काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुईजना महिला सांसदको उम्मेदवारी दर्ता भएको छ।
बिहीबार उपसभामुख पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको हो ।
१८२ सिट भएको रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् ।
उनको प्रस्तावकमा आरेन राई र समर्थकमा अशोक कुमार चौधरी तथा अम्विका देवी संग्रौला छन् ।
रुबी कुमारीले उम्मेदवारी दर्ता गर्दा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीसमेत संसद सचिवालय पुगेका थिए ।
उपसभामुखमा उम्मेदवारी दिएपछि रुबी कुमारीले आफूलाई सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै भूमिकाअनुसारको जिम्मेवारी पुरा गर्न सक्षम रहेको बताइन्।
उनले मधेशको गाउँकी एउटी केटीलाई यति माथिसम्म ल्याइदिएकामा श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको प्रशंसा गरिन् ।
‘म त मधेशको गाउँकी एउटी छोरी हुँ । यो उपलब्धि सबै मधेशका जनताको हो । मलाई चुन्ने सबैलाई म धन्यवाद दिन्छु’, उनले भनिन्, ‘मलाई धेरै खुसी लागेको छ। सबैप्रति म आभारी छु । मलाई केही कुरा थाहा थिएन ।’
उनले आफू मधेशकी छोरी दोहोर्याइन् । उनले पार्टी अध्यक्ष हर्क साम्पाङको खुलेर प्रशंसा गरिन् । ‘मैले यी सबै कुरा सोचेकै थिइनँ। म भुइँको मान्छेलाई यतिसम्म, यति माथिसम्म पुर्याइदिनु भयो’, उनले भनिन्, ‘यसका लागि म अध्यक्षसँग सधैँ ऋणी छु । यो जिम्मेवारीसम्म ल्याइदिनु भएकोमा म अध्यक्ष हर्क साम्पाङलाई भगवान् नै मान्छु ।’













प्रतिक्रिया