काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३ सम्मको अपरिस्कृत वित्तीय सूचकअनुसार सञ्चालनमा रहेका विकास बैंकहरूको औसत पुँजी पर्याप्तता अनुपात १४.५७ प्रतिशत पुगेको छ ।
सोही अवधिमा विकास बैंकहरूको औसत खराब कर्जा ५.३७ प्रतिशत र औसत कर्जा-निक्षेप अनुपात ८४.१० प्रतिशत कायम भएको छ ।
विवरणअनुसार असार मसान्त २०८३ सम्ममा सञ्चालनमा रहेका १६ वटा विकास बैंकहरूको कुल पुँजी कोष ७९ अर्ब ८१ करोड २१ लाख रुपैयाँ र कुल प्राथमिक पुँजी ६४ अर्ब २६ करोड २९ लाख रुपैयाँ रहेको छ ।
यस आधारमा विकास बैंकहरूको समग्र पुँजी पर्याप्तता अनुपात १४.५७ प्रतिशत र प्राथमिक पुँजी पर्याप्तता अनुपात ११.७३ प्रतिशत कायम भएको छ।
बैंकगत रूपमा हेर्दा कर्पोरेट डेभलपमेन्ट बैंकको पुँजी पर्याप्तता अनुपात सबैभन्दा बढी ३९.७३ प्रतिशत छ भने सालपा विकास बैंकको ३२.६९ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको २९.४१ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकको २५.७५ प्रतिशत रहेको छ।
उता सप्तकोशी डेभलपमेन्ट बैंकको पुँजी पर्याप्तता अनुपात ११.२९ प्रतिशत, सिन्धु विकास बैंकको १२.३६ प्रतिशत र मुक्तिनाथ विकास बैंकको १३.४७ प्रतिशत रहेको छ ।
समस्याग्रस्त बैंकको वर्गमा राखिएको कर्णाली डेभलपमेन्ट बैंकको पुँजी पर्याप्तता अनुपात भने ऋणात्मक अर्थात् माइनस १४२.६३ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा १६ वटा विकास बैंकहरूले कुल ५ खर्ब ५१ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसत खराब कर्जा ५.३७ प्रतिशत पुगेको छ । विकास बैंकहरूमध्ये मितेरी डेभलपमेन्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.२६ प्रतिशत र सालपा विकास बैंकको ०.७९ प्रतिशत मात्र रहेको छ। त्यसैगरी ग्रिन डेभलपमेन्ट बैंकको खराब कर्जा ३.२२ प्रतिशत र कामना सेवा विकास बैंकको ३.७७ प्रतिशत रहेको छ ।
त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको खराब कर्जा ७.६८ प्रतिशत, सिन्धु विकास बैंकको ७.६६ प्रतिशत, लुम्बिनी विकास बैंकको ६.९४ प्रतिशत र ज्योति विकास बैंकको ६.५५ प्रतिशत रहेको छ। यसको विपरीत नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अत्यधिक भई ४८.५१ प्रतिशत पुगेको छ ।
यस्तै, समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा भने ९७.४५ प्रतिशतसम्म पुगेको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कर्जा-निक्षेप अनुपात (सिडि रेसियो) ९० प्रतिशतको सीमाभन्दा बढी हुन नहुने व्यवस्था छ ।
असार मसान्त २०८३ सम्ममा विकास बैंकहरूको कुल निक्षेप संकलन ६ खर्ब ६१ अर्ब ९१ करोड १६ लाख रुपैयाँ र कुल कर्जा ५ खर्ब ५१ अर्ब ४५ करोड ९६ लाख रुपैयाँ रहँदा औसत सिडि रेसियो ८४.१० प्रतिशत कायम भएको छ ।
बैंकगत विवरणअनुसार कामना सेवा विकास बैंकको सिडि रेसियो सबैभन्दा बढी ८७.३० प्रतिशत पुगेको छ। त्यसैगरी लुम्बिनी विकास बैंकको ८६.६३ प्रतिशत, महालक्ष्मी विकास बैंकको ८६.५० प्रतिशत, गरिमा विकास बैंकको ८६.१४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको ८५.२७ प्रतिशत सिडि रेसियो रहेको छ ।
अर्कोतर्फ नारायणी डेभलपमेन्ट बैंकको सिडि रेसियो ५०.६७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ५७.३९ प्रतिशत, सालपा विकास बैंकको ६४.९३ प्रतिशत र सिन्धु विकास बैंकको ६७.११ प्रतिशत रहेको छ ।












प्रतिक्रिया