‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’ « Khabarhub

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

'साउन २५ गते भित्रमा शेरबहादुर समूहले पार्टी अर्को दर्ता गर्छ'



काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय खोल्ने महत्त्वपूर्ण भूमिकामा रहेका पूर्णबहादुर (कान्छाराम) तामाङ कांग्रेस फुट्ने दाबी गर्छन् । फुटेको कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइराला पक्ष हुने उनको भनाइ छ। कांग्रेसलाई एक ढिक्का बनाउनका लागि सभापति गगन थापा लचिलो नभएको र संवादमै नआएको कान्छारामको जिकिर छ ।

उनी गगन लचिलो भएको खण्डमा १०/१५ मिनेट भित्रै कुरा मिल्ने बताउँछन् । तर गगन आफूहरुको सम्पर्कमै नआएका कारण कांग्रेस फुट्ने अवस्थामा पुगेको उल्लेख गरे । गगन सम्पर्कमा आए पार्टीका बूढापाका नेता मिलाउने जिम्मा आफूले सम्हाल्ने बताए । गगन थापाले कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग मिलेर तयार पारेको ७ बुँदे सहमतिपत्र कार्यान्वयन गरेको खण्डमा कांग्रेस एक ढिक्का हुने कान्छारामको भनाइ छ ।

कान्छाराम र गगनको सम्बन्ध फागुन २१ को निर्वाचन अगाडि ठिकै थियो तर निर्वाचनमा गगनले कान्छारामलाई टिकट नदिएपछि उनी बिच्किएका हुन् । गगनसँग कान्छाराम बिच्किएको फाइदा अहिले शेरबहादुर देउवा पक्षले उठाइरहेको देखिन्छ । खबरहबले कांग्रेस नेता कान्छाराम तामाङसँग पार्टीको पछिल्लो अवस्था, विभाजनको कारण, गगन र पूर्वसभापति शेरबहादुर देउवा पक्षका विविध गतिविधि र समग्र अवस्थाका विषयमा विशेष कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

सम्पर्क कार्यालयको साँचो नेताहरूको हातमा सुम्पेको देखियो । नयाँ पार्टी खुल्दैछ कि क्या हो ?

अहिलेसम्म नयाँ पार्टी खोलिएको छैन । गगन कुमार थापालाई शेरबहादुर देउवा समूहले मिलेर जाने सहमति गरौँ भनेर धेरैचोटि भन्नुभयो । जेठको २२ गते पूर्णबहादुर खड्काको घरमा आएर सहमति गरेर जानुभयो । आज असार २५ नाघिसक्यो, अहिलेसम्म उहाँहरुले सम्पर्क गर्नु भएको छैन । सम्पर्क नगरेपछि शेखर कोइरालालाई अल्टिमेटम दिएको रहेछ । अब पार्टी मिल्छ जस्तो लाग्दैन । किनभने भदौ २ गते वडा सम्मेलन राखिएको छ ।

अब जम्मा ३८ दिन बाँकी छ । ३८ दिनभित्रमा यिनीहरू सहमतिमा नआए अब लगभग पार्टी फुट्यो भनेर जान्नुपर्छ । गगन सहमतिमा नआए छिट्टै पार्टी फुट्छ । डकुमेन्टहरू बनाइराखेको जस्तो मलाई लागेको छ । जहाँसम्म कार्यालय खोलेको कुरा छ, त्यो पन्ध्रौँ महाधिवेशनका लागि हो । मलाई चाहिँ घर खोजेर सम्पर्क कार्यालय व्यवस्था गरिदिनुहोस् भन्ने आग्रह गरिएको थियो । शेरबहादुर टिमले मलाई त्यस्तो जिम्मेवारी दिएको हो । मैले घर खोजेँ, सबैले गच्छेअनुसार पैसा उठाएर रंगरोगन गराएर मैले चाबी हस्तान्तरण गरेको हो ।

गगन सहमतिमा आएनन् भने पार्टी फुट्छ भन्नुभयो, सहमतिको विन्दु चाहिँ के हो ?

