प्रत्यक्षतर्फ बढारिए ७० माथिका अधिकांश, चार जनाले जित्दा ज्येष्ठ सदस्य गुरुङ « Khabarhub

प्रत्यक्षतर्फ बढारिए ७० माथिका अधिकांश, चार जनाले जित्दा ज्येष्ठ सदस्य गुरुङ

एमाले, रास्वपा र श्रम संस्कृतिमा ७० कटेका शून्य



काठमाडौं – प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा जेठा सांसद मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ भएका छन् ।

निर्वाचन आयोगका अनुसार गुरूङको उमेर ७१ वर्ष छ । स्वतन्त्र उम्मेदवार महावीर पुनकोसमेत उमेर ७१ वर्ष छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको उमेर ७० वर्ष छ। यस्तै काङ्ग्रेसबाटै अछाम १ का भरतकुमार स्वारको उमेर ७० वर्ष छ। एमालेबाट ७० नाघेका कसैले निर्वाचन जितेका छैनन् ।

देशको पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि ७० वर्ष उमेरमाथि निर्वाचन जित्ने कोही छैनन् । आँकडा अनुसार काङ्ग्रेसबाट ७० पुगेका नेता दुईजना छन् । श्रम संस्कृति पार्टीमा पनि शून्य हुँदा नेकपाबाट ७० वर्ष पुगेका प्रचण्ड मात्रै हुन् ।

आयोग अनुसार प्रत्यक्षमा ७० पुगेका र त्योभन्दा बढी उमेरका अबको प्रतिनिधि सभामा चार नेतामात्रै हुने देखिन्छ ।

प्रतिनिधिसभामा निर्वाचित सांसदलाई ज्येष्ठ सदस्यले शपथ खुवाउने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिले सबैभन्दा पहिले जेष्ठ सदस्यलाई शपथ खुवाएपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने चलन छ। नयाँ सभामुख र उपसभामुख चयन नभइसक्दायस्तो अभ्यास गरिन्छ ।

२०७९ को निर्वाचनपछि ज्येष्ठ सदस्यको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले शपथ खुवाएका थिए। २०७४ को निर्वाचनपछि लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुरले जेष्ठ सदस्यको रुपमा शपथ खुवाए । यसपटक समानुपातिक सांसदको नतिजा आउन बाँकी छ ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले समानुपातिक सूचीमा राखेका नेताहरू ७० कटेका देखिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा छैनन् । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा ७० कटेका नेता बिदा हुनुपर्ने आवाज उठिरहँदा यसपटक सबैजसो बढारिएका छन्।

को हुन् टेकबहादुर ?

२०७० को संविधानसभा निर्वाचनदेखि प्रतिनिधिसभामा पुगेका गुरुङ २०७४ को निर्वाचनमा पराजित भएका थिए। थोरै जनसङ्ख्या भएको जिल्ला मनाङबाट निर्वाचित उनी ७९ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा विजयी भए । सुशील कोइराला प्रधानमन्त्री हुँदा श्रममन्त्री बनेका गुरुङले यसपटक पनि सर्वसम्मत विजयी हुने चाहना राखेका थिए । तर उनले त्यसो गर्न पाएनन् ।

उनलाई नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार याशाेदा गुरुङले चुनौती दिएकी थिइन्। गुरुङले ४४५ मत ल्याउँदा उनले २४१५ मत ल्याएर विजयी भए । हालसम्म समानुपातिकमा को को सांसद प्रवेश गर्दैछन् भन्ने एकिन नभएकाले अहिलेसम्म निर्वाचन जित्ने जेष्ठ उनै हुन् ।

आगामी प्रतिनिधि सभामा ७० नाघेका ज्येष्ठ सदस्य नभए उनले अन्य सांसदलाई शपथ खुवाउने स्थिति छ। २०६८ सालको जनगणना अनुसार मनाङको जनसङ्ख्या ५६४५ छ। त्यो जनसङ्ख्याभित्र राम्रो प्रभाव बनाएका गुरुङ जनताका हरेक दुःख सुखमा घरदैलोमा पुग्ने गरेको देखिन्छ।

निलम्बनमा पर्न सक्ने
पटकपटक मनाङमा आफ्नो प्रभुत्व जमाए पनि गुरुङ स्वच्छ छविका नेता होइनन् । गुरुङलाई समाजकल्याण परिषद्को स्वामित्वमा रहेको काठमाडौँको भृकुटीमण्डपस्थित जग्गा भाडा प्रकरणमा मुछिएर भ्रष्टाचार मुद्दा चलेको छ ।

तर यसपटक पनि उनलाई जनताले अनुमोदन गरेका छन्। विशेष अदालतले २०७९ फागुन १६ गते उनलाई दोषी ठहर गर्दै एक करोड २१ लाख ८४ हजार ४० जरिवाना सुनाएको थियो।

अहिलेसम्म उनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। उनी सांसदमा विजयी भए पनि निलम्बनमा पर्न सक्ने चर्चा छ । तर उनको सांसद पद के हुन्छ, टुंगो भएको छैन। मनाङबाट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दर्ता गराउन सकेन।

नेकपामा ?
नेकपाका संयोजक पुष्पकमल दाहालको उमेर ७० हुँदा अरु निर्वाचन जित्ने छ जनाको उमेर ६० मुनि देखिएको छ ।

६० माथिका कतिजना ?
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ७० वर्ष र त्योभन्दा माथिका कुनै व्यक्तिले निर्वाचन जितेका छैनन्। यस पार्टीबाट ६० वर्षको उमेरमा निर्वाचन दाङ–१ बाट ४२ हजार ६०२ मत ल्याएर देवराज पाठक विजयी भएका छन् । पाठकले नेपाली कांग्रेसका योगेन्द्र चौधरीलाई पराजित गरेका छन् । चौधरीको मत १५,२८० छ।

यस्तै कपिलवस्तु २ बाट निर्वाचित भएका विक्रम थापाको उमेर ६३ वर्षको छ। उनी २७,६३५ मत ल्याएर विजय भएका छन्। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुरेशराज आचार्यले २१,५२७ मत ल्याए। उनीहरू बाहेक अरु सबै नेता ६० वर्षमुनि र २६ वर्षमाथिका छन्।

कांग्रेसबाट ७० र त्योभन्दामाथि पुगेका निर्वाचन जित्ने २ जना नेता छन्। आयोगका अनुसार गुरुङसँगै अछाम १ बाट निर्वाचन जितेका भरतकुमार स्वारको उमेर ७० देखिएको छ। भरतले अछाम १ बाट निर्वाचन जित्दा १०७५९ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका भीम रावलले १०२३३ मत ल्याए। कांग्रेसबाट डोटी १ बाट निर्वाचन जित्ने भरतकुमार खड्काको उमेर ६८ वर्ष छ।

उनीले १४,८९७ मत ल्याएर नेकपा एमालेका युवा नेता दिपक बहादुर धामीलाई पराजित गरेका छन् । धामीको महत्व १४,११० देखिन्छ। यस्तै सोलुखुम्बु १ बाट निर्वाचन जितेका प्रकाश सिंह कार्कीको उमेर ६२ वर्ष छ। उनले १३,१६६ मत ल्याएर विजयी हुँदा नेपाली कम्युनिस्ट पार्टीका असिम राईले ९४१४ मा चित्त बुझाए ।

उनीहरू बाहेक काङ्ग्रेसबाट जित्ने अन्य १६ जना उम्मेदवार ६० वर्षमुनिका छन्। कांग्रेसमा सबैभन्दा कम उमेरमा निर्वाचन जित्ने मुस्ताङका योगेश गाैचन थकाली हुन् उनको उमेर ३२ वर्ष छ।

एमालेबाट ?
एमालेबाट विजयी नौ जना प्रत्यक्ष तर्फका उम्मेदवारमध्ये ७० पुगेका कोही पनि छैनन्। जितेका उम्मेदवारमा ६० कटेका दुईजना नेता छन् । आयोगका अनुसार संखुवासभा १ बाट विजयी अर्जुनकुमार कार्कीको उमेर ६२ वर्ष छ।

यस्तै ६० काटेका एमालेका अर्का नेता लक्ष्मीप्रसाद पोखरेल हुन्। उनले दैलेख २ बाट जितेका छन्। उनको उमेर ६३ वर्ष छ। १३,८८९ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाहीले ९,५५२ मा चित्त बुझाए ।

यीबाहेक कांग्रेसका अरु छ जना उम्मेदवार ६० मुनिका छन्। एमालेबाट सबैभन्दा कम उमेरमा निर्वाचन जित्ने इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्बाङ हुन्। उनको उमेर ३६ वर्ष छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १० : १९ बजे

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण

उम्मेदवार रिझाउन अन्टसन्ट बोल्दा सञ्जालमा उछितो

काठमाडौं–  निर्वाचन सम्पन्न भएर मत परिणाम आउने क्रम उत्तरार्द्धमा छ

बलियो निर्यातसँगै चीनको व्यापार वृद्धि

एजेन्सी– घरेलु माग कमजोर रहँदा पनि चीनले वर्षको सुरुआत उल्लेखनीय

अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने

काठमाडौं- अस्ट्रेलियाले द्वन्द्वग्रस्त खाडी क्षेत्रमा हतियार पठाउने भएको छ ।

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको