बालेनले त्यागे प्रोटोकल नमिल्ने तर्क, चस्मा खोलेर बढाए कूटनीतिक सक्रियता « Khabarhub

बालेनले त्यागे प्रोटोकल नमिल्ने तर्क, चस्मा खोलेर बढाए कूटनीतिक सक्रियता



काठमाडौं- सरकार गठनको चार महिनापछि प्रधानमन्त्री वालेन्द्र शाह कूटनीतिक भेटघाटमा सक्रिय भएका छन्। परराष्ट्रमन्त्री शिशिर खनाललाई नै ‘बाइपास’ गरेर उनले कूटनीतिक भेटवार्ता तीव्र बनाएका हुन्।

चार महिनाअघि परराष्ट्र मन्त्रालयका विभिन्न कर्मचारी आफ्नो सचिवालयका टिम र विभिन्न देशका राजदूतसँग भेटवार्ता गरेका बालेनले सोमबार भारतका राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरे । प्रोटोकल नमिल्ने भन्दै उनले यसअगाडि विदेशबाट आएका विभिन्न पाहुनासँग भेट अस्वीकार गरेका थिए।

उनले सोमबार नै चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टै भेटवार्ता गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयका एक कर्मचारी बताउँछन्। यसअघि प्रधानमन्त्रीले राजदूहरू र विदेशबाट आउने पाहुनासँग भेटवार्ता नगर्ने अडान लिएका थिए।

तर प्रधानमन्त्री भएको चार महिना बितेपछि उनले अडान फेरेर नरम भएका हुन्। यसअघि अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर र दक्षिण–मध्य एसियाका लागि राष्ट्रपति डोनल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर ले भेटवार्ताका लागि अनुरोध गरे पनि प्रधानमन्त्रीले अस्वीकार गरेका थिए ।

यसअघि वैशाख २८ गते नेपाल आउन लागेका भारतका विदेश सचिव विक्रम मिस्रीसँग पनि भेट्न मानेका थिएनन्। प्रधानमन्त्री नमानेपछि मिस्त्रीको नेपाल भ्रमण २५ गते स्थगित भएको थियो।

प्रधानमन्त्री भएलगत्तै शाहले २५ चैत ०८२ र गत १२ जेठमा काठमाडौंस्थित विदेशी नियोगका  प्रमुखसँग परराष्ट्र मन्त्रालयका कर्मचारी आफ्नो सचिवालयको टिम र आफूले संयुक्त रूपमा भेटवार्ता गरेका थिए।

त्यसपछि एक्ला एक्लै नभेट्ने भनेका वालेन्द्र अहिले धमाधम भेटवार्तामा व्यस्त छन्। उनले मङ्गलबार कार्यवाहक अमेरिकी राजदूत (चार्ज डी’ अफेयर्स) स्कट अर्बमसँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘सोमबार भारत र चीनका राजदूतसँग र मङ्गलबार अमेरिकाका राजदूतसँग भेटवार्ता गर्ने प्रधानमन्त्रीको कार्यसूची छ। यो भेटवार्तामा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सामेल हुनुहुन्न’, परराष्ट्रका एक अधिकारीले भने, ‘एक्ला-एक्लै र छुट्टाछुट्टै भेटवार्ताको सूचना छ। तीनटै देशहरू हाम्रा लागि महत्त्वपूर्ण साझेदार र प्रमुख सहयोगी भएकाले प्रधानमन्त्रीले भेटवार्ता गरेको हुनसक्छ ।’

पछिल्लो समय प्रधानमन्त्रीले पार्टीका विभिन्न विज्ञ तथा अरू समूहको सल्लाह लिँदै भेटवार्ता तीव्र बनाएका छन् । उनले स्वदेशकै उद्योगी व्यवसायी तथा विभिन्न व्यक्तिसँग भेटवार्ता गरेर सुझाव संकलन गरिरहेको देखिन्छ ।

सरकारले १०० दिन पूरा गरेपछि प्रधानमन्त्री कूटनीतिक मामिलामा पनि थप सक्रिय बन्न लागेका हुन् । प्रधानमन्त्रीले दशैंअगाडि नै भारत र चीनको भ्रमण गर्ने चर्चा चलिरहेको बेला परराष्ट्र मन्त्रालयले भने आधिकारिक जानकारी नआएको जनाएको छ।

‘प्रधानमन्त्रीको चीन र भारत भ्रमणबारे अहिलेसम्म समयतालिका टुंगो भइसकेको छैन। भ्रमण हुने नै भए पनि तयारी गर्न कम्तीमा दुई-तीन महिना लाग्छ। विभिन्न सहमतिका बुँदा तयार पार्ने काम भइसकेको छैन। अहिले अध्ययन भइरहेको छ’, परराष्ट्रका एक कर्मचारीले भने, ‘यो भेटवार्ता भ्रमणसँग सम्बन्धित नभए पनि आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल हुने कुराका रूपमा बुझौँ ।’

सन्देश कस्तो छ ?

प्रधानमन्त्री शाह ४ महिना अघिभन्दा परिपक्व देखिन्छन् । सुरूमा विदेशी पाहुनासँग भेटवार्ता गर्दा कालो चस्मा खोल्दैन थिए । तर यसपटक कालो चस्मा खोलेरै भारतका राजदूतसँग भेटवार्ता गरे । पौने घण्टाको कुराकानीमा नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको भारतीय राजदूत श्रीवास्तवले सामाजिक सञ्जाल एक्समार्फत् बताएका छन् ।

यसअगाडि दुवैतर्फ नेपालको झण्डा देखिएको फोटो सार्वजनिक भएको थियो । तर सोमबारको भेटवार्तामा झन्डा एकातिर मात्रै थियो । अर्कातिर नेपालको निशान चिह्न पनि ठूलोबाट सानो आकारमा खुम्चिएको देखियो । सार्वजनिक भएको थियो तर आजको भेटमा एकापट्टि मात्रै नेपालको झण्डा राखिएको छ ।

यसपटकको भेटमा राष्ट्रपति रामचन्द्र पौडेलको फोटो राखिएको छ। यस अगाडिको भेटमा थिएन । यस पटक उनले कालो चस्मा उतारेका छन् । संयोगवश सभामुख डीपी अर्यालले पनि कालो चस्मा निषेध गरिसकेका छन् ।

सत्ता पक्षकै सांसदबाट कालो चस्मा खोलेर प्रधानमन्त्रीले नेपालको सक्कली अनुहार हेर्नुपर्ने माग राखेका थिए । आफ्नैबाट पनि दबाब पर्दै जाँदा उनले कालो चस्मा खोलेका छन् । यसअगाडि रास्वपा सांसद मनिष झा लगायतले कालो चस्मा खोलेर नेताहरू मर्यादित हुनुपर्ने माग राखेका थिए।

प्रतिनिधिसभामा पनि मर्यादा बनाउँदा कालो चस्मा लगाएर उपस्थित हुन नपाइने र पोशाक मर्यादित हुनुपर्ने कानुन बनाउन लागिएको छ। चार महिनापछि उनले छिमेकी रिझाउने अभियान थालेका हुन्। यता नेपालमा रास्वपाकै घेराबन्दीमा पर्न थालेपछि उनले छिमेकीको विश्वास लिन खोजेका हुन् । ‘तीन महिनासम्म एक्ला एक्लै भेटवार्ता नगर्ने उहाँको कुरा थियो। तीन महिनापछि सम्बन्ध सुदृढ बनाउन र समस्या पहिचान गर्न उहाँले नै भेट्नुपर्ने आवश्यकता महसुस गर्नुभएको छ ।’

के भयो कुराकानी ?

राजदूत नवीन श्रीवास्तवले भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई न्यानो बधाई सन्देश पठाएको बताए । यस भेटवार्तामा प्रधानमन्त्री सचिवालय र भारतीय राजदूतले दिएको जानकारी अनुसार दुई देशबीचको बहुआयामिक तथा बलियो साझेदारीलाई थप गहिरो बनाउनेबारे कुरा भएको छ।

भारतीय दूतावासले नेपालसँगको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताका क्रममा नेपाल–भारत द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।

यसअगाडि प्रधानमन्त्री वालेन्द्रले आफ्ना निजी सचिवालय सदस्य कुमार बेनलाई भारत पठाएका थिए । त्यसबेला पनि परराष्ट्र मन्त्रालयलाई नै जानकारी दिइएको थिएन। बेनको भारत भ्रमणबारे औपचारिक र अनौपचारिक कुनै ढङ्गले परराष्ट्र मन्त्रालयलाई जानकारी छैन।

बेन भारत गएको एक महिनापछि बालेनले राजदूतसँग भेटवार्ता गरेका हुन्। परराष्ट्रमन्त्री शिशिर खनाल पनि जेठ अन्तिम साता भारत पुगेर आएका थिए। त्यसअगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत भ्रमण पुगेका थिए।

उनलाई त्यहाँ भव्य स्वागत गरिएको थियो । जेठ १८ गते भारत पुगेका लामिछानेलाई प्रधानमन्त्रीकै हैसियत जस्तो रुपमा सत्तारुढ दल भारतीय जनता पार्टीले स्वागत गरेको थियो। भाजपाको निमन्त्रणामा पुगेका रविले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरे। अब रवि चीन भ्रमण पनि निस्किन लागेका छन्। उनी भदौको दोस्रो सातासम्म चीन भ्रमण जाने कार्यतालिका छ।

रविलाई विदेशी मित्रहरूले धमाधम स्पेस दिन थालेपछि प्रधानमन्त्रीले पनि विदेशतिर सम्बन्ध बढाएको चर्चा रास्वपा वृत्तमा छ। पछिल्लो समय प्रधानमन्त्री र लामिछानेबीच दूरी बढिरहेको बताइन्छ। यो अवस्थामा आइतबार रवि र बालेन भेटेका थिए । त्यसपछि राजदूतसँगको भेटमा वालेन्द्र सक्रिय भएका हुन्।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  २ : ५१ बजे

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस

सुरक्षित र स्वास्थ्य खानेपानी उपलब्ध गराउने विषयमा समितिमा छलफल

काठमाडौं– प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले स्वास्थ्य खानेपानी उपलब्ध गराउने विषयमा