हाम्रो खासै त्यस्तो केही छैन, सातबुँदे सहमति भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित टोली गगनसँग छँदैछ । त्यसलाई पुरानो कार्यसमितिका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला पक्ष १४औँ महाधिवेशनमा गगनको टिमका मान्छेहरुलाई केन्द्रीय कमिटीमा जो-जो आफ्नो पक्ष लगिदिनुहोस् भन्ने हाम्रो कुरा हो । ठिक छ- कार्यसमितिमा उसकै बहुमत पुर्‍याओस् । त्यो हामीलाई टाउको दुखाई छैन । महत्वपूर्ण कुरा चाहिँ पार्टी मिलेर जानुपर्छ । पार्टीमा सबैले दुःख पसिना लागेको छ ।

मिलेर जाने कुरामा चाहिँ तपाईहरु पनि लचिलो हुनुभएन रे ! आज एउटा सहमति गर्‍यो, भोलि अर्कै कुरा गर्नुहुन्छ रे ?

यो गलत कुरा हो । मलाई गगनपट्टि लाग्नुपर्ने आवश्यकता पनि छैन, शेरबहादुरसँग लाग्नुपर्ने आवश्यकता पनि छैन । म भोलि गगनसँग पनि नहुन सक्छु, शेरबहादुरसँग पनि नहुन सक्छु । राजनीति नै नगर्न पनि सक्छु । तर मैले देखेको कुरा बोल्नुपर्छ । म धार्मिक मान्छे हो । मैले बोलेका धेरै कुराहरू पुगेका पनि छन् । गगनहरुले गरेको कुरा एकदमै गलत छ ।

पार्टी सभापति गगन थापामाथि किन यति धेरै पूर्वाग्रही हुनुभएको ?

उसले पार्टीमा एकलौटी गर्छु भन्यो, गर्‍यो । अहिले उसले बुढापाकाको टोलीलाई मिलाएर लाँदा कसैले किन ल्याएको भनेर सोध्ला । गगनले पार्टी कुनै पनि हालतमा एक गर्न सक्दैन । गगनले एक हप्ताभित्रमा पार्टीलाई एक बनाएछ भने म कांग्रेसमा बस्दिनँ, राजनीति नै गर्दिनँ । मैले गगनको सबै व्यवहार बुझ्याछु । १३ औँ महाधिवेशनमा ससुरोसँग जुधेको बिर्सिनुभयो ? ससुरा त एउटा नातासम्बन्ध र घरभित्रको मान्छे हो नि । मितको साइनो त कति प्रगाढ हुन्छ । अनि पदको लागि आफ्नै ससुरासँग भिड्ने मान्छेले पार्टी एक बनाउँछ ? गगन ससुरालाई नै अन्याय गरेको हो ।

गगन इमान्दार पनि हो भन्नुभयो, आलोचना पनि गर्नुभयो, कुरा बुझिएन नि ?

गगनलाई इमान्दार भन्नुको कारण उनले साथीभाइ इष्टमित्र र प्रतिनिधिलाई म यो पार्टी आफ्नो पक्षमा ल्याउँछु र कब्जा गर्छु भनेका थिए । ५४ प्रतिशत मान्छेहरू मिलाएर पार्टी कब्जा गरेकोमा उनी ढुक्क छन् । भोलि ५४ प्रतिशत मान्छे हुँदाहुँदै अरु किन ल्याइस् भनेर उसलाई त कारबाही गर्ने भए ।

यो विषयमा गगन इमान्दार हो । अब भोलि ५४ मध्ये शेरबहादुर देउवा पक्षले पार्टी खोल्दा उनलाई छोडेर उता लाग्छन् । त्यसकारण उनी इमान्दार भएकै कारण फस्दै छन् । गगनले दुई तीन महिनामात्रै पर्खिदिएको भए उनलाई हामी इमान्दारपूर्वक र लोकप्रियताका साथ पार्टी सभापति बनाउने थियौँ । तर उनले जबरजस्ती विशेष महाधिवेशन गरे । भोलि तिनै विशेष महाधिवेशन पक्षधरले शेरबहादुर देउवा अथवा नयाँ पार्टी खोल्दा यतापट्टि आएपछि गगन फस्छन् । यति कुरा मैले बोलेँ कि गगनको राजनीति सकिँदैछ । गगन पक्षका २५ प्रतिशत बढी साथीहरु अहिले हाम्रो सम्पर्कमा हुनुहुन्छ ।

उसो भए कांग्रेस फुट्छ ?

कांग्रेस हामीले फुटाएको होइन । साउन २५ गते भित्रमा शेरबहादुर समूहले अर्को पार्टी दर्ता गर्छ । हामी हिँड्ने बाटो पनि त चाहियो नि । गगनको पछि आत्मसमर्पण गर्दै को जान्छ ? हामीले पनि उपाय त खोज्नु पर्‍यो । एउटा पार्टी दर्ता हुन्छ । कांग्रेस १०० प्रतिशत फुट्छ विश्वास गर्नुहोस् ।

चुनाव चिन्ह झण्डाहरू टुंग्याउनुभयो ?

यो महिनाभित्र लगभग हाम्रो फाइनल हुन्छ । दुईचार दिन परिस्थिति नियालेको हो । आजभोलि नै फाइनल हुनसक्छ । किनभने हामीले शेखर कोइरालाको निर्णय पर्खेर बसेको हो । पुरानो कार्यसमितिका अहिले पनि ९१ जना नेताहरु शेरबहादुर समूहमा हुनुहुन्छ ।

अहिले डा. शेखर कोइराला यता न उताको हुँदा चाहिँ तपाईँहरूलाई समस्या भएको हो ?

शेखरको आफ्नै एउटा समूह छ । शेरबहादुरको एउटा समूह छ । हामी एक भएर अहिलेसम्म काम गरेको छैन । शेखरको टिमबारे त थाहा छैन तर अब गगनले शेरबहादुरको टिमलाई लाँदैन भन्ने कुरा हामीले बुझिसक्यौँ । गगनले उहाँलाई मात्र लैजान्छ कि भन्ने शेखर डाक्टर साहबको कुरा छ । त्यही कारण शेखर डाक्टर साहबको कुरालाई पर्खिराखेका छौँ । शेखर डाक्टर साहबले भनेको कुरा गगनले नमाने एक दुई दिनमा शेखर र शेरबहादुर समूह मिलेर पार्टी खोल्छौँ । तर शेखरले यदि गगनसँग कुरा गरेर शेरबहादुर पक्षलाई पनि मिलाउँ भनेर प्रस्ताव राखेर निर्णय भयो भने त्यो अवस्था नरहन सक्छ ।

शेखरलाई निर्णायक ठान्नुभएको हो ?

यस्तो हो- शेखर गगनजीकोमा जानुभयो भने ठिकै छ। नत्र उहाँले छुट्टै पार्टी खोल्नु पर्‍यो । हामी शेरबहादुर पक्षले पनि छुट्टै खोल्नुपर्‍यो । बरु हामीसँग मिलेर जाउँ भन्ने कुरामा त शेखरजी सहमत नै हुनुहुन्छ नि ।

अहिले कांग्रेसमा मिलाउने मध्यस्थकर्ताको पो अभाव भयो कि ?

हामी यति लचक छौँ कि शेरबहादुर समूहका मान्छे सबैले पद र अवसर पाइसके । तर गगन समूहका कसैले पाएका छैनन् । पूर्णबहादुरले उपप्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री सबै पाउनुभयो । सिटौला, प्रकाशमान, प्रकाशरण, विमलेन्द्र हुँदै आरजुले पनि सबै पद पाइसक्नुभयो । तर गगनको टिमले केही पाएको छैन । गगनको टोलीले सत्ता चलाएकै छैन । हामीलाई त्यहाँ लैजाकाको लागि त गगनले हाइहाइ गरेर मिलाउनु पर्थ्यो नि । तर उहाँले मिलाउन चाहनुभएको छैन । सबै पाएर पनि हाम्रो टिमले लचकता अपनाइरहेको छ नि । म स्वयंले धेरै अवसर पाइसकेँ ।

मिल्न नचाहनुको कारण चाहिँ के बुझ्नुभयो ?

