भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान भक्तपुरमा आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।
भाद्र कृष्ण त्रयोदशीमा मनाइने पर्वका अवसरमा भक्तपुरका विभिन्न टोल, विहार तथा बहालमा सामूहिक रूपमा पञ्चदान आयोजना गरिएको छ ।
पञ्चदानमा बौद्ध धर्मावलम्बीहरूले भिक्षु, शाक्य तथा बज्राचार्य समुदायलाई अन्न, फलफूल, लत्ताकपडा, औषधि तथा अन्य आवश्यक सामग्री दान गर्ने परम्परा छ ।
पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइ मनाउने परम्परा छ ।
नेवार बौद्ध समुदायमा पञ्चदानलाई दान तथा पुण्य सञ्चय गर्ने महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ। पाँच प्रकारका वस्तु दान गर्ने परम्परा रहेकाले यसलाई ‘पञ्चदान’ भनिएको हो ।
दान ग्रहण गर्न आउने भिक्षु तथा बज्राचार्यलाई श्रद्धालुले घर–घर तथा सार्वजनिक स्थलमा भोजनसहित आवश्यक सामग्री प्रदान गर्ने चलनसमेत छ।
पर्वका अवसरमा भक्तपुरका ऐतिहासिक बौद्ध विहार, बहाल तथा चैत्यमा विशेष पूजा, दीप प्रज्वलन र धार्मिक अनुष्ठान गरिन्छ ।
स्थानीयवासी परम्परागत पोसाकमा सहभागी हुनुका साथै बाजागाजासहितका सांस्कृतिक गतिविधि हुने भएकाले भक्तपुरका पुराना बस्तीमा विशेष रौनक रहन्छ ।
यस पर्वले दान, परोपकार र सहअस्तित्वको भावना विकास गर्नुका साथै समुदायबीचको आपसी सम्बन्धलाई बलियो बनाउने विश्वास गरिन्छ ।
साथै, नयाँ पुस्तालाई नेवार बौद्ध समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र परम्पराबारे परिचित गराउने माध्यमका रूपमा पनि पञ्चदानलाई महत्त्वपूर्ण मानिन्छ ।
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी





















प्रतिक्रिया