काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन यही असार ७ बाट चितवनमा हुँदैछ। २०७९ को असार ७ को स्थापना भएको पार्टीले पहिलो महाधिवेशनमा गुटगत राजनीतिलाई अन्त्य गर्न केन्द्रीय समितिको निर्वाचनमा नेताहरूलाई स्वविवेकबाट उम्मेदवारी दिन पाउने व्यवस्था गर्न लागिएको छ।
२०७९ को निर्वाचनमा २१ सिट प्राप्त गरेको सो पार्टीले २०८२ मा भएको निर्वाचनमा १८२ सिट प्राप्त गरेपछि अहिले उसको सर्वाधिक चर्चा छ । रास्वपा महाधिवेशनको चासो अरू दललाई पनि छ। पुराना दलहरूले रास्वपामा गुटगत राजनीति मौलाएको दाबी गरिरहँदा यसका नेताहरू भने कुनै समस्या नभएको स्पष्टीकरण दिन्छन्।
केन्द्रीय समितिको निर्वाचनमा इच्छा लाग्ने र विधानले समेट्ने सबैले भाग लिन पाउने व्यवस्था पार्टीले गरेको सहमहामन्त्री विपिन आचार्य बताउँछन् ।
केन्द्रीय समितिको निर्वाचनका लागि स्वतन्त्र रहने छन्। पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी पनि केन्द्रीय समितिको निर्वाचनका लागि नेताहरूलाई स्वतन्त्र छाडिने बताउँछिन् ।
‘केन्द्रीय समिति जान धेरै नेताहरूले आकांक्षा गरेको देखिन्छ। हामीले केन्द्रीय समितिमा विधानको व्यवस्थाअनुरुप भाग लिन मिल्नेजतिलाई कुनै हिसाबले रोक्दैनौँ । केन्द्रीय समितिको निर्वाचनपछि सचिवालयको नेतृत्व छान्ने भएकाले सकेसम्म धेरै पदमा सहमतिको प्रयास हुन्छ’, अधिकारीले खबरहबलाई भनिन्, ‘विधानले तोकेअनुसार केन्द्रीय समितिमा नेताहरूले भाग लिन पाउने व्यवस्था गरिदिएपछि पार्टीमा लोकतान्त्रिक प्रक्रियाको राम्रोसँग अभ्यास हुन्छ। २५ सय बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनमा करिब ५०० हाराहारीमा केन्द्रीय सदस्यका आकांक्षी देखिन्छन्।’
नेता प्रमोद न्यौपाने पनि पहिलो महाधिवेशन भएकाले ४–५ सय आकांक्षी केन्द्रीय समितिमा देखिनु स्वभाविक भएको बताउँछन्। सभापति रवि लामिछानेको सचिवालयमा बसेर लामो समय काम गरेका उनले २५०० प्रतिनिधिबाट चार-पाँचसय केन्द्रीय सदस्यका आकांक्षी हुनु स्वाभाविक रहेको बताए।
‘पाँच सय त केन्द्रीय सदस्यका आकांक्षी हुनुहुन्छ होला। १८२ जना सांसद अरू प्रतिनिधि र पार्टीसँग लामो समयदेखि जोडिएका पनि आकांक्षी हुने हुँदा बढ्ने अवस्था देखिन्छ,’ न्यौपानेले भने, ‘केन्द्रीय समितिको निर्वाचनमा विधानले तोकेको व्यवस्था पुगेअनुरुपका व्यक्तिलाई नलड्नु भन्ने अवस्था रहँदैन। सचिवालयमा नेताहरूले मिलाउनुहोला। हामी शुभचिन्तक हौँ। परिस्थिति त्यस्तै देखिन्छ।’
रास्वपाले वडा स्थानीय तह र जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको छ। अहिले प्रदेश निर्वाचनको अन्तिम चरणमा छ। जिल्ला र प्रदेशको अधिवेशनमा किचलोसमेत देखिएको छ। गुटगत राजनीति अन्त्य गर्ने भनेको रास्वपाका केही नेताले जिल्ला र प्रदेश अधिवेशनमा प्यानल नै बनाइरहेका छन् ।