मेरो विश्लेषणमा गगन इमान्दार हो भन्ने बुझेको छु । किन भने ५४ प्रतिशतको बहुमत लगेर गएपछि उहाँले तिनीहरु किन चाहियो भनेर हेला गर्नुभयो । अब ५४ प्रतिशतले भोलि अर्को लफडा गरिदिए गगन बिचरा कहाँ जाने ?

अहिले पुराना नेताहरूको काम छैन, युवालाई अवसर दिनुपर्छ भन्ने पनि देखिन्छ नि ?

पुरानाको काम छैन भन्दैमा बाउआमालाई लगेर खोलामा हाल्ने ? वृद्ध पनि त चाहियो नि । त्यही वृद्धहरूले लडाईं लडेर त आज गगन सभापति भए । नलडेको भए त उनी सभापति हुँदैन थिए । मेरो भनाइ के हो भने बुढापाका पनि चाहियो, तरुणतन्नेरी पनि चाहियो । मंसिरसम्ममा नयाँ पार्टी खोलेर गगन र शेरबहादुरको पार्टी दाँजौला, मंसिरपछि कुरा गरौँ ।

उसोभए कांग्रेस अब एक ढिक्का नहुने पक्कापक्की हो ?

हामी त अहिले पनि एक ढिक्का हुन तयार थियौँ । तर गगन पक्ष एक ढिक्का बनाउनका लागि तयार छैन । त्यसकारण पार्टी फुट्ने विश्लेषण गरेर नै सबै तयारी सुरु भएको हो । गगन भागेको भागेकै गरेपछि हामीले आत्मसमर्पण गर्ने कुरो भएन । गगन अहिले बेलुका राति आयो भने पनि १२/१ बजेसम्म मिलाइदिने जिम्मेवारी मेरो भयो ।

तर गगन लचिलो भएर आओस् । को बुढा पाका मान्दैन, त्यसको जिम्मेवारी म लिन्थेँ । सुरुमा गगन सम्पर्कमा आउनुपर्‍यो नि । इमान्दार कुरामा त दुवै चिज मिल्नुपर्‍यो नि । गगन लचिलो भएर आए पार्टी फुट्दैन । गगनले यही पारा देखाउने हो भने पार्टी फुट्छ । गगन आए पार्टी मिलाइदिन्छु भन्या हो । बूढा मिलाउने जिम्मेवारी मेरो भयो । त्यसको लागि गगन तयार हुनुपर्‍यो ।

तपाईँसँग गगन र शेरबहादुर पक्ष मिलाउने सूत्र चाहिँ के छ ?

भएको कुरालाई इमान्दार भएर दुई वटै टिमले स्वीकार गरेपछि त सूत्र त्यही हो नि । पुराना कार्यसमितिका मान्छेहरूलाई उपयुक्त जिम्मेवारी दिने । समितिहरूमा शेरबहादुर समूहका मान्छेहरू पनि मिलाएर राखिदिने, पद सबैलाई समान रूपले वितरण गर्ने, लचिलो हुने । इमान्दारिता देखाउने हो भने त १० मिनेटमै मिल्ने कुरा छ नि ।

किन गगन लचिलो नभएका भेट्न किन नचाएका होलान त ?

अहिले गगनलाई ५४ प्रतिशतले ले उचालेका छन् । भोलि उनीहरुले लफडा गरिदिन्छन् ।

उसो भए तपाईंको भनाइमा गगन यता न उताको हुँदैछन् हो ?

