राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान र सम्झनामा नेपालगन्ज उपमहानगरपालिकाले भौतिक तथा सामाजिककार्य अगाडि बढाएको छ।
नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोजीको एउटै टोल निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको गत वर्ष भदौ २३ गते राजधानीमा भएको जेनजी आन्दोलनका क्रममा गोली लागेर ज्यान गएको थियो ।
आयुष र सुलभको असामयिक निधनले एकातिर दुवै परिवारलाई सम्हालिनसक्नु शोकमा धकेलेको छ भने अर्कोतिर सिङ्गो धम्बोजी अझै त्यो कहालीलाग्दो क्षण सम्झेर झस्कन्छ ।
सहिदको बलिदानलाई जीवन्त राख्न र सम्मान प्रकट गर्न नेपालगन्ज उपमहानगरपालिका वडा नं १ ले विभिन्न भौतिक तथा सामाजिककार्य अगाडि बढाएको वडाध्यक्ष प्रमोद रिजालले बताए।
‘नेपालगन्ज उपमहानगरपालिका–१ को धम्बोझीस्थित वडा कार्यालय परिसरमा सहिदको स्मृतिमा ‘सहिद योग भवन’ तथा खुला जिम हाउस निर्माण गरिएको छ’, वडाध्यक्ष रिजालले भने, ‘सहिद आयुष थापा र सुलभराज श्रेष्ठको सम्मानमा वाटरपार्क नजिकै अर्धकदको सालिक निर्माण गर्नुका साथै विशालनगर क्षेत्रमा उनीहरूका नाममा प्रवेशद्वार निर्माण भइरहेको छ ।’
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका रिजालका अनुसार स्थानीय सरकार सहिद परिवारका समस्या र माग सम्बोधनका लागि निरन्तर संवादमा छ । उपमहानगरपालिकाले सहिदको स्मृतिमा ‘सहिद रनिङ शिल्ड’ प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।
नयाँ पुस्तालाई उनीहरूको योगदानबारे जानकारी दिन स्थानीय पाठ्यक्रममा सहिदको परिचय समेट्ने तयारी भइरहेको नगरप्रमुख प्रशान्त विष्टले बताए। सहिद परिवारको आग्रहबमोजिम यो कार्य तत्काल अघि बढाउने तयारी गरिएको नगरप्रमुख विष्टले जानकारी दिए।
भौतिक संरचनाको पुनर्निर्माण भइरहँदा काठमाडौँको सडकमा प्राण गुमाएका आफ्ना छोराको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको पर्खाइमा धम्बोझीका यी परिवार अझै टोलाइरहेका छन् ।
सहिद परिवारले सरकारसँग सहिदको सम्मान, परिवारका एक सदस्यलाई रोजगारी, घटनाको निष्पक्ष छानबिन र गोली चलाउनेमाथि कानुनी कारबाहीको माग गर्दै आएका छन् ।
आन्दोलनका क्रममा निर्दोष युवाले ज्यान गुमाएको भन्दै घटनाको जिम्मेवारी लिने र दोषीमाथि कारबाही गर्ने काम हुन नसकेको आयुषका बुबा सुशीलको गुनासो छ।
नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख उमा थापामगरले सहिद परिवारको सम्मान र स्मृतिका लागि दीर्घकालीन संरक्षणका लागि भएका भौतिक पूर्वाधार र सामाजिक कार्य सकारात्मक रहेको उल्लेख गर्दै सरकारले सहिद परिवारको सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए।












प्रतिक्रिया