एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल « Khabarhub

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

१२५ सिट पार्टीकै लागि अनपेक्षित परिणाम



काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा पनि त्यस क्षेत्रका जनताको विश्वास जित्न सफल भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई हरेक राजनीति निर्णयहरूमा अगाडि सार्ने गरेको छ । बालेन्द्र शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने खनाल अबको प्रधानमन्त्री बालेन्द्र शाह हुने कुरामा कुनै दुई मत नभएको बताउँछन् ।

बालेन्द्र पार्टीमा प्रवेश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा १०० सिट कटाउने लक्ष्य राखिएको बताउँदै १२५ सिट जितिन्छ भन्ने नतिजा अनपेक्षित भएको उनको भनाइ छ । उनी वैकल्पिक शक्ति कुलमान घिसिङ र हर्क साम्पाङ मिलेको खण्डमा प्रत्यक्षमै पार्टीले एकछत्र जित निकाल्ने अवस्था आउन सक्ने विश्लेषण सुनाउँछन् । काठमाडौं-३ मा पराजित कुलमानलाई पनि सधैँ आफूहरूले मिस गर्ने बताउँदै हर्क साम्पाङको वैकल्पिक शक्तिसँग पनि राजनीतिक मुद्दाहरूमा अगाडि बढ्ने सम्भावना रहेको बताए ।

अबको केही दिनमै राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाह प्रधानमन्त्री बन्ने बताउँदै खनाल जनताले दिएको अभिमत सम्मान गर्दै जनअपेक्षा अनुसार नागरिक करारपत्र आत्मसात गरेर काम गर्ने दाबी गर्छन् ।

खनालसँग निर्वाचनपछिको सेरोफेरो र सरकार गठन, पार्टीले ल्याएको लोकप्रिय सिटको विषयमा केन्द्रित रहेर खबरहरूले छोटो कुराकानी गरेको छ। कुराकानीका क्रममा खनालले यही निर्वाचन प्रणाली मार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमत ल्याउनुमा सामाजिक सञ्जालको ठूलो प्रभाव रहेको र विदेशमा बस्ने नेपालीहरूले पनि उत्तिकै सहयोग गरेको बताए ।

प्रस्तुत छ– कुराकानीको सम्पादित अंश-

देशभर रिजल्ट हेर्दा तपाईंहरूले समानुपातिकको जोड्दा बहुमत कटाउने अवस्था छ । यो तपाईंहरुकै लागि अनपेक्षित नतिजा होला हैन ?

जेन-जीको विद्रोहपछिको परिस्थितिमा पुराना दलहरूप्रति जनताको जुन नैराश्य थियो, यस्तो अवस्थामा वैकल्पिक शक्तिहरू एक ठाउँमा आउँदाखेरि अपूर्व किसिमको नतिजा आउँछ भन्ने आँकलन हामीले गरेका थियौँ । त्यही अनुसार हामीले वैकल्पिक शक्तिलाई मिलाउँदै गयौँ । वैकल्पिक शक्तिलाई मिलाउनका लागि धेरै प्रयास र सङ्घर्ष गर्‍यौँ ।

प्रधानमन्त्रीको रूपमा तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई अगाडि सार्‍यौँ । हामीले त जनताबाट भेटघाट र फिडब्याकको आधारमा नै यस्तो हुन्छ भनेर काम गरेका थियौँ । अत्यन्त उत्साहपूर्वक नतिजा आउँछ भन्ने थियो । तर जनतामा यति धेरै फ्रस्ट्रेसन छ र हामीलाई यति धेरै माया गर्नुहुन्छ भन्ने बिल्कुल सोचेका थिएनौँ ।

उसो भए यसलाई अनपेक्षित नतिजा हो भन्न मिल्यो होइन ?

मैले केही समय अगाडि यहाँसँगको कुराकानीमै पनि भनेको थिएँ । हामीलाई ५०–६० सिट ल्याउनका लागि कुनै कठिन थिएन । वैकल्पिक शक्तिहरू एक ठाउँमा नआउँदा पनि रास्वपा पहिलो पार्टी बन्छ भन्ने हामीले सोचेका थियौँ । तर त्यति मात्रैले पुग्दैन र स्पष्ट बहुमतसहितको एकल सरकार बन्नुपर्छ भनेरै हामीले वैकल्पिक शक्ति विवेकशील साझा, बालेन्द्रजीको टिम लगायत अरुलाई मिलाएका हौँ ।

एकल सरकार बनाउन सकियो भने बल्ल जनअपेक्षित तरिकाले काम गर्न सकिन्छ भन्ने हिसाबले लागेका हौँ । अझै हामीले त कुलमानजी पनि साथमा हुन सक्नुभएको भए यहाँले भन्या जस्तो दुईतिहाइ बहुमत ल्याउन सम्भव थियो । कुलमानजी, हर्कजी सबै जोडिनुभएको भए हामीलाई दुईतिहाइ मत ल्याउन असम्भव भने थिएन । हामीले धेरै आँकलन, सर्भे र रिसर्च गरेका थियौँ ।

यो बेला यहाँले कुलमानको कुरा गर्नुभयो यद्यपि उहाँ पराजित हुनुभएको छ । अझै पनि यहाँहरुलाई उहाँ मिस चाहिँ भइरहेको छ ?

राजनीतिक निर्णयको हिसाबले डेफिनेट्ली उहाँ हामीलाई मिस हुनुभएको छ। उहाँ सक्षम कर्मचारी भएर आउनुभएको मान्छे हो । उहाँसँग नेपाली जनताको ठूलो तप्का जोडिएको छ । राजनीतिमा सङ्ख्या महत्वपूर्ण हुने भएकाले पनि कुलमानजी पनि साथमा भएको हुनाले हामी अझै सिट बढाउन सक्ने थियौँ । कुलमान हर्कजी सबै जोडिनुभएको भए त हामीले प्रत्यक्षमै क्लिनस्विप गर्न सक्ने अवस्था रहेछ । तर कुलमानजी मिस हुनुभयो । हामीले उहाँलाई माया गर्नुपर्छ ।

यो तयारी यहाँहरूले कसरी गर्नुभएको थियो ?

बालेन्द्र शाह हाम्रो पार्टीमा आउनुभन्दा अगाडिको तयारी हो । उहाँ हाम्रो पार्टीमा आइसके पछाडि हामीले १०० सिट जित्ने कल्पना गरेका थियौँ । उहाँ देशभर डुल्दा १०० भन्दा बढी कटाउन सकिन्छ भनेर विश्लेषण भइसकेको थियो ।

सार्वजनिक मञ्चमा हामी १५१ मिसन भनेर हिँडेको हो । उपसभापति डा. स्वर्णिम वाग्ले, म लगायतका धेरै नेता यही हाम्रो मिसन हो भनेर हिँडेका थियौँ । हामीले कुलमानजी लगायतसँग मिलेर गएको खण्डमा प्रत्यक्षमै यो मिसन अनुसारको सिट आर्जन गर्ने रहेछौँ । प्रत्यक्षमा १०० र समानुपातिकमा ५० गरेर १५० भनेर हामीले अनुमान लगाएको हो । तर प्रत्यक्षमै १२५ सिट आएको छ ।

यो हाम्रो लागि ठूलो उपलब्धि हो । यो उपलब्धिलाई रक्षा गर्दै नेपाली जनताको पक्षमा काम गर्नुपर्ने चुनौती छ । ग्राउन्ड परिस्थिति विश्लेषण गर्दा नै हामीले १०० सिट ल्याउँछौँ भनेर अगाडि नै बोलेको हो । स्पष्ट बहुमत त हाम्रो लक्ष्य नै थियो। कोठामा बसेर विश्लेषण गर्ने र समाचार लेख्ने तप्काका कारण हामीलाई कमजोर ठानिएको हो । तर यहाँलाई नढाँटिकन भन्नुपर्दा हामीले प्रत्यक्षमा १०० भन्दा बढी सिट कटाउँछौ भनेर पछिल्लो विश्लेषण गरेका थियौँ । १२५ नसोचेको परिणाम हो ।

अर्को कुरा नि यहाँले जुन हर्क, कुलमानको कुरा उठाउनुभयो । हर्क साम्पाङसँग सहकार्य गरेर अगाडि बढ्ने सम्भावना छ ?

हामी वैकल्पिक शक्ति भएकाले यो सम्भावना हुन्छ । अहिले नै सहकार्यको विषयमा नसोचेको भए पनि सहकार्यका लागि नयाँ शक्तिहरू, पुरानैसँग पनि राजनीतिक सहमतिका लागि र जनअपेक्षा अनुसार काम गर्नका लागि सहमति गर्न सकिन्छ । तर ढाँट्ने छल्ने र अरुलाई गालीगलौज गर्ने हाम्रो राजनीति संस्कार होइन ।

एउटा कुरा के भन्छु भने कुलमानजी र हर्क साम्पाङ सहितको एउटै पार्टी बनाएर गएको भए १६० निर्वाचन क्षेत्रमा नै हामीले जित्न सकिने रहेछ । कुनै कुरालाई १०० प्रतिशत गर्न नसकिने भएकाले मैले पाँच छोडिदिएँ । तर यसको व्याख्या यो नलागोस् कि अब बन्ने सरकारमै हामीले हर्कजीलाई साथमा लिएर जान्छौँ । अहिले यो सम्भव पनि छैन र यसबारे छलफल पनि भएको छैन ।

यहाँ २०७९ को निर्वाचनमा पनि विजय हुनुभएको सांसद हो । त्यसबेलाको अनुभव र अहिलेको अनुभव छोटोमा भन्दिनु न ?

खासमा म मेरो निर्वाचन क्षेत्र काठमाडौं-६ मा पनि त्यसबेला खासै परिचित थिइनँ । युवा र शिक्षाकर्मीसँग मात्रै मेरो चिनजान थियो । अहिले जितिसकेपछि र निर्वाचनको दौडानमा पनि अघिल्लोपटक अनुहारै नदेखी भोट हालेको यसपटक चिन्न पाइयो, देख्न पाइयो भन्दै भोट हाल्छौँ नि भन्नुभएको थियो । मैले राष्ट्र, राजनीति र संसदमा खेलेको भूमिकाको मतदाताले एकदमै धेरै प्रशंसा गर्नुभयो ।

यो निर्वाचनको दौडमा अलिकति इमोसनल बनाउने त्यस्तो केही सन्दर्भ छ ?

अहिलेको निर्वाचनको नतिजामा तीनवटा एकदम गम्भीर पाटाहरू छन् । यसबारे विश्लेषण फुर्सदमा अलि बढी गरौँला ।

पहिलो- कस्तो जमाना भएछ भने म घरदैलोमा जाँदा डिजिटललाइजेसनले एकदमै धेरै प्रभाव परेछ । आमाहरु अथवा वृद्ध मतदाताहरुलाई नमस्कार गरिसक्दा ए शिशिर खनाल आउनुभएछ भनेर उहाँहरुले मलाई एकदमै धेरै आश्चर्य बनाउनुभयो । उहाँहरुले कसरी चिन्नुभयो ? भनेर सोध्दा मोबाइलमा आको आइ गर्छ, मोबाइलमा के भन्दै आउँछ, कसो भन्दै आउँछ । त्यसो भएर हामी चिनिहाल्छौँ नि भन्नुभयो । यो डिजिटल प्रविधिको प्रयोग यस पटकको निर्वाचनमा अलि बढी भयो । यो जति राष्ट्रिय स्वतन्त्र पार्टीले बुझ्यो, अरु दलले त्यति धेरै बुझेका छैनन् ।

दोस्रो- धेरै ठाउँमा म पुग्दा विदेशमा भएको छोरा अथवा छोरीसँग म्यासेन्जरमा अथवा सामाजिक सञ्जालमा कुरा गरिराख्नुभएको हुन्थ्यो । त्यतिबेला उहाँहरुले म पुगेपछि ‘ला तेरो घन्टी आयो’ भनेर मलाई फोन दिएर चिनाउनुहुन्थ्यो । रास्वपाप्रतिको माहोल बनेपछि विदेशमा बसेका नेपालीहरूले आफ्नो परिवारमा जगाएको आशा र अर्ती एकदमै ठूलो प्रभाव छ ।

अनि तस्रो चाहिँ- अत्यन्तै युवा जेन-जी पुस्ता र युवा पुस्ता , स्कुलै केटाकेटी र बालबच्चामा पनि घन्टीको प्रभाव एकदमै धेरै देखियो । उहाँहरुले आफ्नो परिवारलाई कन्भिन्स गरेको देखिन्छ । आमाबाउले तपाईंको प्रोफाइल मलाई छोरा अथवा छोरीले देखाइसकेको छ । म घन्टीमै भोट हाल्ने हो भनेर धेरै ठाउँमा भन्नुभयो । यो परिवर्तनलाई एकदमै आत्मसात गर्नुपर्ने देखियो । यस्ता खालका कन्भर्सेसन र यी कुराहरु योपटक मलाई एकदमै नयाँ लाग्यो र म प्रभावित पनि भएँ ।

यी माथिका तीन कुराहरूले नेपालको राजनीतिलाई पार्न सक्ने प्रभावको विषयमा कोठे बैठकहरूमा हुने विश्लेषणले फेल खाएको छ ।

दुवैवटा निर्वाचनमा यहाँले अत्यधिक मत ल्याएर विजय हुनुभएको छ। राजनीतिमा होमिएको मान्छे, यो यात्रामा परिवार र जनतालाई कसरी सम्झनुहुन्छ ?