गगनले कांग्रेस मिलाउन सकेन भने राजनीतिमा ठूलो दुःख पाउँछन् । उनी राजनीतिमा सफल हुँदैनन् । गगन मसँग परिवार जस्तो भएर हुर्केको, उसका सबै आनीबानी मलाई थाहा छ । गगनले धेरै दुःख पाउँछ । गगनको सोच प्रधानमन्त्री हुने देश चलाउने हो नि । तर अब भोलिका दिनमा गगनको विरुद्ध सबै पार्टी लाग्ने अवस्थामा देखिन्छ । गगन हराउन हिजो पनि सबै लागेका थिए, भोलि पनि त्यही तरिकाले लाग्छन् । बिचारा गगनको लक्ष्य सकिँदैछ ।

आजको दिनमा गगनले मिलाउन ठ्याक्कै के गर्नुपर्छ ?

गगनले मिल्नका लागि सात बुँदेमा कुनै छलफल गर्नुपर्ने भए गर्नुपर्छ । यसो भयो भने आज राति नै मिल्न पनि सकिन्छ । गगन मिल्न तयार भए आजै मिलाइदिन्छु । मिलाएपछि म मंसिरसम्म राजनीति गर्छु, त्यसपछि गर्दिनँ ।

गगन सहित कांग्रेस मिल्यो भने चाहिँ राजनीति नगर्ने ?

हो । म लफडामा फस्दिनँ । यदि पार्टी फुट्यो भने म एउटा आमन्त्रित सदस्य लिएर बस्छु । शेखर समूह र शेरबहादुर समूहलाई सहयोग गर्छु, शेखर-शेरबहादुर समूहमा बस्छु । मिल्यो भने राजनीति गर्दिनँ ।

गगनसँग केमा तुस पर्‍यो यति सारो ?

म ०७४ मा माओवादी र नेकपा मिल्दा ३६ हजार भोट ल्याएर हारेको । ०७९ मा माओवादीसँग गठबन्धन भयो । मैले त्यसमध्येबाट देशैभरिबाट ४ नम्बरमा भोट पाएँ । कांग्रेसमा दोस्रो भएँ । पहिलो सुनिल शर्मा भए । ओलीले पहिलो नम्बरमा भोट ल्याउँदा रविले दोस्रो तेस्रोमा डाक्टर सुनिल र चौथोमा मैले ल्याएको हो । ४७ हजार भोट ल्याएको थिएँ ।

तर ०८२ मा उनले मलाई टिकट दिएनन् । दोस्रो कुरा मलाई टिकट दिनुपर्छ भन्ने पनि होइन । तर सिफारिस गरेका ६ जनाभन्दा बाहिरबाट उनले अर्को व्यक्तिलाई टिकट दिए । राष्ट्रियसभामा पनि त्यस्तै भयो । गगनसँग मेरो २० चोटीसम्म सम्पर्क हुन्थ्यो तर टिकट नपाएपछि भएन । ए कान्छा दाइ यसो पो भयो है भनेर एक पटक उसले सम्झिनु पर्दैन ? तर मैले उसले पठाएको उम्मेदवारलाई भोट हाल्दिनुस् भनेर मत माग्दै हिडेँ । अर्काको हातको भोट आफूले हाल्ने कुरा भएन । त्यति गर्दा पनि हाम्रो मान्छे तेस्रो भयो । मैले एक्लै लड्दा ३६ हजार भोट ल्याएको उसले १६ हजार ल्यायो ।

तपाईँलाई त कांग्रेस फिर्दा फाइदा रहेछ नि ?

होइन ! मैले राजनीति गर्दिनँ भन्न त पाएँ नि । मलाई कांग्रेस एक ढिक्का होस्, आजको दिनमा पनि नफुटोस् भन्ने छ । तर मैले आफ्नो निर्णय लिन त पाएँ नि ।

उसो भए नयाँ पार्टी खोल्दा तपाईँ के भूमिकामा रहने ?

म चौकीदारको भूमिकामा हुन्छु । मैले पार्टीका साथीहरुलाई भनिसकेको छु– एक एक मुठी खर्च गरी पार्टी बनाएर अगाडि बढौँ । कति कप चिया खान्छौँ, त्यो सबैले भाग लगाएर पैसा तिरौँ भन्ने तरिकाले अगाडि बढेको छु । त्यसकारण म चौकीदार हुन्छु । पद मलाई चाहिएन । नर्सरीबाट सुरु गरिदिन्छु, पार्टी खोल्यो भने ।

धेरै जनाले त कान्छाराम तामाङका कारण पनि पार्टी फुट्छ पनि भन्दा रहेछन् नि ?

अहिले शेरबहादुर दाइको समूहमा पूर्णबहादुर, प्रकाशमानसिंह, बिमलेन्द्र जजसले जे गर्नु परे पनि मसँग सल्लाह लिने गरेका छन् । मैले यसो गर्नुपर्छ, यसरी जानुपर्छ भन्ने कुरा गरेपछि उहाँहरुले समर्थन नगर्ने भन्ने कुरा छैन । मेरो कुरा पनि उहाँहरुले अलिअलि मान्नुहुन्छ जस्तो लाग्छ ।

उसो भए कान्छाराम तामाङका कारण कांग्रेस मिल्न नसकेको भन्ने कुरालाई कसरी हेर्नुहुन्छ ?

यो कुरा चाहिँ मलाई गगनले फोन गरेर भनेको खण्डमा म आज नै कांग्रेस पार्टी छोड्न तयार छु । यता शेरबहादुर पक्षले भन्छ भने पनि म तयार छु । तर मैले कुनै पनि हिसाबले पार्टी फुटाउन खोजेको होइन । म आफ्नो तर्फबाट पार्टी मिल्यो भने केही समयपछि रहन्न, आफ्नै पेशा व्यवसायमा फर्किन्छु भन्ने निर्णय गरेको हो ।

गगन पनि युवा तपाईं पनि युवा नेता नै हुनुहुन्छ । किन मिल्न नसक्या त ?
म जिल्ला सभापतिको सिफारिस हुँदासम्म टिकट नदिने गगनजीले। अहिले नेपाल अधिराज्यभर व्यक्तिगत रूपमा कांग्रेसभित्र लगानी कसले गरेको छरु मैले गरेको छु नि। मैले रामेछापमा के गरेको छैन ? १४ वटा एम्बुलेन्स दिएको छु। १०० किलोमिटर बाटो पनि बनाइदिएको छु। आइसोबेड पनि उपलब्ध गराएको छु। मैले नेपाली कांग्रेसलाई मात्र होइन, अरू साथीहरूलाई पनि लगानी गरेको छु। गगन युवा मान्छे चाहिन्छ भन्ने, अनि हामीलाई पनि टिकट नदिनेरु उसले ‘यसो गरौँ न’ भनेर फोन पनि नगर्ने। अनि उसको ऋण खाएको छ र मैले त्योसँग लाग्नुपर्ने ? ऋण त कसैले खाएको छैन नि। अब राजनीतिक कुरा गर्दा, म २०५४ सालमा गाविसको टिकट पाएर जाँदाखेरि गगन त्रिचन्द्र कलेजमा फूल रोप्ने भनेर ३० लाख रुपैयाँ पेस्की लिएर बसेको थियो त्यतिखेर। बेरुजु छ भनेर हाउसमा कुरा उठिरहन्थ्यो, पोहोरतिर पनि। गगनले पार्टीमा के लगानी गरेको छ ? हामीले त्यति लगानी गरेका छौँ। ३० वर्षअघि पनि सोलुको शेर्पाले अङ्ग्रेजी सबै जान्नुहुन्थ्यो। त्यहाँको परिवेश पर्यटकसँग काम गर्ने भएकाले त्यस्तै थियो। यहाँ एमए पास गर्नेले अङ्ग्रेजी जान्दैन, तर सोलुका शेर्पाहरूले जानेका छन्। किनभने त्यहाँ बोल्न नै अङ्ग्रेजी बोलिन्छ। गगनको पनि कुरा के हो भने, उसलाई राजनीति गर्न आउँदैन, बोल्न मात्रै आउँछ। सोलुका शेर्पालाई पनि अङ्ग्रेजी लेख्न आउँदैन, बोल्न मात्रै आउँछ। गगनलाई पार्टीमा भाषण गर्न आउँछ, राजनीति गर्न आउँदैन। अब उसले पार्टी घरघरमा लगेर भाषण गर्छ। गगनसँग टाँसेर किन जाने ?

त्यसोभए त पार्टी फुट्दा पो रमाइलो रहेछ है तपाईंलाई ?
होइन म राजनीति नगर्न पनि सक्छु। म अर्को पार्टीमा गएर पनि राजनीति गर्न सक्छु नि । के टाउको दुख्या छ र ।

अर्को पार्टीको कुरा गर्दा कुलमानसँग त साह्रै राम्रो सम्बन्ध छ है तपाईंको ?
सम्बन्ध त मैले उसकै लागि मान्य मन्त्री पदै त्यागिदिए ओलीसँग भिडेर । तर कुलमानको पार्टीमा म जान्न। बरु हामीले पार्टी फुटाएर अर्को खोलेको खण्डमा कुलमान हाम्रो पार्टीमा आउने गरी छलफल हुन सक्छ। तर हामी जाँदैनौं। लोभको राजनीति गर्ने मेरो बानी छैन। त्यसकारण कुलमानको पार्टीमा चाहिँ म जान्न। सहकार्य र एकता हुन सक्छ।

उसो भए कांग्रेसका सबै चारतिर मुख लगाएर बसेका नेताहरुलाई के भन्नुहुन्छ ?
पार्टी एकता गर्नुहोस् मिलेर जानुस् सहमति भयो भने १० १५ मिनेटमा हुने कुरा छ। लचिलो बन्नुस् भन्ने मेरो सुझाव छ। मिलेर गएन भने आत्मसमर्पण गरेर जाने साथीहरु गगनजीकोमा जानुहुन्छ । अर्को साथीहरुले एउटा मुसा चुनाव चिन्ह लिएर भएपनि स्थानीय तह र प्रदेशको निर्वाचन फेस गर्नुपर्छ। साथीहरूलाई शुभकामना दिने हो ।

अन्तिममा अहिले युवा नयाँ पार्टीमा आउनुपर्छ भन्ने लहर छ। तपाईँहरूको पार्टीमा पाका मात्रै देखिनुहुन्छ यसरी चल्छ र ?
तपाईँलाई एउटा कुरा के लेख्नुहोस् भने मङ्सिरभित्रमा हाम्रो पक्षमा को को युवा आउँछ को को आउँदैन धैर्य गरिदिनुहोस् । पार्टी खोलेर सर्लक्कै बहुमत हाम्रो पार्टीमा आएपछि मङ्सिर २५ गते कुरा गरौंला। गगनजीको कुराले पार्टी मिल्दैन भन्ने मलाई विश्वास छ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ७ : ४२ बजे

नागरिकता दिलाउन अमेरिका पुगेर बच्चा जन्माउने शैलीविरुद्ध ट्रम्प

वासिङ्टन डिसी – अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता खारेज गर्ने

खाना पकाउने ग्यासको बढी मूल्य लिने एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना

काठमाडौं– स्थलगत अनुगमनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । प्राप्त सूचनाअनुसार

भिनिसियसले थप गरे सात वर्षको सम्झौता

काठमाडौँ – स्पेनिस क्लब रियल मड्रिडले आफ्ना स्टार ब्राजिलियन विङ्गर

प्रतिनिधिसभाको बैठक बस्दै, पाँच विधेयक प्रस्तुत हुने

 काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १:०० बजे सिंहदरबारस्थित संसद्