काठमाडौं- विशेष महाधिवेशनले गगन थापालाई नेतृत्वमा स्थापित गरेसँगै माघ पहिलो सातादेखि नेपाली कांग्रेसका शीर्ष नेता र पूर्वसभापतिहरू मौन छन्। निर्वाचन आउँदा देश दौडाहामा निस्किने कांग्रेसका पूर्वपदाधिकारीको मौनताले सभापति थापा नेतृत्वको कांग्रेसलाई घाटा लाग्ने देखिन्छ ।
कांग्रेसमा निर्वाचनअगाडि विशेष वा नियमित कुनै पनि महाधिवेशन गर्न हुँदैन भन्ने पक्षका तत्कालीन सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वपदाधिकारीहरू कृष्ण सिटौला, प्रकाशमान सिंह, बालकृष्ण खाण लगायतले टिकट पाएनन् ।
हेभिवेट नेतासँगै कांग्रेसका चर्चित अनुहारलाई समेत टिकट दिइएन । यसपालि टिकट नपाउनेमा शेरबहादुर देउवाकी श्रीमती एवम् पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा, नेताहरू प्रकाशमान सिंह, रमेश लेखक, पूर्वउपसभापति धनराज गुरुङ, नेता शशांक कोइराला लगायतको शीर्ष नेतृत्व चुनावी मैदानमा छैन । यसमध्ये केही नेताले त आफूलाई टिकट नपाउने बुझेपछि स्वेच्छिक रुपमा निर्वाचन नउठ्ने घोषणा गरेका थिए ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधर रहेका अहिलेका उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि उम्मेदवार छैनन् । उनीहरूले निर्वाचन नलड्ने घोषणा गरेपछि टिकट रोकिएको हो ।
माथिका नामध्ये कृष्ण सिटौलाले झापा क्षेत्र नम्बर ३ मा छोरा श्याम सिटौलालाई उम्मेदवार बनाउन चाहेका थिए तर पाएनन् । झापा ३ मा अहिले सिटौलाका छोरा श्याम सिटौला कांग्रेसका उम्मेदवार जिताउन लागिपरेका छन् । तर बुवा भने अहिलेसम्म सार्वजनिक रुपमा देखिएका छैनन् ।
हुन पनि वर्षौंदेखि निर्वाचन लड्दै आएका यी नेताहरूले टिकट नपाउँदा आमजनता र मतदाता निराश छैनन् । तर नेताहरूको मौनताले कांग्रेसलाई बहुमतसहितको सफलता हासिल गर्न चुनौती देखिएको छ । टिकट नपाएकै कारण नेताहरू खुलेर पार्टीलाई जिताउन निस्किएका छैनन् ।
२०७९ को निर्वाचनमा देशभरबाट महिला उम्मेदवारमध्ये एकल विजयी तेह्रथुमकी सीता गुरुङले पनि टिकट पाइनन् । गुरुङको ठाउँमा कांग्रेसले सन्तोष सुब्बालाई उम्मेदवार बनाएको छ । सुब्बा गगन थापानिकट नेता हुन् भने गुरुङ देउवानिकट थिइन् ।
गगनले संवाद नगरेको देउवाको गुनासो
निर्वाचनअगाडि कांग्रेस महाधिवेशन नहुनुपर्ने पक्षमा उभिएका देउवालाई गगन थापाले चुनौती दिँदै विशेष महाधिवेशन गराए । विशेष महाधिवेशनमा नेतृत्व चुनिने अन्तिम समयसम्म गगनले देउवाको प्रतीक्षा गरिरहे । गगन चाहन्थे– देउवा विशेष महाधिवेशनमा आएर ५६ प्रतिशत सम्बोधन गरुन् । त्यसपछि कांग्रेस नयाँ नेतृत्व चुन्न लागोस् ।
तर देउवाले त्यसो नगरेनन्, बरू विशेष महाधिवेशन रोक्नका लागि उनले अन्तिमसम्म नेताहरू परिचालन गरे । लगभग ५६ देखि ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उपस्थित भएको भेलाबाट नयाँ नेतृत्व चुन्नका लागि गगन पछि हटेनन् । भेलाले सर्वसम्मत थापालाई नेतृत्वमा पुर्यायो । निर्वाचन आयोगले पनि थापालाई नै कांग्रेसको सभापति मानेपछि देउवा यता न उता भए । आयोगको निर्णयमा सर्वोच्च अदालतले पनि मञ्जुरी दिइसकेको छ।
सभापति हुनुअगाडि थापालाई वास्ता नगरेका देउवालाई अहिले थापाले पनि उस्तै गरिरहेका छन् । देउवाले आफूलाई नेतृत्वमा हुँदा अपमान गरेर वास्ता नगरेकाले देखाइदिने पक्षमा गगन छन् ।
देउवानिकट एक नेताले खबरहबलाई दिएको जानकारी अनुसार देउवा महाराजगञ्जस्थित निवासमा थापा आएर निर्वाचनमा सहयोग मागुन् भन्ने पक्षमा छन् । सभापति थापाको सचिवालयका अनुसार दुई नेता भेट्ने अहिलेसम्म कार्यसूची बनेको छैन । तर, गगनको सचिवालय देउवालाई इन्कार गरेर कांग्रेस निर्वाचनमा होमिन तयार नभएको बताउँछ ।
‘अहिलेसम्म पूर्वसभापति र सभापतिबीच भेटघाट गर्ने सेड्युल बनेको छैन । तर हामी पूर्व सभापतिलाई इन्कार गरेर उहाँलाई अपमान गरेर निर्वाचनमा होमिने पक्षमा पनि छैनौँ’, थापाको सचिवालयले खबरहबलाई भन्यो, ‘भेट्नै पर्ने परिस्थिति आए भेट्नुहुन्छ होला तर अहिले निर्वाचनको दौडधूप चलिरहेको छ।’
वर्तमान नेतृत्वले आफू निहुरिने भन्दा केन्द्रीय कार्यालयबाट पत्र पठाएर निर्वाचन परिचालनमा लाग्न आग्रह गर्ने तयारी गरेको छ । कांग्रेस महामन्त्री गुरुराज घिमिरेका अनुसार कांग्रेसले फागुन ७ गते जनकपुरमा बृहत सभा गर्दैछ । त्यसमा उपस्थित हुन कांग्रेसका पूर्वपदाधिकारीदेखि शीर्ष नेताहरूलाई केन्द्रीय कार्यालयले पत्र पठाउने तयारी गरेको उनले बताए ।
‘निर्वाचन मुखैमा आएकोले सबै नेता भेट्न सम्भव छैन । केन्द्रीय कार्यालयले पत्र पठाएर सबैलाई जनकपुरको सभामा उपस्थित हुन निम्तो गर्छ’, घिमिरे भन्छन, ‘हाम्रो दृष्टिमा कांग्रेस अहिले पनि एक ढिक्का छ । नेताहरूले आफ्नो निर्वाचन क्षेत्रमा जिताउन आग्रह गरिरहनुभएको सूचना हामीले पाएका छौँ । मलाई लाग्छ, कांग्रेसका पूर्वपदाधिकारीदेखि शीर्षस्थ नेताहरू जनकपुरको सभामा आउनुहुन्छ ।’
उनले कांग्रेस अहिलेको अवस्थामा पुर्याउन महत्वपूर्ण भूमिका कांग्रेसका पूर्वपदाधिकारीहरूले नै खेलेको स्मरण गरे । उनीहरूलाई अलग्याएर कांग्रेस अगाडि बढ्ने पक्षमा नरहेको उनले दाबी गरे ।
उनी निर्वाचनमा खट्नका लागि हरेक नेतालाई उपयुक्त जिम्मेवारी दिन कांग्रेस तयार भएको दाबी गर्छन् । ‘हामी निर्वाचनमा खट्न हरेक नेतालाई उपयुक्त जिम्मेवारी दिने तयारीमा छौँ । आइतबारको केन्द्रीय कार्यसम्पादन बैठकमा पनि यसबारे कुरा भएको छ’, महामन्त्री घिमिरेले भने, ‘नेताहरूको योग्यता र क्षमता अनुसार निर्वाचनमा सहयोग गर्न खट्नुहुन्छ र खटिरहनुभएको छ भन्ने हामीलाई विश्वास छ ।’
यता कांग्रेस उपसभापति पुष्पा भुसाल पनि विशेष महाधिवेशनपछि कांग्रेस एक ढिक्का हुने प्रयत्नमा रहेको बताउँछिन् । ‘नेताहरूमा केही अलमलको अवस्था थियो । तर निर्वाचन आयोगले पनि आधिकारिक रुपमा सूचना जानकारी गराएपछि कांग्रेस एक ढिक्का हुने प्रयत्नमा छ,’ भुसाले खबरहबलाई भनिन्, ‘नयाँ पुस्ताले नयाँ अनुहार खोजेकाले पुरानालाई टिकट दिएर भएन । कतिपय नेताले आफैँ नै निर्वाचन नलड्ने जानकारी गराउनुभएको हो । टिकट नपाएकै विषयमा कांग्रेसमा खैलाबैला हुन्छ जस्तो लागेको छैन । निर्वाचनमा खट्न हरेक नेताहरूलाई जिम्मेवारी दिइन्छ ।’
कांग्रेसले निर्वाचन पछाडिको प्रधानमन्त्रीका रुपमा सभापति थापाको नाम अघि ल्याएको छ। कांग्रेसले बहुमत ल्याएमा थापा प्रधानमन्त्री हुने निश्चित छ । उनलाई अस्वीकार गरेर निर्वाचनमा असहयोग गर्ने कि सहयोग देउवा पक्ष दोधारमा छ ।
देउवाको चुनावी कार्यक्रम बहिष्कार !
भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा घाइते भएका शेरबहादुर देउवा त्यसपछाडि कांग्रेसको राजनीतिमा सक्रिय छैनन् । आन्दोलनपश्चात उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहाक जिम्मेवारी दिएका देउवाले नियमित महाधिवेशन गर्न नदिएको आरोप कांग्रेस संस्थापन इतरले लगाइरहेका छन् । खड्कालाई जिम्मेवारी दिए पनि नियमित महाधिवेशन रोकेको आरोप देउवामाथि छ । अहिलेसम्म देउवाले गगनलाई सहयोग गरेका छैनन् ।
सञ्चारमाध्यमहरूमा देउवा चुनावी सभामा सहभागी हुने लगायतका समाचार प्रकाशन भएपछि आइतबार सचिवालयले सूचना नै जारी गरेर उपस्थित नहुने जानकारी गराएको छ । ‘चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने तयारी छैन’, देउवाको सचिवालयले भनेको छ । यो निर्णयसँगै देउवा र श्रीमती आरजु दुवैले कांग्रेस सभापति थापाको टिमलाई असहयोग गर्ने आँकलन भइरहेको छ ।
देउवाको असहयोगबीच निर्वाचनमा होमिएको कांग्रेसलाई बहुमत हासिल गर्न सकस हुने विश्लेषण गरिन्छ । कतिपयले त उनी सक्रिय नभएर आफ्ना समर्थक र शुभचिन्तकलाई पनि मौन राख्नेसमेत दाबी गर्छन् । देउवानिकट संस्थापन पक्षमा देशभर कांग्रेसको ठूलो टिम छ।
यसपटक पनि चुनाव लड्ने तयारीमा रहे पनि देउवाले टिकट पाएनन् । उनले निर्वाचन जित्दै आएको डडेलधुरामा कांग्रेसले नैनसिंह महरलाई अगाडि सारेको छ । ३४ वर्षदेखि देउवाको एकछत्र चुनाव जित्दै आएको क्षेत्र डडेल्धुरामा यसपालि महरले टिकट पाए । महरनिकट नेताका अनुसार अहिलेसम्म डडेलधुरामा देउवाले आफ्ना समर्थकहरूलाई उनको पक्षमा निस्किन भनेका छैनन् ।
तर देउवाको सचिवालयले भने आफ्ना उम्मेदवारहरूलाई जितबाट रोक्न कुनै भूमिका नखेलेको स्पष्ट गर्दै आएको छ ।
अरु नेता पनि उस्तै
देउवासँगै उनी समर्थक अरू नेताहरू पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । पुस २७ देखि माघ पहिलो सातासम्म काठमाडौंमा भएको पार्टीको विशेष महाधिवेशनपछि यी नेताहरू गुमनाम भएका हुन् । गुमनाम हुने नेतामा तत्कालीन कार्यवाहक सभापति खड्का, उपसभापति गुरुङ, नेताहरू सिटौला, लेखक खाण, राणा, सिंह लगायतका नेताहरू कुनै चुनावी दृश्यमा छैनन् ।
बन्दसूचीमा नाम भएका नेताहरूबाहेक कांग्रेस संस्थापनका नेताहरू खुलेर आफ्नो पार्टीलाई मत मागेको अवस्था अहिलेसम्म नहुनुले गगनलाई उनीहरूले पनि नस्वीकारेको स्पष्ट हुन्छ । बन्दसूचीमा नाम भएका कांग्रेसका पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बे भने पाँचथरमा मत मागिरेका छन् ।
माथिका नामहरूमध्ये पूर्वकार्यवहाक सभापति खड्का भने समर्थक र शुभचिन्तकलाई मत मागिरहेका छन् । खड्काका भाइ विष्णु खड्का सुर्खेत–१ बाट उम्मेदवार छ्न् । खड्का उनको पक्षमा मत माग्नका लागि सार्वजनिक रुपमै निस्कने तयारीमा रहेको उनको सचिवालय बताउँछ ।
