जीवाश्म इन्धनको उत्सर्जन घट्ने अनुमान « Khabarhub

जीवाश्म इन्धनको उत्सर्जन घट्ने अनुमान


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नवीकरणीय ऊर्जाको बढ्दो प्रयोग र इरान युद्धका कारण तेलको मूल्यमा आएको वृद्धिले सन् २०२६ मा विश्वव्यापी जीवाश्म इन्धनबाट हुने कार्बन उत्सर्जन ०.४ प्रतिशतले घट्ने अनुमान गरिएको छ ।

अनुसन्धानकर्ताहरूले मंगलबार सार्वजनिक गरेको ‘ग्लोबल कार्बन बजेट’ प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो । प्रतिवेदनअनुसार तेल, ग्यास र कोइला बाल्दा निस्कने उत्सर्जन पछिल्लो एक दशकमा वार्षिक औसत ०.९ प्रतिशतले बढेको थियो ।

सन् २०२५ मा यस्तो उत्सर्जन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । कोभिड महामारीका कारण सन् २०२० मा उत्सर्जन घटेयता यस वर्ष पहिलोपटक गिरावट आउने अनुमान गरिएको हो ।

इरानमा अमेरिकाको नेतृत्वमा जारी युद्ध र हर्मुज जलघाँटी बन्द हुँदा तेलको मूल्य बढेको र खपत घटेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

यसका साथै सौर्य तथा वायु ऊर्जा र विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगले पनि उत्सर्जन घटाउन योगदान पुर्यायको छ । विश्वव्यापी ऊर्जा माग वृद्धिको दुई तिहाइ हिस्सा यी स्वच्छ ऊर्जा स्रोतले पूरा गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनको नेतृत्व गरेका बेलायतको एक्सेटर विश्वविद्यालयका पियरे फ्रिडलिङस्टेनले भूराजनीतिक संकटका कारण उत्सर्जन घट्नु दीर्घकालीन समाधान नभएको बताएका छन्। उनका अनुसार स्वच्छ ऊर्जा प्रविधिको तीव्र विस्तार नै दिगो उपाय हो ।

प्रतिवेदनले सन् २०२६ मा तेलबाट हुने उत्सर्जन १.९ प्रतिशत र ग्यासबाट हुने उत्सर्जन ०.३ प्रतिशतले घट्ने अनुमान गरेको छ । तर कोइलाबाट हुने उत्सर्जन भने ०.६ प्रतिशतले बढ्नेछ । समग्रमा जीवाश्म इन्धनबाट हुने कार्बनडाइअक्साइड उत्सर्जन ३८ अर्ब २० करोड टन पुग्ने अनुमान छ ।

वन विनाश र जमिनको उपयोगमा हुने परिवर्तनसमेत जोड्दा कुल उत्सर्जन गत वर्षको ४२ अर्ब ८० करोड टनबाट बढेर ४३ अर्ब ३० करोड टन पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

विशेषगरी एल निनोका कारण दक्षिणपूर्वी एसियामा सुक्खापन बढ्दा दलदले क्षेत्रमा लागेको आगो र वन विनाशले उत्सर्जन बढाउने अनुमान गरिएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार विश्वको तापक्रम वृद्धिलाई औद्योगिक क्रान्तिअघिको तुलनामा १.५ डिग्री सेल्सियसभित्र सीमित राख्न बाँकी रहेको कार्बन बजेट करिब एक खर्ब ५० अर्ब टन मात्र छ । वर्तमान उत्सर्जनको दर कायम रहे यो बजेट चार वर्षभन्दा कम समयमा सकिनेछ ।

सन् २०१५ को पेरिस जलवायु सम्झौतामा विश्वको तापक्रम वृद्धि दुई डिग्री सेल्सियसभन्दा निकै कम राख्ने र सम्भव भएसम्म १.५ डिग्रीभित्र सीमित गर्ने सहमति भएको थियो । तर संयुक्त राष्ट्रसङ्घले गत सेप्टेम्बरमा १.५ डिग्रीको दीर्घकालीन लक्ष्य केही वर्षमै पार हुने जनाएको थियो । 

वैज्ञानिकहरूले तापक्रम वृद्धिलाई पुनः उक्त सीमाभित्र ल्याउन जीवाश्म इन्धनबाट हुने हरितगृह ग्यास उत्सर्जन तीव्र रूपमा घटाउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  १२ : ३० बजे

जीवाश्म इन्धनको उत्सर्जन घट्ने अनुमान

एजेन्सी– नवीकरणीय ऊर्जाको बढ्दो प्रयोग र इरान युद्धका कारण तेलको

नेपाल संवत् मौलिक इतिहास र राष्ट्रिय पहिचानसँग जोडिएको छ : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

रियादतर्फ प्रहार गरिएको क्षेप्यास्त्र साउदीको हवाई प्रतिरक्षा प्रणालीले गर्‍यो नष्ट

रियाद – साउदी अरेबियाको राजधानी रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र

बालकको मृत्युपछि पर्सामा पटाका ओसारपसार र बिक्रीमा कडाइ

वीरगञ्ज- तिहार तथा छठ पर्व नजिकिएसँगै पटाका पड्काउने क्रम बढ्न

हेटौँडामा प्रहरी सहायक हवल्दार मृत भेटिए

हेटौँडा – मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवल्दार मृत