काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । नोर्वेजियन नोबेल कमिटीले शुक्रबार पिल्लेलाई ‘शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्याएको योगदान’ का लागि नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
कमिटीका अनुसार पिल्लेले आफ्नो लामो करियरमा दृढ नैतिक निष्ठा प्रदर्शन गर्दै राज्य तथा राष्ट्रिय नेताहरूलाई जवाफदेही बनाएकी छन् । उनले हिंसा तथा द्वन्द्वबाट पीडित बनेकाहरूका लागि आशाको सञ्चार गरेको कमिटीले जनाएको छ ।
नेल्सन मण्डेला र रङ्गभेद विरुद्ध उभिएका अन्य व्यक्तिहरूको पक्षमा प्रारम्भिक समयमा वकालत गरेदेखि लिएर हाम्रा समयका प्रमुख अन्तर्राष्ट्रिय अदालतका मुद्दाहरूमा न्यायाधीशका रूपमा पुर्याएको सेवासम्म उनको कार्यमा एउटै निरन्तरता र समर्पण देखिने कमिटीले जनाएको छ ।
नभी पिल्ले कब्जा गरिएको प्यालेस्टिनी भूभाग सम्बन्धी संयुक्त राष्ट्रसंघीय छानबिन आयोगको अध्यक्ष समेत थिइन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो पुरस्कारमा दाबी गर्दै आएका थिए ।
राष्ट्रपति ट्रम्पले आफूले विश्वभरका आठ युद्ध रोक्न सफल भएको दाबी गर्दै पुरस्कार आफूले जित्नुपर्ने बताउने गरेका थिए ।
विश्लेषकहरूले ट्रम्पको इरानसम्बन्धी नीति, ग्रिनल्यान्डप्रतिको महत्त्वाकांक्षा र आप्रवासीप्रतिको कठोर व्यवहारलाई पुरस्कारका लागि बाधक मानेका छन् ।














प्रतिक्रिया