काठमाडौं- चीनका राष्ट्रपति सी जिन्पिङ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत जाने भएका छन् । उनी शनिबार भारतको राजधानी नयाँ दिल्ली पुग्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । सन् २०१९ पछि उनको यो पहिलो भारत भ्रमण हो ।
राष्ट्रपति सीको भारत भ्रमणलाई दुई देशबीच सम्बन्ध सुध्रिँदै गएको अर्थमा विश्लेषण गरिएको छ । यस पटक उनको साथमा विगतको भन्दा ठूलो संख्यामा उच्च अधिकारी र व्यवसायीहरूको प्रतिनिधिमण्डल रहनेछ ।
भ्रमणको पहिलो दिन शनिबार नै चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय वार्ता हुने अपेक्षा गरिएको छ । गत साता किर्गिस्तानमा सम्पन्न साङ्घाई सहयोग संगठन (एससीओ) को बैठकमा संक्षिप्त हात मिलाएका दुई नेताहरू सात वर्षपछि पहिलो पटक भारतीय भूमिमा औपचारिक वार्तामा बस्न लागेका हुन्।
सन् २०२० मा गलवान क्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मीबीच भएको हिंस्रक सीमा भिडन्तपछि दुई देशबीचको सम्बन्ध लामो समयसम्म चिसिएको थियो । तर, सन् २०२४ को अन्त्यतिरबाट दुवै पक्षले विस्तारै संवादका माध्यमहरू पुनः सुचारु गरेका छन् ।
यसक्रममा सीमा वार्ताका लागि विशेष प्रतिनिधिहरू सक्रिय भएका छन् भने सीधा उडान र धार्मिक यात्रा मार्गहरू पुनः सञ्चालनमा आएका छन् । यसै तनावका बिच पनि गत वर्ष दुई देशबीचको द्विपक्षीय व्यापार बढेर १५५ अर्ब अमेरिकी डलरको रेकर्ड विन्दुमा पुगेको छ ।
नयाँ दिल्लीमा आयोजना हुन लागेको यो शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित विस्तारित ब्रिक्स समूहका अन्य शीर्ष नेताहरूको पनि सहभागिता रहनेछ ।












प्रतिक्रिया