गगनलाई सभापति मानेरै म उम्मेदवार भएको हो, अरु हिसाब चुनावपछि हुन्छ : डा. शेखर कोइराला « Khabarhub

गगनलाई सभापति मानेरै म उम्मेदवार भएको हो, अरु हिसाब चुनावपछि हुन्छ : डा. शेखर कोइराला

चुनावअघि प्रधानमन्त्री तोक्नु कम्युनिष्टको नक्कल



काठमाडौं- ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङबाट क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइराला पुनः जित्ने दाबीसहित निर्वाचनमा होमिएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापाले कोइरालाको टिकट रोक्छन् भन्ने धेरैले आंकलन गरेका थिए । तर गगनले त्यसो गरेनन् । उनको इच्छा अनुसारै कोइरालालाई टिकट दिए ।

कांग्रेसको गढ जोगाउन कोइराला अहिले निर्वाचनमा खटिएका छन् । विराटनगरको मुख्य बजार जोडिएको मोरङ ६ मा कोइरालाको प्रतिस्पर्धी एमालेका विनोद ढकाल छन् । तर, उनी अहिलेसम्म निर्वाचन नजितेका नेता भएकाले खासै चर्चा छैन ।

यहाँ नयाँ दलका पनि लोकप्रिय उम्मेदवार पनि नहुनाले कोइरालाकै पल्ला भारी देखिन्छ । नयाँ दलहरूप्रति पनि जनतामा खासै उत्साह देखिँदैन । नेपाली कम्युनिष्ट पार्टीबाट उपेन्द्र राय, रास्वपाबाट रुबिना आचार्यलगायत चुनावी प्रतिस्पर्धामा छन् । यद्यपि उनीहरुको खासै चर्चा छैन ।

नेपाली काङ्ग्रेस संस्थापन इतरका शीर्ष नेता कोइरालाको बिमतिबीच गगन थापा पक्षले विशेष महाधिवेशन गराएको थियो । सुरुमा कोइराला निकट रहेका अहिलेका कांग्रेस सभापति थापालाई विशेष महाधिवेशन गराउनबाट अन्तिम समयसम्म पनि पूर्वसभापति शेरबहादुर देउवा र कोइरालाले रोके तर थापा अडिएनन् ।

कोइरालालाई काउन्टर दिएर थापा अहिले कांग्रेसको नेतृत्वमा पुगेका छन् । पूर्वसभापति शेरबहादुर देउवाले गगनको नेतृत्व नस्वीकारेको अवस्थामा कोइराला भने स्वीकारेर अगाडि बढिरहेको देखिन्छ ।

गगन नेतृत्वमा पुगेको विषयमा आफूलाई तिक्तता नभएको दाबी डा. शेखरको छ । तर सभापति थापालाई निर्वाचनपछिको प्रधानमन्त्री बनाइएको विषयलाई भने उनी कम्युनिस्टहरूको नक्कल गरेको संज्ञा दिन्छन् ।

‘कांग्रेसको विधान र चलनले निर्वाचन अगाडि प्रधानमन्त्री तोकेर जाँदैन । संसदीय दलको नेता कांग्रेसको प्रधानमन्त्री हुने चलन छ । निर्वाचनपछि संसदीय दलको निर्वाचन हुन्छ र संसदीय दलबाट निर्वाचित भएको व्यक्ति नै प्रधानमन्त्रीको क्यान्डिडेट हो ।’ कोइराला भन्छन् – ‘हामी कम्युनिस्टहरूको नक्कल गर्ने पार्टी होइन । यसकारण यसबारे मलाई थप व्याख्या गर्नु जरुरी लागेन। संसदीय दलको निर्वाचन पछाडि चुनिएको व्यक्तिलाई हामी प्रधानमन्त्री बनाउँछौँ ।’

कोइराला कुनै पनि दलले यही निर्वाचनबाट बहुमत हासिल गर्न नसक्ने भन्दै कसैले बहुमत ल्याउँछु भनेर दाबी गर्छ भने त्यो फुर्सदको प्रचार भएको बताउँछन् । निर्वाचनपछि कांग्रेसले सम्मानजनक सिट ल्याउने त्यसपछि संविधान संशोधन र निर्वाचन प्रणाली सुधारका काम गर्न आफूले उम्मेदवारी दिएको कोइरालाको दाबी छ ।

हुन त कोइराला एक पटक प्रधानमन्त्री बन्न चाहन्छन् । यसबारे प्रश्न गर्दा पन्छिँदै उनले भने– ‘अरुको नक्कल गर्न मलाई आउँदैन । यो नक्कल कम्युनिस्टहरुले मात्र गर्छन् । समय र परिस्थितिले दिएको जिम्मेवारी बहन गर्न मैले पनि क्षमता राख्छु ।’ उनी विशेष महाधिवेशनमा आफू नखुलेकै कारण मोरङ क्षेत्र नम्बर ६ र देशभर आफ्नो पक्षको माहोल बिग्रिएको विषयमा विश्वास गर्दैनन् ।

कोइरालासँग हामीले प्रतिनिधिसभाको आसन्न निर्वाचन, निर्वाचनपछि कांग्रेसको अवस्था, गगन थापाको नेतृत्वलगायतको सेरोफेरोमा केन्द्रित रहेर कुराकानी गरेका छौँ । मोरङ-६ मा मतदातासँग भेटघाट गरिरहेका कोइराला निकै हतारमा थिए । छोटो समय निकालेर हामीसँग गफिए । कुराकानीका क्रममा हामीले सोधेको प्रश्नमा उनले केहीको जबाफ भने निर्वाचनपछाडि दिने जानकारी गराए ।

यहाँ फेरि निर्वाचनमा होमिँदै हुनुहुन्छ । पुरानालाई बिदा गरौँ भनिराखेको बेला फेरि किन ?

मेरो यो पटकको निर्वाचनमा उठ्नुको कारण संविधानको रक्षा गर्न हो । संविधानमा केही सुधारहरू गर्नुपर्छ भने त्यसलाई अगाडि बढाउने हो । संविधान बनेको १०, १२ वर्ष बितिसकेको छ, यसमा धेरै सुधारहरू गरेर जानुपर्ने अवस्था छ । समय सापेक्ष संविधानलाई परिमार्जन गर्नुपर्ने भएकाले मुख्य काम नै हामीले गर्न सकेका छैनौँ ।

संसदीय सर्वोच्चतालाई अगाडि लाने कुरा पनि मुख्य हुन्छ । संविधानको मर्मअनुसार संसदीय सर्वोच्चतालाई अगाडि बढाउने मुख्य उद्देश्य हो । विकासका कुरा त छँदैछन् ।

विशेष महाधिवेशनको पक्ष नलिँदा मोरङ-६ मा तपाईंको उम्मेदवारीप्रति जनताले चित्त बुझाएका छैनन् भन्ने कुरा बाहिर आइरहेको छ नि ?

विशेष अधिवेशनका कुराहरू अहिले उठेको छैन । नेपाली कांग्रेस अहिले एकजुट भएको छ। मेरो क्षेत्र मोरङ-६ मा र समग्र मोरङमा नै एकजुट भएको छ ।

उसो भए कांग्रेस संस्थापन, संस्थापन इतर र सभापति गगन सबैले तपाईंलाई सहयोग गरिराखेका छन् त ?

सबैले सहयोग गरिरहनु भएको छ । मलाई लाग्दैन-विशेष महाधिवेशनको कारणले असहयोग गर्नुहोला । आगामी दिनमा पनि असहयोग होला भन्ने मलाई लागेको छैन ।

देशभर अहिले नयाँको प्रचारप्रसार भइरहेको छ । तपाईंलाई चाहिँ कस्तो लाग्छ– मोरङका सहरी इलाकामा पनि नयाँ-नयाँ भन्दैछन् ?

नेपाली कांग्रेसको तागत भनेको संगठन हो । नयाँ पार्टीको स्टन्ट भनेको सामाजिक सञ्जाल हो । जनताले जेसुकै भएपनि संगठनलाई नै प्रमुख प्राथमिकता दिन्छन् । संगठन चलायमान बनाएर सामाजिक सञ्जाललाई केयर गर्‍यौं भने नेपाली कांग्रेसको जित सुनिश्चित छ धेरै ठाउँमा ।

कांग्रेसलाई सम्मानजनक सिट ल्याएर आगामी सरकारको नेतृत्वमा पुग्छ भन्नेमा म ढुक्क छु।

उसो भए मोरङमा नयाँ पार्टी र अन्यले कति मतदाता बिगारेका छन् ? कतिको खट्नुपर्ने अवस्था छ ?

कुनै पनि निर्वाचनमा जाँदाखेरि मसिनो गरी नै खट्नुपर्ने अवस्था हुन्छ । मोरङमा मात्रै होइन, देशभरि नै अहिले सबै पार्टी मसिनो गरी नखटेको अवस्थामा आफ्नो पार्टी विजय हुने सम्भावना छैन ।

नयाँ पार्टी र नयाँ ऊर्जा आइसकेपछि पहिलाका निर्वाचनभन्दा धेरै खट्नुपर्ने र मेहनत गर्नुपर्ने अवस्था छ । कतिपय कुराहरु जनतालाई बुझाउनुपर्ने छ । कतिपय कुराहरू आफू आफूले नै करेक्सन गर्नुपर्ने अवस्था छ ।

मोरङ-६ मा यहाँका लागि मुख्य चुनौती के छ अहिले ?

च्यालेन्ज धेरै छैन । तर कोही पनि प्रतिस्पर्धीलाई कमजोर ठान्नु हुँदैन । जो प्रतिस्पर्धीहरू चुनाव लड्नुहुन्छ, उहाँहरु आ-आफ्नो क्षेत्रमा ठिक हुनुहुन्छ। उहाँहरुलाई कमजोर ठानेर हिँड्नु हुँदैन ।

हाम्रो प्रतिस्पर्धी र प्रतिद्वन्द्वीलाई मानेरै जानुपर्छ, अगाडि बढ्नुपर्छ। यसकारण यो उम्मेदवार या त्यो उम्मेदवार मेरो मुख्य प्रतिस्पर्धी अथवा चुनौती हो भनेर मैले व्याख्या गर्न चाहिन ।

पार्टीका पूर्वसभापति शेरबहादुर देउवा देखिनेगरी निर्वाचनमा नखटेको अवस्थामा कांग्रेसले सोचेको उद्देश्य पूरा गर्न सक्ला ?

को खट्नुहुन्छ, खट्नुहुन्न भन्ने कुरा आफ्नो ठाउँमा छ । समय घर्किएको छैन । सभापतिज्यू लगायत अन्य नेताहरू पनि सहयोग गर्न आउनुहुन्छ होला भन्नेमा विश्वस्त छौँ ।

त्यस्तो खट्दै नखट्ने अवस्था त होइन, होला उहाँहरु खट्नुहुन्छ होला । निर्वाचन आयोगले ४ गते पछाडि मात्रै चुनावी प्रचारप्रसारको लागि समय दिएकाले उहाँहरू आउनुहुन्छ भन्नेमा हामी आशावादी छौँ । हामी उहाँहरूको प्रतिक्षा गरिरहेका छौँ र उहाँहरुले हामीलाई गाइड गर्नुहुन्छ भन्ने लागेको छ ।

यहाँ त मध्यस्थकर्ताको भूमिकामा हुनुहुन्थ्यो । पूर्वसभापतिज्यूले निर्वाचन र कांग्रेसको विवादलाई लिएर के भन्नुभयो ?

