काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।
नेपाल संवत् नयाँ वर्ष प्रारम्भ भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण संवत् भएको बताएका छन् ।
उनले आफ्नो नेतृत्वमा रहेको पहिलो गणतन्त्रात्मक सरकारले २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिने ऐतिहासिक घोषणा गरेको स्मरण गरेका छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको स्मरण गर्दै प्रचण्डले नेपाल संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
इतिहासअनुसार शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराएका थिए । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा प्रारम्भ भएको नेपाल संवत् नेपालको मौलिक संवत्का रूपमा परिचित छ ।














प्रतिक्रिया