जिल्लागत अवस्था हेर्दा रास्वपामा संस्थापन पक्ष अर्थात् लामिछाने समूहका नेताहरू धेरै आएका छन्। छिटफुट जिल्लामा विवेकशील साझा र बालेनका पक्षका नेताले समेत निर्वाचित भएका छन् । तर गुटगत रुपमा अधिवेशन नगरिएको महामन्त्री बुर्लाकोटी बताउँछन्।
यता अर्का महामन्त्री भूपदेव शाह पार्टी बन्नै बाँकी रहेकाले विभिन्न आरोप लगाउनु निराधार रहेको बताउँछन्। उनी बल्ल पार्टी पहिलो महाधिवेशनमा गएर पार्टी बन्ने प्रक्रियामा रहेकाले कुनै गुट पार्टीमा नरहने दाबी गर्छन्।
‘पार्टी बन्ने प्रक्रियामा छ । हामीले सरकार सञ्चालन गरे पनि पार्टीका धेरै सैद्धान्तिक व्यावहारिक र वैचारिक कुरामा स्पष्टता ल्याउनुपर्ने छ’, जिल्ला दौडाहामा रहेका उनले अगाडि भने, ‘यो ऐतिहासिक महाधिवेशनले सबै पार्टीका कुरालाई क्लियर गरेर जान्छ । अझ बलियो र देशव्यापी रुपमा फैलिन्छ। जनताले विश्वास गरेर दिनुभएको मतको कदर गर्ने गरी पार्टीलाई तल्लो तहसम्म विस्तार गर्छौं ।’
सभापति लामिछाने, वरिष्ठ नेता बालेन
रास्वपाको नयाँ विधान सचिवालयले पारित गरेको छैन। विधान संशोधन मस्यौदामा काम गरिरहेका संयोजक आचार्यनिकटका अनुसार पार्टीले वरिष्ठ नेता विधानमा थपेको छ।
पार्टी सभापति लामिछाने र वरिष्ठ नेता शाह बन्ने विषयमा तलमाथि नहुने जानकारी महामन्त्री बुर्लाकोटीले दिए ।
‘सभापति र वरिष्ठ नेताको विकल्प पार्टीले खोज्ने अवस्थामा छैन। सचिवालयका नेताहरू यी पदका आकांक्षी हुनुहुन्छ जस्तो लागेको छैन। त्यसकारण निर्विकल्प सभापति लामिछाने र वरिष्ठ नेता वालेन्द्र हो’, उनी भन्छन् ।
विवेकशील साझाबाट प्रवेश गरेकी समीक्षा बास्कोटा पनि सभापतिमा लामिछाने र वरिष्ठ नेतामा वालेन्द्रको विकल्प नभएको बताउँछिन्।
बालेन पक्षका नेताहरूले अबको सभापति लामिछाने नै हो भन्ने कुरा सार्वजनिक रूपमा नबोले पनि महामन्त्री भूपदेव भने त्यो कुरा स्वीकार्छन् ।
‘पार्टीको पहिलो महाधिवेशन भएको छैन, पार्टीलाई चलायमान बनेर यहाँसम्म ल्याउन लामिछानेले ठूलो त्याग र भूमिका निर्वाह गर्नुभएको छ । उहाँको विकल्प कसैले खोज्ने आट गर्नु हुँदैन, अहिले गर्न पनि सक्दैन। उहाँले नै यो पार्टीलाई देशको पहिलो शक्ति बनाउन सफल हुनुभएको हो’, पार्टी नेतृ बासकोटाले खबरहबलाई भनिन्– ‘प्रधानमन्त्रीज्यूले पनि पार्टीलाई उचाइमा पुर्याउन मेहनत गर्नुभयो। सभापतिको विकल्प खोज्ने पक्षमा वरिष्ठ नेता हुनुहुन्न ।’
यता सचिवालय सदस्य सरिता ज्ञवाली पनि लामिछानेको विकल्प खोज्ने पक्षमा सचिवालयका कुनै नेता नभएको दाबी गर्छिन्। सभापति र वरिष्ठ नेताको विकल्पमा कोही नेता नदेखिएको बताउँदै उनी भन्छिन्– ‘सभापति र वरिष्ठ नेताको विषयमा छलफल नै गर्नुपर्दैन । अरुका विषयमा त प्रक्रियाहरू छन्।’