विवादका कुराहरू निर्वाचनपछाडि गर्ने हो । अहिले कांग्रेस एक ढिक्क भएर निर्वाचनमा होमिएको छ । अहिले यो विषयलाई धेरै कोट्याउनुपर्ने आवश्यकता छैन । किनभने हामी सम्पूर्ण रुपमा निर्वाचन केन्द्रित भइसकेका छौँ । अरु थप कुरा निर्वाचन पछाडि गरौँ ।

यो पटक मोरङमा कांग्रेसले कति सिट ल्याउला ?

नयाँहरूको खासै राम्रो सम्भावना देखेको छैन । पुरानाको पनि कांग्रेसबाहेक अरु पार्टीमा लहर छैन । नेतृत्व परिवर्तनको हिसाबले र पार्टी परिवर्तनको हिसाबले एजेण्डामा अब्बल कांग्रेस नै देखिएको छ ।

म नेपाली कांग्रेसको उम्मेदवार ६ नम्बर क्षेत्रबाट भएको हिसाबले पनि नेपाली कांग्रेसलाई ‘क्लिनस्वीप’ गराउने दाउमा छु । मोरङ परापूर्वकालबाट नै नेपाली काङ्ग्रेसको गढ भएकाले यसलाई बचाई राख्नुपर्ने मलाई थप चुनौती पनि छ ।

अहिले कांग्रेसमा हामीले यो चाहिँ गल्ती गरेछौँ, यसले गर्दा पार्टीलाई घाटा भयो भन्ने कुनै त्यस्तो घटना छ ?

संगठनमा हामी कुनै पनि हिसाबले कमजोर भएका होइनौँ । साथीहरू बेवास्ता हुनुभएको मात्रै हो । संगठन हाम्रो अब्बल छ । हाम्रो सबैभन्दा ठूलो तागत भनेकै हाम्रो संगठन हो ।

महिला, दलित, आदिवासी ,थारु सम्पूर्ण विद्यार्थी युवा लगायतको संगठन छ । संगठन एकैपटक परिचालन गर्ने कोसिस गरिरहेका छौँ र हुँदै पनि छ। त्यसपछि पार्टीलाई त्यति गाह्रो हुँदैन ।

यहाँले संकेत गर्नुभएको चाहिँ एमालेसँगको गठबन्धनको कुरा होला । हामीले यसबारे निर्मम समीक्षा गर्न भ्याएका छैनौँ । सरकारमा गठनबन्धन गरेर गएका कारण हामीमाथि पनि प्रश्नहरु उठेका छन् । त्यसबारे समीक्षा गरेपछि यहाँलाई जवाफ दिन्छु ।

तर नयाँहरू त पुरानाको समय सकियो अब हामी आउँछौं भनिरहेका छन् नि ?

नयाँलाई कसले चिनेको छ ? उम्मेदवार पनि त चिन्नुपर्‍यो । म चाहिँ भन्छु मिडिया पनि अब न्युट्रल हुनुपर्छ । मिडिया पनि नयाँको पक्षमा खुलेको देखिराखेको छु ।

मैले यहाँको कुरा गरेको होइन । थुप्रै मिडियाहरू नयाँका झोले भएर हिँडेको देखिएको छ । अनि हामी चाहिँ पत्रकारहरूको संगठन नबनाउने भनेर हिँड्ने उहाँहरु अनि आफ्ना पकेट पकेटमा पत्रकार राखेर हिँड्नु त भएन नि । त्यसकारण नयाँ भनेकै कारण जनताले उनीहरूलाई बिना एजेण्डा, बिना काम जिताउँछन् भन्ने पक्षमा म छैन । जनता धेरै सचेत छन् ।

उसो भए मतदाताले यो बेला कस्तो निर्णय गर्नुपर्ला ?

