलियो हुने भएकाले यस्ता घर पुस्तौँसम्म टिक्थे । सानो आकार र एकतले संरचनाका यस्ता घरमा स्थानीय स्रोतसाधनकै प्रयोग हुन्थ्यो ।
ढुङ्गा, माटो र काठको संरचनामाथि खरको छानाले गाउँको प्राकृतिक परिवेशसँगै मौलिक वास्तुकलाको परिचय दिन्थ्यो । भुजुङमा बाँकी रहेको पुरानो घुमाउने घर करिब एक सय वर्षभन्दा पुरानो मानिन्छ ।
वडाध्यक्ष गुरुङका अनुसार उक्त घर तत्कालीन जिम्माल तथा प्रधानपञ्च लालपट्टी गुरुङको हो । उनको परिवार अहिले त्यहाँ बस्दैन । तर घर अझै प्रयोगमा छ ।
समयसँगै पुस्ता फेरिए पनि घरले गाउँको पुरानो जीवनशैली र निर्माण सीपको सम्झना बोकेको छ । सुन्दरबजार नगरपालिका–११ तुर्लुङकोटमा पनि घुमाउने घरको अवस्था उस्तै छ।
स्थानीयका अनुसार केही वर्षअघिसम्म त्यहाँ १०–११ वटाभन्दा बढी घुमाउने घर थिए । अहिले भने दुईदेखि चार वटासम्म मात्र बाँकी छन् । पुराना घर भत्काएर आधुनिक पक्की घर निर्माण गर्ने क्रम बढेसँगै परम्परागत घरको सङ्ख्या घट्दै गएको हो ।
राइनास नगरपालिका–९ राइनासकोटमा भने हराउँदै गएको परम्परालाई जोगाउने प्रयास गरिएको छ । स्थानीय संस्कृति र परम्पराको संरक्षण तथा नयाँ पुस्तालाई मौलिक घरबारे चिनाउने उद्देश्यले केही वर्षअघि परम्परागत शैलीको घुमाउने घर निर्माण गरिएको छ ।
स्थानीय तथा राइनास होमस्टे व्यवस्थापन समितिका अध्यक्ष बालसिंह गुरुङका अनुसार विगतमा राइनासकोटमा पाँचवटासम्म घुमाउने घर थिए ।
अहिले एउटामात्र बाँकी छ । हराउँदै गएको परम्परालाई जोगाउने उद्देश्यले उक्त घरलाई संरक्षण गरेर राखिएको उनले बताए।
‘बाँकी रहेको एउटा घुमाउने घर संरक्षण गरेर राखेका छौँ । होमस्टेमा आउने पर्यटक त्यहाँ पुगेर घर हेर्ने, तस्बिर तथा भिडियो खिच्ने र घुमाउने घर यस्तो रहेछ भनी विशेषताबारे जानकारी लिने गर्छन्’, अध्यक्ष गुरुङले भने।
संरक्षण गरिएको घुमाउने घर स्थानीयका लागि पुरानो संरचना जोगाउने माध्यममात्र नभई होमस्टेमा आउने पर्यटक आकर्षित गर्ने स्रोत बनेको छ । हराउँदै गएको परम्परागत वास्तुकलालाई पर्यटनसँग जोडेर जीवित राख्न सकिने सम्भावना यस्ता संरचनाले देखाएको छ ।
मस्र्याङ्दी गाउँपालिका–३ ढक्कै स्थानीय पूर्णबहादुर गुरुङले पुराना घुमाउने घर भत्काएर आधुनिक घर निर्माण गर्ने क्रम बढेपछि मौलिक संरचना हराउँदै गएको प्रतिक्रिया दिए।
उनका अनुसार भविष्यमा पुरानै शैलीको घुमाउने घर निर्माण गर्न कठिन हुनसक्छ । तथापि गाउँको मौलिक स्वरूप जोगाउने अर्को बाटो खोज्न सकिन्छ ।
‘भविष्यमा पुरानै शैलीको घुमाउने घर बनाउन सम्भव नहोला, तर गाउँघरको टिपिकल स्वरूप झल्किने घर सिमेन्टलगायत आधुनिक सामग्री प्रयोग गरेर भए पनि निर्माण गर्ने सोच छ’, उनले भने।
एक दशकअघिसम्म जिल्लाका ग्रामीण बस्तीमा सयौँको सङ्ख्यामा विशेषगरी खरले छाएका पुराना घुमाउने घर अहिले औँलामा गन्न सकिने अवस्थामा पुगेपछि स्थानीय बुढापाका चिन्तित छन्। उनीहरूका अनुसार अहिले घुमाउने घर दुर्लभ बन्दै गएका छन् ।
घुमाउने घर हराउनु भनेको एउटा पुरानो भवनमात्र नभई यससँगै स्थानीय सीप, वास्तु परम्परा, जीवनशैली र मौलिक पहिचान पनि लोप हुँदै जानु हो ।
नेपाली मौलिक पहिचान झल्कने यस्ता बाँकी घरको अभिलेखीकरण, संरक्षण र पुनर्निर्माणसँगै नयाँ पुस्तालाई महत्व बुझाउन आवश्यक रहेको स्थानीयको भनाइ छ ।
पर्यटनसँग जोडेर यस्ता सम्पदालाई जीवित राख्ने प्रयासले मात्र परम्परा र आधुनिकतालाई जोडेर लैजान सकिने छ ।












प्रतिक्रिया