यसअगाडि काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका प्रकाशमान सिंह भने मत माग्न जाने तयारी छैनन् । नेताहरू खाण र रमेश लेखक पनि अहिलेसम्म कसैको पक्षमा मत माग्न निस्किएका छैनन् । लेखक पाँच महिनापछि गृहजिल्ला पुगेका छन् । लेखक देउवाका विश्वासिला पात्र हुन् । उनले हरेक समस्यामा देउवालाई साथ दिँदै आएका छन् ।
निर्वाचन आयोगले फागुन ४ गते अगाडि प्रचारप्रसारका लागि समय नदिएकाले अहिले नै नेताहरू निस्किने ननिस्किने बारे बोल्न हतारो हुने अवस्था छ । ‘नेताहरूको क्रियाकलाप हेर्दा सक्रिय भएर निस्कनुहुन्छ जस्तो मलाई लागेको छैन । आयोगले फागुन ४ गते अगाडि प्रचारप्रसारमा निस्कन रोक लगाएकाले अहिले नै भन्न हतार हुन्छ कि ?,’ कांग्रेसका एक नेताले भने, ‘पार्टीको तर्फबाट निस्किनु या ननिस्किनु भन्ने कुरा नआएपछि हामी मौन छौँ।’
अहिले नै देउवाले असहयोग गर्छन् भन्नु असान्दर्भिक : विश्लेषक
राजनीतिक विश्लेषक सञ्जीव हुमागाईं नेताहरूलाई चुनाव प्रचारप्रसारको लागि आयोगले फागुन ४ गतेपछाडि मात्रै समय दिएकाले त्यसअगाडि विश्लेषण गर्नु हतार हुने बताउँछन् । उनी कांग्रेसलाई जिताउन देउवा पक्षी नेताहरू एकजुट हुने अवस्था आउने समय बाँकी रहेको बताउँछन् ।
‘कांग्रेसमा सुरुवातमा असन्तुष्ट भएर पछि एकजुट हुने परम्परा विगतदेखि नै चलिआएको छ । आयोगले पनि प्रचारप्रसारका लागि फागुन ४ गते पछाडि समय दिएकाले नेताहरू त्यसबेला आफ्ना उम्मेदवार जिताउन निस्कने सम्भावना छ‘, हुमागाईंले खबरहबसँग भने, ‘निर्वाचनको माहोल तात्नै बाँकी रहेकाले असन्तुष्ट नेताहरू केही समय मौन बस्नुभएको होला। अहिले नै विश्लेषण गर्न हतार हुन्छ कि !’
हुमागाईं गगन थापा नेतृत्वको कांग्रेसले नयाँ अनुहार र पुस्तालाई टिकटमा प्राथमिकता दिएकाले पुराना अनुहार छुटेको हुन सक्ने विश्लेषण गर्छन् ।
‘आन्दोलनले नयाँ आउनुपर्छ भन्ने मागसहित पुरानालाई टिकट नदिएको देखिन्छ । तर टिकट नदिएकै विषयलाई लिएर कांग्रेसका नेताहरू इखमा बस्नुहुन्छ जस्तो लागेको छैन,’ हुमागाईं भन्छन्, ‘यसबारे अहिले नै कमेन्ट गर्नु उपयुक्त हुँदैन ।’
महामन्त्री प्रदीप पौडेल पनि फागुन ४ गते पछाडि नेताहरू आफ्ना उम्मेदवार जिताउन देश दौडाहामा निस्किने विश्वास व्यक्त गर्छन् ।
‘अहिले त देश दौडमा निक्लिने नेताहरूको समय भएको छैन । निर्वाचनको माहोल फागुन ४ गते पछाडि मात्रै तात्छ त्यसपछि उहाँहरु निस्केर आफ्ना उम्मेदवार जिताउन लाग्नुहुन्छ’, पौडेलले खबरलाई भने, ‘विशेष महाधिवेशनको इख लिएरै नेताहरू बस्नुहुन्छ भन्ने मलाई लाग्दैन । हामी उहाँहरूलाई सम्मानपूर्वक आफ्ना जिम्मेवारीमा खटाउने तयारीमा छौँ’ ।













प्रतिक्रिया