म्याग्दी– मनसुनजन्य विपद्का कारण सडक सम्पर्क विच्छेद भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका सबै बस्ती डेढ महिनापछि सडक सञ्जालमा जोडिएका छन् ।
गत असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध बनाएका गाउँपालिकाका आठवटै वडाका सडक मर्मतपछि सञ्चालनमा आएका हुन् ।
गाउँपालिका उपाध्यक्ष दिवा तिलिजा पुनका अनुसार वडा नम्बर ५ स्थित पाउद्धार गाउँ जोड्ने सडकको मर्मत आइतबार सम्पन्न भएको हो । यससँगै भौगोलिक रूपमा विकट र बढी क्षति पुगेका पाउद्धार, राम्चे र हिस्तानका सडकसमेत सञ्चालनमा आएका छन् ।
पहिरोका कारण पोखरेबगर–नेपाने–पाउद्धार सडक तत्काल मर्मत गर्न नसकिएपछि शिखदेखि स्वाँत, किन्दु र झारवाङ हुँदै पाउद्धार जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । पाउद्धारदेखि नेपाने जोड्ने सडकको मर्मत भने जारी रहेको उपाध्यक्ष पुनले जानकारी दिइन् ।
सडक सञ्चालनमा आएसँगै विपद्बाट क्षतिग्रस्त खानेपानी, सिँचाइ, पदमार्ग, भवन तथा निजी आवास पुनर्निर्माणको काम अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।
बाढीपहिरोमा परी अन्नपूर्ण गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । विपद्का कारण ६० घर पूर्ण र १२९ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । घर भत्किएर तथा जोखिममा परेर तीन सय परिवार प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले विपद्बाट क्षतिग्रस्त निजी आवास तथा सार्वजनिक भौतिक संरचनाको पुनर्निर्माणलाई तीव्रता दिने तयारी गरेको छ ।














प्रतिक्रिया