यसमा धेरै जनाको भूमिका छ। स्वाभाविक रूपमा परिवार एकदमै धेरै महत्वपूर्ण हुने रहेछ मेरो बुबा अघिल्लो निर्वाचन र यसपटक पनि रिटायर्ड कर्मचारी भएको हिसाबले मेरो ठूलो खम्बा भएर उभिनुभएको थियो ।

अघिल्लो निर्वाचनमा एकदमै धेरै युवा साथीहरू खटेर काम गर्नुभएको थियो । अहिले आफ्नो क्षेत्रका प्राय सबै जनता नै लाग्नुभयो । पार्टी संगठनभित्रका साथीहरूले पनि एकदमै धेरै सहयोग गर्नुभयो । मेरो निर्वाचन क्षेत्रका १६ वटा वडाका साथीहरूको मेहनत र उहाँहरूको पसिनाका कारण पनि म यहाँ आइपुगेको छु ।

कतिपय अवस्थामा स्वतस्फूत रूपमा मलाई पनि थाहा नभएका साथीहरुले सहयोग गर्नुभएको रहेछ । कतिपयलाई राष्ट्रिय स्वतन्त्र पार्टी मन परेर, कतिलाई रवि लामिछाने मन परेर, कतिलाई बालेन्द्र शाह त कतिलाई शिशिर खनाल समेत मन परेर पाएको माया हो । कति परिचित पात्रले सहयोग गर्नुभयो भने कति अपरिचित पात्रले निस्वार्थ रुपमा मलाई सहयोग गर्नुभयो ।

अब यहाँहरु कसरी काम गर्नुहुन्छ ?

स्पष्ट हामीले पाँच वटा नागरिक करारका मुद्दाहरू अगाडि सारेका छौँ । हामीले सुशासन, सार्वजनिक स्वास्थ्य र शिक्षामा काम गर्ने भनेका छौँ । अर्को रोजगारी सिर्जना गर्ने । विदेशमा भएका नेपालीहरूको अधिकार र कनेक्टिभिटीमा रहेर नागरिक करारपत्र अनुसार काम गर्छौँ ।

हामीले लिखित रूपमा गरेका प्रतिबद्धताहरू पूरा गर्न निरन्तर प्रयत्नसँगै र पूरा पनि गर्नेछौँ । छोटोमा पनि १०० दिनभित्रमा केही न केही नतिजा दिने गरेर काम गर्छौँ । हाम्रा केही तयारीहरू सुरु भइसकेका छन् । निर्वाचन नतिजा घोषणा भइसकेपछि हामी सरकार सञ्चालनका विषयहरूमा तयारी सुरु हुन्छ ।

अर्को कुरा बालेनले जिते पनि रास्वपामा पावरको विषयलाई लिएर द्वन्द्व हुन्छ र उनी प्रधानमन्त्री बन्न पाउँदैनन् भन्ने कुरा सुनिन्छ । यहाँले स्पष्ट बनाइदिनुहुन्छ कि ?

यो त हामीले स्पष्ट रुपमा जनतासँग गरेको वाचा हो । जनतालाई हामीले भावी प्रधानमन्त्री नै बालेन्द्र शाह भनेर चिनाएका हौँ । चुनावमा पनि त्यही अनुसार गएको र त्यो सहमति नै हाम्रो शीर्ष नेता पार्टी सभापतिलगायतले गरेको हुनाले एक इन्च पनि तलमाथि हुँदैन ।

निर्वाचनमा बालेन्द्र, रविको क्रेज देखेर जनताले हामीलाई विश्वास गरेका हुन् । बालेन प्रधानमन्त्री बन्नुहुन्न भनेर हामीलाई कमजोर बनाउने प्रयत्नले गरिएको हल्लालाई हामी विश्वास गर्दैनौँ । अबका हाम्रो प्रधानमन्त्री बालेन्द्र शाह नै हो । अबको एक हप्ताभित्रै उहाँ प्रधानमन्त्री बन्नुहुन्छ । निर्वाचनको सम्पूर्ण परिणाम आइसकेपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्छ ।

नयाँ सरकारका लागि छलफल सुरु भइसक्यो ?

आ-आफ्नो निर्वाचन क्षेत्रमा नेताहरू भएकाले छलफल नै बसेर सुरु हुन सकेको छैन । सम्पूर्ण नतिजा आइसकेपछि छलफल त भइहाल्छ नि । एक हिसाबले हामी तयारी नै छौँ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ५ : ०० बजे

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म

लागत खर्च घटाएर कृषि उत्पादनमा लाग्नुपर्छ : मन्त्री परियार

कैलाली – कृषि तथा पशुपक्षी विकासमन्त्री डा मदनप्रसाद परियारले प्रविधिको

रुसी शहरहरूमा इन्टरनेट सेवामा अवरोध

मस्को – मस्को र अन्य रूसी शहरहरूमा आंशिकरूपमा नेटवर्क अवरोधहरू

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स, वैदेशिक मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा नेपालमा साढे १२

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा