दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई बिहानदेखि नै सहज रूपमा सञ्चालन गर्न दिनुपर्ने माग गरिएको छ ।
बिहीबार दोलखा तथा रामेछापका व्यवसायी एवं यातायात व्यवसायीहरूले मालवाहक सवारी साधनलाई साँझ ६ बजेपछि मात्र आवागमन गर्न दिइने गरेको भन्दै गुनासो गरेपछि दोलखा उद्योग वाणिज्य संघले त्यसप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो ।
संघका अध्यक्ष सनत थापाले सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेल समक्ष ध्यानाकर्षण पत्र दिँदै चाडपर्वको समयमा खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, औषधि, खाना पकाउने ग्यास, फलफूललगायत अत्यावश्यक वस्तुका साथै रड, सिमेन्ट,ईटा तथा अन्य निर्माण सामग्रीको नियमित ढुवानीका लागि मालवाहक सवारीको सहज आवागमन आवश्यक रहेको बताए ।
साँझपछि मात्र सवारी सञ्चालन गर्न दिँदा चालकहरूले रातको समयमा लामो दूरीको यात्रा गर्नुपर्ने र चालकको थकानका कारण सडक दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने संघको भनाइ छ ।
संघले जिल्ला प्रशासन कार्यालय दोलखामार्फत सम्बन्धित जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय सिन्धुली र रामेछापसँग आवश्यक समन्वय गरी मालवाहक सवारी साधनलाई बिहानदेखि नै सहज तथा सुरक्षित रूपमा आवागमन गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ ।
चाडपर्वका समयमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन र व्यवसायी तथा आम उपभोक्ताले अनावश्यक समस्या भोग्न नपरोस् भन्दै संघले यस विषयमा यथाशीघ्र पहल गर्न प्रशासनसँग आग्रह गरेको छ । सुवाश बस्नेत/दोलखा












प्रतिक्रिया