मतदाताले को उम्मेदवारले संविधानको रक्षा गर्छ ? को उम्मेदवारले विकास गर्न सक्छ ? भन्ने कुरा हेर्नुपर्छ । प्रत्यक्षका उम्मेदवारहरूलाई मत दिँदा धेरै कुरामा ध्यान दिनुपर्छ । दुःख सुखमा को उम्मेदवार जनताको घरदैलोमा पुगेको छ ? चिन्दै नचिनेको भेट्दै नभेटेको उम्मेदवार प्रिय हुने अनि जो घर दैलोमा दुःखमा पुगेका छन्, उनीहरु ठिक नहुने ?

छोराछोरी विदेशमा हुने अनि नयाँ पार्टीलाई भोट देउ भन्ने अनि नेपालमा पुराना पार्टीका नेताहरुले मर्दा पर्दा हरेक हिसाबले सहयोग गर्नुपर्ने ? यो कुरा अति गम्भीर हो। विदेशमा भएका छोराछोरीले नयाँलाई भोट देउ भन्नुहुन्छ तर यहाँ भएका आमाबुवा, काकाकाकीले बुझ्न के जरुरी छ भने दुःखको बेला कसले साथ दियो ? त्यही छिमेकीले साथ दिइरहेको छ नि । छोराछोरी त विदेशमा छन्।

अनि छिमेकीलाई अपमान गरेर अरुलाई जिताउनु हुन्छ कि हुँदैन ? त्यस विषयमा मतदाताहरुले गम्भीर भएर सोचून । मैले मेरो क्षेत्रको मात्रै कुरा गरेको होइन, समग्र देशकै कुरा गरेको हो ।

यहाँले त झापा पाँचमा उम्मेदवारी दिएका बालेन्द्र शाह र केपी ओलीलाई पो तुलना गर्नुभयो कि ?

अहिले हामी त्यतातिर नजाउँ । त्यतातिर गयो भने कुरा अन्तै मोडिन्छ । मैले यो या त्यो भनेर इङ्गित गर्नुभन्दा पनि यस्तो किसिमको समस्या नआओस् भनेर सचेत गराएको हो । देशको जटिल परिस्थितिका कारण अरुका विषयमा कमेन्ट गर्न मलाई उचित लाग्दैन ।

अर्को कुरा अहिले निर्वाचन अगाडि नै प्रधानमन्त्री घोषणा गरेर जाने चलन छ, यो कतिको व्यवहारिक हो ?

यो कुरामा म अचम्मित छु । हामी संसदीय व्यवस्थामा हुर्किएका छौँ । संसदीय सर्वोच्चता भएको देशमा अगाडि नै प्रधानमन्त्री मानेर जानु कतिको व्यवहारिक हुन्छ ? तपाईं आफैँ विश्लेषण गर्नुहोस् ।

संसदीय व्यवस्थामा आफ्नो पार्टीको नेता चुन्ने अधिकार जितेर गएका प्रतिनिधिहरुलाई हुन्छ । सम्बन्धित पार्टीको कार्यसमितिलाई त संसदीय व्यवस्थाको नेता चुन्ने अधिकार हुँदैन ।

कम्युनिस्टहरूको नक्कल गरेर अगाडि नै प्रधानमन्त्री चुनेर जानु कतिको व्यवहारिक होला ? कम्युनिस्टहरूको नक्कल गरेर जाने चलन के कांग्रेसमा भित्रिएको हो ? आजसम्मको इतिहासमा नेपाली काङ्ग्रेसले कम्युनिस्टहरूको नक्कल गरेको छैन। गठजोडको सरकार बनाउँदा सहकार्य गरेको भन्दैमा उनीहरूको नक्कल गरेरै सार्नु ठिक हुँदैन ।

कांग्रेसले गरेको निर्णय पनि ठिक छैन हैन उसो भए ?

हामीले व्यावहारिक पाटोलाई हेरौँ न । कम्युनिस्टको नक्कल कांग्रेसले गरेर जाने हो भने नीति सिद्धान्त कहाँ पुग्यो ? नेपाली कांग्रेसको विधानमा त संसदीय दलको निर्वाचन भएपछि संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ नि । तर केन्द्रीय कार्यसमितिले नै यो है प्रधानमन्त्रीको आगामी उम्मेदवार भन्नु कतिको व्यवहारिक होला ? पपुलारिटीको हिसाबले त्यो ठिकै होला तर व्यवहारिक हिसाबले पार्टीलाई अगाडि बढाउनुपर्छ । राजनीति भनेको जनता ढाँट्ने मेलो नगरौं भन्छु म ।

अर्को कुरा पार्टीहरूले बहुमत ल्याउँछौँ भन्छन् । कांग्रेसले पनि बहुमत ल्याउँछु भन्दै देशमा दौडिरहेको देखिन्छ । यही व्यवस्थामा बहुमत ल्याउन सम्भव छ र ?

यो कुरामा मलाई क्लियर पार्न मन थियो तपाईंले उठाउनुभयो । जसले जतिसुकै ठूला कुरा गरे पनि कुनै पनि दलले यही व्यवस्थामा बहुमत ल्याउन सम्भव छैन । बहुमत ल्याउन पूर्ण प्रत्यक्ष निर्वाचित हुनुपर्छ ।

हाम्रो निर्वाचन प्रणाली यस्तो भएको छ कि बहुमत ल्याउने कुनैपनि दलको अवस्था छैन । नेपाली कांग्रेसको राष्ट्रिय सभामा अहिले बहुमत छ । तर त्यो बहुमतले पुग्दैन । हामीलाई दुई तिहाई बहुमत चाहिन्छ । तर नेपाली कांग्रेस मात्रै यस्तो पार्टी हो, यसले अन्य पार्टीसँग समन्वय गरेर अगाडि बढ्छ ।

अब पनि नेपाली काङ्ग्रेसले संविधान संशोधनको लागि यसरी जाउँ भनेर मुख्य भूमिका खेल्नुपर्ने अवस्था छ । यसका लागि जिम्मेवारी लिन हामीले आफ्ना थुप्रै कुराहरू परित्याग गर्नुपर्ने हुनसक्छ ।

संविधानमा केही सुधार ल्याउन सकिन्छ र निर्वाचन प्रणालीलाई पनि सुधार्न सकिन्छ भने धेरै कुराहरुमा कांग्रेसले परित्याग गर्नुपर्ने जरुरी छ। त्याग र समर्पणको भावना राख्न नेपाली कांग्रेसले मात्रै सक्छ, अरु पार्टीले सक्दैनन् ।

सुशील कोइरालाले नै नेपालको संविधान ल्याउनुभयो । पूर्वकम्युनिस्टहरू सबै प्रधानमन्त्री त भए तर आफ्नो दुनो सोझ्याउन लागे । कांग्रेस कहिले पनि त्यो दिसामा हिँडेको छैन । संसदीय व्यवस्थामा हेर्दै जानुहोला सबैभन्दा धेरै सरकारमा कम्युनिस्टहरू नै बसेका छन् । प्रचण्डजी हुनुभयो ,झलनाथजी हुनुभयो, माधव नेपाल हुनुभयो, बाबुरामजी हुनुभयो । केपी ओली हुनुभयो कसैले संविधान बनाउन सक्यो त सकेन नि ।

निर्वाचनबाट सुशील कोइराला आउनुभयो । उहाँ नेपाली कांग्रेसको नेतृत्वमा हुनुहुन्थ्यो । दुई तिहाई पुगेको थिएन तर सबैलाई मिलाएर संविधान जारी गराउनुभयो । इतिहास त हामीले बुझ्नुपर्छ नि । हो यही इतिहासलाई ध्यानमा राखेर यसको संरक्षण गर्दै कांग्रेसले अब निर्वाचन प्रणाली लगायत संविधान संशोधनमा सबैभन्दा अग्रपंक्तिमा रहेर भूमिका खेल्नुपर्छ ।

व्यवस्था परिवर्तन गर्ने कुरा कुनै पनि हालतमा हामीले गरेका छैनौं र व्यवस्था परिवर्तन हुनु हुँदैन ।

उसो भए बहुमत ल्याउँछौँ भनेर अरु पार्टीजस्तै कांग्रेसले पनि जनतालाई ढाटिरहेको छ हैन ?

ढाँट्ने कुरा भन्दा पनि निर्वाचनमा बहुमत ल्याउँछौँ भन्ने कुरा दाबी गर्नु फुर्सदको प्रचार हो । म साथीहरूलाई निर्वाचन नजिएकाले जनतालाई फुर्सदको प्रचार गरेर नझुलाउन आग्रह गर्छु । यो कुरा बुझ्नु जरुरी छ कि निर्वाचन प्रणाली सुधार नगरेसम्म कुनै पनि दलको बहुमत आउँदैन ।

त्यसो भए निर्वाचन प्रणाली सुधार गर्न र संविधानमा देखिएका त्रुटिहरु सच्याउन के गर्नुपर्ला ?

यी कुराहरू संसदबाटै गर्ने हो कि संसद बाहिरबाट गर्ने भन्ने कुराको प्राथमिकीकरण हुनुपर्छ। आयोग जस्तो बनाएर जाने हो कि अथवा अरु नै ढङ्गले जाने हो, निर्धारित हुनुपर्छ ।

हरेक १०, १२ वर्षमा संविधानको पुनरालोकन हुनुपर्ने कुरा हामीले संविधानमै लेखेका छौँ । सबै राजनीतिक दलहरूसँग समन्वय गरिकन अगाडि बढ्ने क्षमता नेपाली कांग्रेससँग छ । यो कुरा पहिला पनि प्रमाणित भइसकेको छ । अहिले पनि देखिन्छ । हाम्रो नेचर नै समन्वयकारी भूमिका खेल्ने हो । अरु पार्टीलाई पनि मिलाएर लग्न सक्ने क्षमता हामीसँग छ । हामी लोभ गर्दैनौँ ।

अब आम पाठकको प्रश्न र चासो चाहिँ गगन थापालाई कांग्रेसले सभापति बनाएको छ । आगामी प्रधानमन्त्रीको उम्मेदवार पनि बनाएको छ। यसमा तपाईंको चित्त दुखाइ छ कि छैन ?

यस विषयमा मेरो कुनै पनि तिक्तता छैन । यसबारे मलाई कुनै कमेन्ट पनि गर्न जरुरी लागेको छैन। सबै कुराहरू निर्वाचन पछाडि मिल्दै जान्छन् । उहाँलाई मानेर अगाडि बढेरै मैले पनि उम्मेदवारी दिएको हो।

उसो भए निर्वाचन पछाडि कांग्रेसको सरकार बनेको खण्डमा गगनलाई प्रधानमन्त्री मानेर अगाडि जान तयार हुनुहुन्छ ?

फेरि तपाईँ पुरानै कुरा दोहोर्‍याउँदै हुनुहुन्छ । अघि नै मैले भनिसकेँ निर्वाचनपछि कांग्रेसको संसदीय दल हुन्छ । संसदीय दलको निर्वाचन हुन्छ । संसदीय दलको निर्वाचनमा को को दाबेदार हुनुहुन्छ ? उहाँले जितेको खण्डमा त्यसपछाडि मात्रै यहाँले भनेजस्तै प्रधानमन्त्री बनाउने प्रोसेस हुन्छ।

त्यसको लागि त संसदीय दलको निर्वाचन फेस गर्नुपर्‍यो नि सम्बन्धित क्यान्डिडेटले । संसदीय दलले निर्णय गर्नुपर्छ को प्रधानमन्त्री हुने भनेर । संसदीय दलले निर्णय गरेपछि मात्रै नेता चुनिन्छ ।

नेता चुनिएपछि मात्रै त्यो व्यक्ति प्रधानमन्त्रीको दावेदार हुन्छ। यो प्रोसेसै तपाईंलाई मैले क्लियर गरिसकेपछाडि अब अगाडि नै प्रधानमन्त्री तोकेर जाने कुरा कतिको व्यवहारिक हुन्छ हास्यास्पद मात्र पो हुन्छ कि ? हामी कम्युनिस्ट पार्टी होइन नि । हाम्रो पार्टीलाई कम्युनिस्ट बनाउन खोज्या हो र ? यी निर्णय व्यवहारिक छन र ?

कांग्रेसका शुभचिन्तकहरूले एकपटक शेखर पनि प्रधानमन्त्री हुनुपर्छ भन्ने आस गरेका थिए, केही समय अगाडि त यहाँ पनि प्रधानमन्त्रीको दावेदार हुनुहुन्थ्यो अहिले यो सेलाएर गयो । अब निर्वाचनपछि यो सम्भव छ ?

अरुको नक्कल गर्न मलाई आउँदैन । कांग्रेसका शुभचिन्तक मेरा आदरणीय नेताहरू सम्पूर्णले मप्रति ठूलो भरोसा चिन्ता र मद्दत गर्नुभएको छ । समय र परिस्थितिले दिएको जिम्मेवारी बहन गर्न मैले पनि क्षमता राख्छु ।

तर म हल्लाखल्ला गरेर हिँड्ने किसिमको मान्छे होइन । त्याग र समर्पणको भावना भएको व्यक्ति हुँ। देश समुन्नत र समृद्धि हुन्छ भने म एक कदम अगाडि अथवा पछाडि बढ्न पनि तयार हुनुपर्छ । निर्वाचनपछाडि यी सबै परिस्थितिहरू यहाँले देख्नुहोला । त्यसपछि कुरा गरौँ ।

अन्तिममा विशेष परिस्थितिले भएको निर्वाचनमा देशवासीलाई यहाँले केही भन्नु छ ?

मतदातालाई मेरो आग्रह छ भोट दिँदा धेरै कुरा सोच्नुहोस् । विवेक प्रयोग गर्नुहोस् । प्रत्यक्षमा कस्तो उम्मेदवारलाई तपाईँहरूले जिताउन खोज्नुभएको छ, धेरै सोच्नुहोस् । त्यो व्यक्ति तपाईंहरुको माझमा आएको छ कि छैन ? तपाईंको समस्यालाई उसले कुन रूपमा लिएको छ ? विगतमा र अहिले उसका चरित्रहरू कस्ता छन् ? दुःख सुखमा साथ दिएको छ कि छैन ? तपाईंहरुको क्षेत्रमा विकास गरेको छ कि छैन ?

यो समग्र कुराहरू सोच्नुहोस् । कसैको हल्लामा लागेर लहलैमा र अफवाहमा लागेर भोट नहाल्नुस् योपटक अत्यन्त देश गम्भीर अवस्थामा छ । गम्भीर अवस्थालाई चिर्नको निम्ति विवेक प्रयोग गरेर मतदान गर्नुहोस् । अहिलेसम्म केही भएको छैन र आगामी दिनमा पनि देशमा केही हुन दिनु हुँदैन ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ५ : १८ बजे

अख्तियारसहित १० जनालाई ज्यान मार्ने धम्की दिने व्यक्तिविरुद्ध ६ मुद्दा, तीन दिन म्याद थप

काठमाडौं– आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजिएनको अध्यक्ष बताइ आफ्नो

सडक दुर्घटनाको सत्यतथ्य छानबिन गर्न महासङ्घको माग

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय

निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै

‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आईटी सेवा निर्यात भइरहेको छ’

काठमाडौं– सरोकारवालाहरूले आईटी क्षेत्रमा काम गर्नेहरूले वार्षिक सवा खर्ब रुपैयाँ