कोइराला परिवारको ‘लालकिल्ला’ ढल्यो: मोरङका सबै क्षेत्रमा घण्टीको राज « Khabarhub

कोइराला परिवारको ‘लालकिल्ला’ ढल्यो: मोरङका सबै क्षेत्रमा घण्टीको राज



काठमाडौं- मोरङ नेपाली कांग्रेसको बलियो आधार इलाका हो । कांग्रेसमा प्रभावशाली कोइराला परिवारको पकडभूमि मोरङमा यस पटक कांग्रेसले लज्जास्पद हार व्यहोर्नु परेको छ । विगतका निर्वाचनमा मोरङले नयाँलाई खासै मौका नदिए पनि यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीको देशव्यापी लहरलाई यहाँका जनताले स्वीकार गरेका छन् ।

लामो समयदेखि कांग्रेसमा स्थापित प्रभावशाली नेतालाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जिल्लाका सबै ६ वटै निर्वाचन क्षेत्रमा एकछत्र जित निकाल्यो । विगतदेखि कांग्रेसको विरासत मानिएको मोरङमा यस पटक पनि कोइराला परिवारका तर्फबाट डाक्टर शेखर कोइराला ६ नम्बर क्षेत्रबाट उम्मेदवार थिए । उनले पनि लज्जास्पद हार व्यहोर्नु परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नयाँ युवा शक्तिसँग कांग्रेसको गढका नेताहरू हार्नुलाई नयाँ राजनीतिक चेतनाको संकेतका रूपमा हेरिएको छ । हुन त कम्युनिष्टको गढ रहेको झापामा पनि पाँचवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकछत्र जित निकाल्यो । यस पटक ठूला दललाई राष्ट्रिय स्वतन्त्र पार्टीले पाठ सिकाएको देखिन्छ ।

मोरङका ६ निर्वाचन क्षेत्रमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ३, नेकपा एमालेले १ मा विजय हासिल गरेको थियो । त्यसबेला एक क्षेत्रमा स्वतन्त्र उम्मेदवारले जित्दा अर्कोमा तत्कालीन नेकपा माओवादीले जित निकालेको थियो । यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले ठूला दललाई बढारेको छ ।

२०६४ सालमा माओवादीको लहर चल्दा पनि मोरङमा कांग्रेसको विरासत ढाल्न सकेको थिएन । तर जेन-जी आन्दोलनपछि उर्लिएको नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको लहरले भने मोरङलाई राजनीतिक रुपमा फेरि चलायमान बनाएको छ । हुन त देशैभरिको नतिजा हेर्दा शीर्ष नेता र पुराना दल कुनै पनि रुपमा सुरक्षित छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जित्ने तयारीमा छ ।

विशेष महाधिवेशन गरेर परिवर्तित भयौँ भन्ने सन्देश दिएका पार्टी सभापति गगन थापा, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे नै पराजित भएपछि नेतृत्वमाथि नैतिक प्रश्न उठिरहेको छ । यता कांग्रेसनिकट राजनीतिक विश्लेषक भने देशव्यापी रूपमा कांग्रेस एक ढिक्क भएर अगाडि नबढेका कारण पनि अप्रत्यासित हार बेहोर्नु परेको विश्लेषण सुनाइरहेका छन् ।

झापा-५ बाट सरेका न्यौपानेको अनपेक्षित जित

राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोरङ क्षेत्र नम्बर १ मा विजय भएका यज्ञमणि न्यौपाने झापा-५ का स्थायी बासिन्दा हुन् । वरिष्ठ नेता बालेन्द्र शाह झापा-५ आएर अध्यक्ष केपी शर्मा ओलीसँग निर्वाचन लड्ने भएपछि उनलाई मोरङ-१ सारिएको थियो । चुनाव जित्ने उम्मेदवारमा नगनिएका यज्ञमणिले अनपेक्षित नतिजा ल्याएका छन् ।

यहाँबाट न्यौपानेले २७ हजार ३३७ मत ल्याउँदा श्रम संस्कृति पार्टी दोस्रो भएको छ । श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत ल्याइन् । नेपाली कांग्रेसका खड्कबहादुर फागोले ११ हजार ९८६ मत ल्याए ।

निकटम प्रतिद्वन्द्वी पाख्रिनको मतभन्दा न्यौपानेको मत ९ हजार ८४५ ले बढी छ। यहाँ नेकपा एमालेका घनश्याम खतिवडाले ९ हजार ८२३ मत ल्याएर चौथो स्थान कायम गरेका छन् । अधिवक्ता रहेका न्यौपाने राजनीति पारदर्शी हुनुपर्ने पक्षमा आवाज उठाउँदै आएका थिए । गत निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका डिकबहादुर लिम्बू विजयी भएका थिए ।

मोरङ-२ मा हेभिवेटलाई कृष्णको चक्मा

नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि कांग्रेस परिवर्तन भयो भन्ने सन्देशसहित डा. मीनेन्द्र रिजाल यस पटक निर्वाचनमा होमिएका थिए । तर, मीनेन्द्रले लज्जास्पद हार बेहोर्नु परेको छ । कोइराला परिवारसँग रिजालको निकट सम्बन्ध रहेको ठानिन्छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्णकुमार कार्की ४० हजार ९२४ मत ल्याएर विजयी भएका छन् । दोस्रो भएका नेकपा एमालेका उम्मेदवार दिलीपकुमार अग्रवालले १५ हजार ६२४ मत ल्याए ।

कांग्रेसका प्रभावशाली नेताका रुपमा चिनिने रिजाल भने तेस्रो भएका छन् । उनले यहाँबाट १२ हजार ७६४ मत ल्याए । ०७९ को निर्वाचनमा यसक्षेत्रबाट नेकपा एमालेका ऋषिकेश पोखरेलले जितेका थिए । सहकारी काण्डमा मुछिएपछि एमालेले यसपटक उनलाई टिकट दिएको थिएन ।

०७९ को निर्वाचनमा यहाँ पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजता कोइराला पराजित भएकी थिइन् । गिरिजाले २०४८ सालदेखि २०५६ सालसम्म निरन्तर रूपमा निर्वाचन जितेको यो क्षेत्र नेपाली कांग्रेसको पकडभूमि हो । कोइरालाले लगातार तीन पटक यसै क्षेत्रबाट निर्वाचन जितेका थिए । तर त्यो विरासत पछिल्लो समय कसैले जोगाउन सकेनन् ।

गणेशले मारेको असम्भव बाजी

राष्ट्रिय स्वतन्त्र पार्टीका वैचारिक नेता मानिने गणेश कार्कीले पनि मोरङ-३ बाट अप्रत्यासित जित निकालेका छन् । ०७९ को निर्वाचनमा यहाँबाट जितेका सुनिल शर्माले सामाजिक काम गरेर पकड क्षेत्र बनाउने प्रयास गरेका थिए । सोही कारण मोरङ-३ मा गणेशलाई निर्वाचन जित्न निकै चुनौती थियो ।

जुनसुकै विषयमा खरो रुपमा प्रस्तुति दिने कार्कीलाई यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीले नजित्ने सूचीमा राखेको बताइन्छ । तर कांग्रेसका बलिया उम्मेदवारलाई पछि पार्दै गणेशले अनपेक्षित नतिजा निकाले । मोरङ-३ बाट गणेशले ३६ हजार ९२४ मत ल्याउँदा कांग्रेसका सुनिल शर्माले २४ हजार ३५४ मत ल्याए । यहाँ श्रम संस्कृति पार्टीका अमर मगर १६ हजार ५०९ मत ल्याएर तेस्रो भएका छन् ।

बालेन्द्र शाहसँग निकटता रहेको विश्वास गरिने गणेशलाई बालेन्द्र रास्वपामा आएपछि मौका मिलेको छ । २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सूचीमा राखेको उनलाई क्लस्टर नमिल्दा सांसद बनाउन पाएको थिएन ।

मोरङ-४ मा गुरुराजको हार

मोरङ-४ मा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे उम्मेदवार थिए । विगतमा माओवादीका अमललाल मोदीले जितेको यस निर्वाचन क्षेत्र माओवादीले समेत जोगाउन सकेन । यहाँबाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी पेशाले पत्रकार हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई पनि जित्ने सूचीमा राखेको थिएन । तर उनले जितेर देखाइदिए ।