उपसभापतिमा पनि डा. स्वर्णिम वाग्लेको विकल्प खोज्ने पक्षमा कोही देखिएका छैनन्। ‘विधानलाई हेर्ने भने १२९ जना केन्द्रीय समिति बन्ने अवस्था देखिन्छ । सभापतिले २२ जना थप्न सक्ने प्रावधानका साथै प्रदेश सभापति केन्द्रीय समितिमा रहने व्यवस्था छ ।
केन्द्रीय समितिको सङ्ख्या थपिए पनि २०० बढी नकटाउने पार्टीको तयारी छ । अहिले पार्टीको महाधिवेशन लागिसकेकाले करिब ४–५ सय केन्द्रीय सदस्यका आकांक्षी छन् ।
सचिवालयमा सर्वससम्मति
सचिवालयका लागि सर्वसम्मतिको प्रयास गरिने भएको छ। वरिष्ठ नेता र सभापतिबाहेक उपसभापति, महामन्त्री, सहममन्त्री लगायतका पदमा पनि सर्वसम्मतिको प्रयास जारी रहने बताइएको छ । विधानमा कोषाध्यक्ष र सह-कोषाध्यक्ष सभापतिले छनोट गर्न पाउने व्यवस्था छ। त्यसलाई यस पटक पनि निरन्तरता दिने जनाइएको छ ।
रास्वपाको विधानमा तीन उपसभापति रहने व्यवस्था छ । जसमा महिला एक अनिवार्य छ । तीन उपसभापतिमध्ये एक स्वर्णिमलाई निरन्तरता दिने तयारी छ । अहिलेका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उपसभापतिमा लाने तयारी रविले गरेका छन्।
त्यस्तै महिला उपसभापतिमा वर्तमान कोषाध्यक्ष लिमा अधिकारी, समीक्षा बास्कोटा, डा. तोशिमा कार्की, बसुमाया तामाङ, रञ्जु दर्शना देखिएका छन्।
रञ्जु र लिमाको सम्भावना बढी छ । बास्कोटा संसदीय समितिको सभापति छिन्। सचिवालयको आकांक्षी मन्त्रीहरू प्रतिभा रावल, सोबिता गौतम र बसुमाया तामाङलाई पनि समेट्ने तयारी छ।
पार्टी विधानमा एक महामन्त्री रहने व्यवस्था भए बालेनले भूपदेवलाई अगाडि सार्ने तयारी गरेका छन्। दुई महामन्त्री हुँदा एक भूपदेव र रविपक्षका एक महामन्त्री बन्ने छन्।
महामन्त्रीका लागि रविबाट दीपक बोहराको नाम छ । उनीसँगै प्रवक्ता मनिष झा र परराष्ट्रमन्त्री शिशिर खनालको नाम पनि छ। सहममन्त्री विपिन आचार्यले पनि दाबी गरेका छन्।
प्रवक्ताका लागि प्रमोद न्यौपाने र दीपक बोहरामध्ये एकजनालाई चुन्ने रविले तयारी गरेका छन्। सह-प्रवक्ता र सह-ममन्त्रीमा पनि दौड सुरू भएको छ।
पार्टीको सचिवालयका लागि दाबी गर्नेमा करिब ३०-३५ नेता छन्। विराजभक्त श्रेष्ठ, निशा डाँगी, गणेश पराजुली, गणेश कार्की, समीक्षा बास्कोटा, रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, बसुमाया तामाङ, हरि ढकाल, डा. चन्दा कार्की, सस्मित पोखरेल, सरिता ज्ञवाली, खगेन्द्र परियार, अरनिको पाण्डे, सुनिल लम्साल, डा. अमरेशकुमार सिंह, पुरुषोत्तम यादव लगायत सचिवालयमा आउने तयारीमा छन् ।
तर उनीहरूले सचिवालयमा आउन केन्द्रीय समितिको निर्वाचन जित्नुपर्ने हुन्छ। केन्द्रीय समितिको निर्वाचन जितेमात्रै सचिवालयका लागि योग्य ठहरिने प्रावधान विधानमा छ।












प्रतिक्रिया