काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिखेर झापामा छन् । शुक्रबार उनी चुनावी प्रचारप्रसारका लागि झापा आएका हुन् । उम्मेदवारी दर्ता गराएपछि ओली काठमाडौँ फर्केर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक प्रचण्डसँग चुनावी तालमेलको विषयमा छलफल गरेको दाबी गरिँदै आएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग ओलीले चुनावी तालमेलका विषयमा छलफल गरेका छन्। दुवै पार्टी चुनावी तालमेलका लागि तयार नभएपछि ओली पुनः झापा फर्केर आफ्नो पक्षमा माहोल बनाइरहेका छन् । स्रोतका अनुसार नेकपासँग सहकार्य नभए पनि उनी राप्रपासँग भने अझै आशावादी छन् ।
ओलीले झापा-५ मा एक सातासम्म मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनका चुनावी कमान्डर देवेन्द्र दाहाल बताउँछन् । दाहालका अनुसार ओलीले झापा-५ मा रहेका सुकुम्बासीलगायत मतदातालाई भेटेर आफ्ना कुरा राख्ने कार्यक्रम छ ।
ओलीले दमक पुगेपछि सुकुम्बासी बस्तीका नागरिकलाई भेटिरहेका देखिन्छन् । यसअघि बालेन पनि कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका, दमक नगरपालिका लगायतका क्षेत्रका सुकुम्बासी बस्ती घुमेका थिए । बालेन पुगेका सुकुम्बासी बस्तीमा अहिले ओली पुगिरहेका छन् ।
कांग्रेस सभापित थापाप्रति कठोर, देउवासँग नरम
ओलीले झापा-५ बाट कांग्रेसले आफूलाई सहयोग गरोस् भन्ने अपेक्षा राखेको देखिन्छ । झापा आएर ओलीले नेताका घरमा पैसा भेटिएको बारे मतदाताले राखेको जिज्ञासामा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाप्रति नरम रूपमा प्रस्तुत भए । उनले आफ्ना घरमा पैसाको नोट नभेटिएको र देउवाको घरमा भेटिएको भनिएको नोट एआईबाट अर्कै देशको पैसालाई बनाइएको दाबी गर्न समेत भ्याए ।

देउवाप्रति नरम रहेका ओलीलाई झापा-५ मा देउवा पक्षका नेताहरूले सहयोग गर्छन् भन्ने धेरैको आकलन छ । सभापित गगन थापाप्रति देउवाको विश्वास नरहेको फाइदा ओलीले उठाउन लागेको देखिन्छ । एमाले निकट स्रोतका अनुसार ओलीले झापा-५ का देउवानिकट नेताहरूलाई समेत भेटघाट गर्ने तयारी गरेका छन् ।
हुन त देउवाको सचिवालयले पनि निर्वाचन केन्द्रित कुनै पनि कार्यक्रममा देउवा सहभागी नहुने सूचना दिएको छ । यसकारण भित्री रूपमा देउवा समर्थक नेताले ओलीलाई साथ दिन्छन् कि भन्ने धेरैको अनुमान छ । ओली देउवाप्रति नरम हुनु र देउवाले पनि ओलीप्रति सहानुभूति देखाउनाले यी दुईबीच केही न केही लेनदेन हुन सक्ने सङ्केत देखिन्छ ।
देउवा पक्षका नेताहरूले यसबारे खुलेर नबताए पनि कांग्रेसका महामन्त्री गुरुराज घिमिरे भने यदि एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनपछि गगन थापालाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखे पनि कांग्रेस यसपटक तालमेल नगरी अगाडि बढ्ने बताउँछन् ।
‘यसपटक कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । कुनै पनि हिसाबले तालमेल अथवा गठबन्धन गरेर कांग्रेस निर्वाचनमा जाँदैन,’ घिमिरेले खबरहबसँगको अन्तर्वार्तामा भने, ‘एमाले अध्यक्ष ओली वा पुष्पकमल दाहाल, कसैले गगन थापालाई प्रधानमन्त्री बनाउँछौँ भने पनि हामी गठबन्धन गर्ने पक्षमा छैनौँ ।’
घिमिरेका अनुसार कांग्रेसले गठबन्धनका लागि ‘च्याप्टर क्लोज’ गरिसकेकाले यस विषयमा सोच्ने सम्भावना छैन । गगन थापालाई सर्लाही-४ बाट एमालेले सघाए झापा-५ मा कांग्रेसले ओलीलाई सघाउने चर्चालाई घिमिरेले ‘बेतुकको हल्ला’ भनेका छन् ।
देउवा पक्षका शीर्ष नेताहरूले झापा-५ मा ओलीलाई सहयोग गर्ने अवस्था नरहेको बताउँछन् । उनीहरू विशेष महाधिवेशनपछि कांग्रेसमा गुटको राजनीति नरहेको र फागुन ४ गतेपछि सबै नेताहरू आफ्ना उम्मेदवार जिताउन निस्कने दाबी गर्छन् ।
‘हामी अहिले हल्ला गर्ने पक्षमा छैनौँ । कांग्रेसलाई घात गरेर ओलीलाई सघाउने सम्भावना छैन । कांग्रेसमा गुट-उपगुट भए पनि निर्वाचनमा यो छताछुल्ल हुँदैन ।’
‘हामी अहिले हल्ला गर्ने पक्षमा छैनौँ । कांग्रेसलाई घात गरेर ओलीलाई सघाउने सम्भावना छैन,’ देउवा पक्षका एक नेताले भने, ‘कांग्रेसमा गुट-उपगुट भए पनि निर्वाचनमा यो छताछुल्ल हुँदैन ।’
झापा-५ मा कांग्रेसका तर्फबाट मन्दरा चिमारिया उम्मेदवार छिन् । गगनले उम्मेदवारी दिएको सर्लाही-४ मा एमालेबाट रवि सिंह कुशवाहा उम्मेदवार छन् ।
हर्कसँग हुन सक्छ तालमेल
झापा-५ मा श्रम संस्कृति पार्टीका तर्फबाट समीर तामाङ उम्मेदवार छन् । यस क्षेत्रमा ओलीको गृहनगर दमकसहित गौरादह, कमल र गौरीगन्ज पर्छन्, जहाँ आदिवासी जनजाति समुदायको बाक्लो बसोबास छ ।
त्यहाँबाट समीर तामाङले कांग्रेस, एमाले र जनजातिको उल्लेख्य मत काट्ने आकलन गरिन्छ । यस्तोमा ओलीले परिस्थिति बुझेर हर्क साम्पाङसँग चुनावी तालमेल गर्न सक्ने सम्भावना जीवितै छ । सुनसरी-१ बाट निर्वाचन जित्न हर्क तामाङलाई पनि कठिन देखिन्छ, किनकि २०७९ मा अशोक राईसँग रास्वपाकी गोमा तामाङ थोरै मतले मात्र पराजित भएकी थिइन् । अहिले गोमा हर्कका लागि भारी पर्ने अवस्था छ ।
२०७९ को चुनावमा अशोक राईसँग रास्वपाकी गोमा तामाङ थोरै मतले मात्र पराजित भएकी थिइन् । अहिले गोमा हर्कका लागि भारी पर्ने अवस्था छ ।
सुनसरी-१ मा एमालेले टीका लिम्बूलाई उम्मेदवार बनाएको छ । विशेष स्रोतका अनुसार ओलीले सुनसरीमा हर्कलाई सघाएर झापामा हर्कको समर्थन लिने सम्भावना छ । यद्यपि हर्कको सचिवालयले भने ओलीसँग तालमेल नगर्ने र झापा-५ मा पनि ‘साइलेन्ट’ रूपमा निर्वाचन जित्ने दाबी गरेको छ ।
एमालेका चुनावी कमान्डर देवेन्द्र दाहाल एमाले आफ्नै बलबुत्तामा निर्वाचन लड्ने तयारीमा रहेको बताउँछन् । उनी भन्छन्, ‘निर्वाचनपछि एमाले पहिलो दल बन्छ ।’ उनी बालेनले फैलाएको भ्रम चिर्न एमाले तल्लो तहसम्म खट्नुपर्ने चुनौती रहेको स्वीकार गर्छन् ।
एमाले झापा जिल्ला अध्यक्ष प्रेम गिरी पनि नयाँ उम्मेदवार बालेनलाई हेर्न मतदाता आए पनि अन्ततः मत एमालेलाई नै आउनेमा विश्वस्त छन् ।
ओलीले हर्कलाई उकासे के होला?
धरानका पूर्वमेयर हर्क साम्पाङले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन् । बालेनलाई रोक्न ओलीले हर्कलाई ‘अस्त्र’ बनाउन सक्ने चर्चा पनि छ । यदि ओलीले हर्कलाई केही समयका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेमा हर्कले सघाउन सक्ने स्रोतको दाबी छ । तर, एमालेका कतिपय नेताहरू यसलाई तत्कालका लागि ‘बेतुकको कुरा’ मान्छन् ।
राजनीतिक खेलाडीका रूपमा चिनिने ओलीले झापा-५ को परिस्थिति हेरेर राप्रपा वा श्रम संस्कृति पार्टीमध्ये एकसँग अन्तिम समयमा गठजोड गर्न सक्ने विश्लेषण गरिएको छ ।
ओलीले २०७९ को निर्वाचनमा पनि नीति नमिल्ने राप्रपा र कमल थापासँग तालमेल गरेका थिए । पछि रास्वपालाई सरकारमा सहभागी गराएका थिए । राजनीतिक खेलाडीका रूपमा चिनिने ओलीले झापा-५ को परिस्थिति हेरेर राप्रपा वा श्रम संस्कृति पार्टीमध्ये एकसँग अन्तिम समयमा गठजोड गर्न सक्ने विश्लेषण गरिएको छ ।
उनले विभिन्न अफर गरेर हर्कलाई उक्साउने सम्भावना पनि छ किनकि झापा ५ मा श्रम संस्कृति पार्टीको पनि उत्तिकै चर्चा छ । ‘एमालेको शीर्षस्थ स्रोत भन्छ,‘एकपटक यहाँको परिस्थिति नियालेर उहाँले कुनै न कुनै रूपमा गठबन्धन राप्रपा या श्रम संस्कृति लगायतसँग गर्ने अवस्थामा पुग्नुहुन्छ भन्ने हाम्रो विश्लेषण छ।’
उनी सर्लाहीमा गगनसँग गठबन्धन गरेर अगाडि बढ्ने कुनै कुरा नभएको बताउँछन्। ‘राजनीतिक खेलमा प्रचण्ड जस्तै ओली शक्तिशाली मान्छे हुन्। उनले विभिन्न अफर गरेर हर्कलाई उक्साउने सम्भावना पनि छ किनकि झापा ५ मा श्रम संस्कृति पार्टीको पनि उत्तिकै चर्चा छ’, एमालेको शीर्षस्थ स्रोत भन्छ , ‘एकपटक यहाँको परिस्थिति नियालेर उहाँले कुनै न कुनै रूपमा गठबन्धन राप्रपा या श्रम संस्कृति लगायतसँग गर्ने अवस्थामा पुग्नुहुन्छ भन्ने हाम्रो विश्लेषण छ।’













प्रतिक्रिया