युवाको साथ र राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको लहरले गर्दा सन्तोषले माओवादी र कांग्रेसका ठूला नेताहरुलाई पराजित गरिदिएका छन् । सन्तोष आफैँले पनि यो जितलाई अप्रत्यासित मान्ने गरेको उनका निकट सहयोगी बताउँछन् । यहाँ सन्तोषले ४० हजार ८३३ मत ल्याउँदा दोस्रो भएका गुरुराज घिमिरेले १२ हजार ८१८ मत ल्याए ।

०७९ को निर्वाचनमा जितेका अमलाल मोदीले भने १० हजार ७६२ मतमा खुम्चिए । घिमिरेलाई सन्तोषले २८ हजार १५ मतान्तरले पराजित गरिदिएपछि उनको चर्चा चुलिएको छ । सामान्य परिवारबाट प्रतिनिधित्व गर्ने राजवंशी नेपाल टेलिभिजन इटहरी च्यानलमा रहेर लामो समय काम गरेका व्यक्ति हुन् ।

मोरङ ५ मा आशाप्रति जनताको भरोसा

मोरङ-५ ले नयाँ चाहन्छ भन्ने कुराको पुष्टि ०७९ कै निर्वाचनमा भइसकेको थियो । तर राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँबाट जित्छ भन्ने आँकलन धेरैले गरेका थिएनन् । यहाँबाट नागरिक समाजकी अगुवा भएर काम गरेकी आशा झा रास्वपाको संसद बनेर काठमाडौं जाँदैछिन् । सामाजिक अभियन्ता उनी मोरङ विराटनगर महानगरपालिका अभिवादन टोल निवासी स्थानीय हुन् ।

४२ वर्षकी झाले राष्ट्र स्वतन्त्र पार्टीबाट अप्रत्यासित नतिजा निकालेकी छन् । उनले ३० हजार ४३४ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९ हजार ४१५ मत ल्याए । यहाँबाट जनता समाजवादी पार्टीका राजकुमार यादवले ८७४ मत ल्याएका छन्। ०७९ को निर्वाचनमा मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका थिए । यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शिवकुमार मण्डलले ८,६१४ मत ल्याएका छन् ।

एमालेका मनोज कुमार अग्रवालले ६, ९४५ मत ल्याए । आशालाई स्थानीय धेरैले नजित्ने उम्मेदवारको रुपमा गनेका थिए । पार्टीले पनि उनलाई जित्न सक्ने उम्मेदवार मानेको थिएन । तर आशाले अप्रत्यासित नतिजा निकालेर कांग्रेस एमाले लगायतलाई धक्का दिएकी छन् ।

कोइरालाको विरासत ढाल्ने रुबिना

मोरङ-६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा नेतृ रुबिना आचार्यले कोइराला परिवारको विरासत भत्काएकी छिन् । विगतको नतिजा हेर्दा पनि मोरङ-६ का मतदाता स्थिर नरहेको देखिन्छ । कांग्रेसका प्रभावशाली नेता मानिने डा. शेखर कोइरालालाई भारी मतले पछि पार्दै रुबिनाले विजय गर्नुलाई आश्चर्यजनक र अनपेक्षित नतिजाका रुपमा हेरिएको छ । विगतबाटै कोइराला परिवारको राम्रो प्रभाव रहेको यस क्षेत्रमा रुबिनाको जितले धेरैलाई उत्साह थपिदिएको छ ।

वैकल्पिक राजनीतिबाट उदाएकी रुबिनाले यसपटक शेखरलाई हराइदिएर चर्चा कमाएकी छन् । रुबिनाले यहाँबाट ५५,५१३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कोइरालाले १२,८५० मत मात्र पाए । यहाँ नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ८,३१७ मत पाएका छन् ।

विराटनगर घर भएकी रुबिनालाई धेरै युवा तथा कांग्रेसका नेताहरूले नै राम्रो साथ दिएको देखिन्छ । रुबिना र शेखरको मतान्तर ४२ हजार ६६३ छ । कोइराला परिवारको विरासत ढालेपछि रुबिना भने आतिएकी छैनन् । उनी सबैलाई मिलाएर जनअपेक्षा अनुसार काम गर्ने बताएकी छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ७ : ५८ बजे

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

धुलिखेल– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ र ५ मा भइरहेको कफी

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि