काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि संसदीय चुनावअघि अमेरिकाले इरानमाथि कुनै पनि सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन् । ट्रम्पले बिहीबार दुवै देशबीच जारी छ महिना लामो युद्ध अन्त्य गर्ने विषयमा फलदायी वार्ता भइरहेको दाबी गरेका छन् ।
ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ’ सोसल मा एक पोस्ट लेख्दै इस्लामिक रिपब्लिक अफ इरानसँग फलदायी छलफल भइरहेको र नोभेम्बर ३ मा हुने निर्वाचनअघि इरानमाथि आक्रमण नगरिने स्पष्ट पारेका हुन् ।
गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि यो युद्ध सुरु भएको थियो । यो युद्धका कारण अमेरिकाभित्र ट्रम्पको जनसमर्थन (एप्रुभल रेटिङ) खस्किएको छ, जसले नोभेम्बरको चुनावमा आफ्नो झिनो बहुमत जोगाउन खोजिरहेका रिपब्लिकन सांसदहरूलाई ठूलो दबाबमा पारेको छ ।
हालै गरिएको राउटर्सरइप्सोस सर्वेक्षण अनुसार ६० प्रतिशत अमेरिकीहरू-जसमा चारमध्ये एक रिपब्लिकन सामेल छन्- इरान स्थितिलाई ट्रम्पले सम्हालेको तरिकाप्रति असन्तुष्ट छन् । युद्धका कारण पेट्रोलको मूल्य ह्वात्तै बढेको छ भने अमेरिकी मतदाताहरूले जीवनयापनको लागत लाई आफ्नो मुख्य चिन्ता बताएका छन् ।
ट्रम्पले चुनावपछि तेलको मूल्य घट्ने अपेक्षा गरे पनि युद्धबाट बाहिरिने कुनै विस्तृत योजना भने प्रस्तुत गरेका छैनन् । युद्ध अन्त्य गर्न र ऊर्जा ढुवानीको महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्नका लागि इरान र अमेरिकाले हालैका हप्ताहरूमा प्रस्तावहरू आदानप्रदान गरे पनि ट्रम्पले तेहरानको पछिल्लो प्रस्ताव अस्वीकार गरिदिएका छन् ।
यसैबीच, इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुखलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चारमाध्यमले तेहरानले युरेनियम प्रवर्द्धन नछाड्ने र आफ्नो युरेनियम सञ्चय हस्तान्तरण नगर्ने जनाएको छ ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आफ्नो युरेनियम प्रवर्द्धन क्षमतामा अर्थपूर्ण कटौती गर्नुपर्ने बताएको केही दिनपछि इरानको यस्तो प्रतिक्रिया आएको हो । अमेरिका, इजरायल र पश्चिमी मित्रराष्ट्रहरूले इरानले आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई इरानले खण्डन गर्दै आएको छ ।














प्रतिक्रिया