रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले भोटेकोशीमा आएको बाढी तथा प्रलयबाट प्रभावित रसुवाका पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ।
कालिका गाउँपालिका–१, राम्चेका बाढीपीडित ७२ परिवारका लागि संकलन गरिएको राहत सामग्री फाउन्डेसनका अध्यक्ष अजयबाबु शिवाकोटीले वडा अध्यक्ष दावा तामाङलाई हस्तान्तरण गरेका हुन्। पीडित परिवारका आफन्तको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको थियो।
राहत सामग्री ग्रहण गर्दै वडा अध्यक्ष तामाङले विपद्को पीडामा रहेका नागरिकलाई सहयोग गर्न आएकोमा नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेप्रति धन्यवाद व्यक्त गरे। उनले पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि अन्य सहयोगी व्यक्ति तथा संस्थालाई समेत सहयोगको हात बढाउन आग्रह गरे।
फाउन्डेसनका अध्यक्ष शिवाकोटीका अनुसार सहयोगीहरूबाट प्राप्त रकम तथा फाउन्डेसनको आफ्नै कोषमा रहेको रकमबाट राहत सामग्री जुटाइएको हो। त्यसमा इनास यूकेले मायास्वरूप पठाएको सहयोगसमेत एकत्रित गरी ७२ पीडित परिवारलाई राहत वितरण गरिएको उनले बताए।
इनास यूकेका मनिष श्रेष्ठले विपद्बाट प्रभावित परिवारसँग प्रत्यक्ष रूपमा पुगेर सहयोग र आत्मीयता साट्ने उद्देश्यले पहिलो चरणमा रसुवा आइपुगेको बताए। पीडित परिवारलाई आवश्यक सहयोगका लागि आगामी दिनमा पनि आफूहरू निरन्तर सम्पर्कमा रहने उनको भनाइ छ।
भोटेकोशीमा आएको बाढी तथा प्रलयमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अझै जारी छ।












प्रतिक्रिया