बाँझो जमिनमा आलु र तिते फापर उत्पादन गर्दै जन्तेढुङ्गा « Khabarhub

बाँझो जमिनमा आलु र तिते फापर उत्पादन गर्दै जन्तेढुङ्गा


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ- जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिनलाई उपयोगमा ल्याउँदै कृषि उत्पादन बढाउने र स्थानीय तथा लोपोन्मुख बालीको संरक्षण गर्ने उद्देश्यले उदाहरणीय कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले पहिलोपटक करिब ६० रोपनी बाँझो जमिनमा आलुखेती गरी साढे तीन हजार किलोग्राम आलु उत्पादन गरेको हो ।

गाउँपालिकाको आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत वडा नं. ४ डम्बर्खु शिवालयस्थित भञ्ज्याङखर्कमा रहेको सार्वजनिक जग्गामा आलुखेती गरिएको थियो । आर्थिक वर्ष २०८२/८३ मा खेर गइरहेको जमिनलाई उपयोग गरी उत्पादन गरिएको आलु अहिले बिक्री भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काका अनुसार उत्पादित आलु प्रतिकेजी ६० रुपैयाँका दरले बिक्री सुरु गरिएको छ । भण्डारण गरिएको आलुमध्ये हालसम्म एक हजार २७० किलोग्राम बिक्री भइसकेको छ ।

आलु बिक्रीबाट प्राप्त आम्दानी गाउँपालिकाको आन्तरिक स्रोतमा जम्मा गर्ने व्यवस्था गरिएको प्राविधिक सहायक तोशल भट्टराईले जानकारी दिनुभयो । स्थानीय राजस्व परामर्श समितिको निर्णयअनुसार गाउँपालिकाले उत्पादन गरेको आलु र तिते फापरको मूल्य निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईंले बताउनुभयो । उहाँका अनुसार ५० किलोग्रामभन्दा बढी आलु खरिद गर्ने ग्राहकलाई प्रतिकेजी दुई रुपैयाँ छुट दिने निर्णयसमेत गरिएको छ ।

तिते फापर संरक्षणमा जोड

जन्तेढुङ्गा गाउँपालिकाले गत वर्षदेखि तिते फापर प्रवर्द्धन कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । भञ्ज्याङखर्कमा रहेको करिब ६० रोपनी सार्वजनिक जग्गामा आलुसँगै तिते फापरखेती गरिँदै आएको छ ।

गत वर्ष पहिलोपटक ११ मुरी तिते फापर उत्पादन भएको थियो । ‘स्थानीय बाली प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत उत्पादित तिते फापर प्रतिकेजी ८० रुपैयाँमा बिक्री गर्नेगरी गाउँपालिकाले सूचना जारी गरेको छ ।

गाउँपालिका अध्यक्ष अरुणादेवी राई ‘दीक्षा’ले बाँझो जमिन उपयोग गर्ने कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो । स्थानीय तथा लोपोन्मुख बाली संरक्षणलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

“गाउँपालिकाले स्थानीय बाली प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । तिते फापर लोप हुने अवस्थामा छ । यो स्वास्थ्यका लागि पनि फाइदाजनक छ,” अध्यक्ष राईले भन्नुभयो ।

उत्पादित तिते फापरको बजारीकरणका लागि गाउँपालिकाले चिसापानी बजारमा ‘कोसेली घर’ स्थापना गरेको छ । कोसेली घरमार्फत स्थानीय किसानले उत्पादन गरेका कृषि उपज खरिद, भण्डारण तथा बजारसम्म पुर्‍याउने काम गाउँपालिकाले गर्दै आएको छ ।

किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहन

छिमेकी जिल्ला भोजपुरको सीमाना नजिक रहेको भञ्ज्याङखर्कमा यस वर्ष पनि तिते फापरखेती गर्ने योजना गाउँपालिकाले बनाएको छ । कृषि विकास शाखाका प्रमुख काजोल कुश्माका अनुसार फापरखेतीका लागि जमिन खनजोत गर्ने, बीउ छर्ने, उत्पादित फापर काट्ने तथा उठाउने काममा स्थानीय श्रमिकलाई पारिश्रमिक दिएर परिचालन गरिँदै आएको छ ।

गाउँपालिकाले निर्वाहमुखी खेती प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न प्रोत्साहन रकमसमेत उपलब्ध गराउँदै आएको छ । आफूले उत्पादन गरेका कृषि उपज गाउँपालिकाले उचित मूल्यमा खरिद गरी बजारमा बिक्री गर्ने नीति ल्याएपछि किसान उत्साहित भएका छन् ।

बाँझो जमिनको उपयोग, स्थानीय बालीको संरक्षण, कृषि उत्पादन वृद्धि र किसानलाई व्यावसायिक बनाउने उद्देश्यसहित गाउँपालिकाले अघि बढाएको कार्यक्रमले स्थानीय स्रोतसाधनको उपयोगसँगै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ५ : २२ बजे

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने