न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति « Khabarhub

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले रक्षा, सुरक्षा, व्यापार, कूटनीति, विज्ञान तथा प्रविधिलगायत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित शनिबार ‘रणनीतिक साझेदारी’ घोषणा गरेका छन्।

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले अकल्यान्डस्थित गभर्नमेन्ट हाउसमा भारतीय प्रधानमन्त्री मोदीलाई माओरी परम्पराअनुसार स्वागत गर्दै सम्मान गारद प्रदान गरे। गत अप्रिलमा दुई देशबीच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि सम्बन्धलाई थप मजबुत बनाउने दिशामा यो भ्रमणलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

जुलाई ६ देखि ११ सम्म इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा रहनुभएका मोदीको न्युजिल्यान्ड यात्रा यस भ्रमणको अन्तिम चरण हो। प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य गतिविधि र प्रभावका बीच भएको यो भ्रमणलाई भारतको कूटनीतिक सक्रियताको संकेतका रूपमा पनि विश्लेषण गरिएको छ।

चालीस वर्षपछि कुनै भारतीय प्रधानमन्त्रीले न्युजिल्यान्ड भ्रमण गरेको यो पहिलो अवसर हो।

स्वागत समारोहमा प्रधानमन्त्री लक्सनले भारत–न्युजिल्यान्ड सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै रणनीतिक साझेदारीले दुवै देशबीचको सहकार्यलाई थप व्यापक बनाउने बताए।

प्रधानमन्त्री मोदीले यसलाई दुई देशबीचको सम्बन्धमा ‘थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने महत्वपूर्ण कोशेढुङ्गा’ को संज्ञा दिए। उनले लोकतान्त्रिक मूल्यप्रतिको साझा प्रतिबद्धताले भारत र न्युजिल्यान्डलाई स्वाभाविक साझेदार बनाएको उल्लेख गरे।

दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा रक्षा सहकार्य, संयुक्त नौसैनिक अभ्यास, व्यापार, कूटनीति, संस्कृति, खेलकुद तथा विज्ञान र प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्ने उल्लेख गरिएको छ। साथै, ‘स्वतन्त्र, खुला, शान्तिपूर्ण र समृद्ध इन्डो–प्यासिफिक क्षेत्र’ निर्माणमा साझा प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

व्यापार सम्झौतामाथि आन्तरिक बहस

मोदीको भ्रमणका क्रममा अकल्यान्डस्थित स्पार्क एरेनामा भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। न्युजिल्यान्डमा बसोबास गर्ने करिब तीन लाख भारतीय मूलका नागरिकमध्ये हजारौँ सहभागी हुने अपेक्षा गरिएको छ।

यसैबीच, नोभेम्बरमा हुने आमनिर्वाचनअघि प्रधानमन्त्री लक्सनले भारतसँगको स्वतन्त्र व्यापार सम्झौताले रोजगारी सिर्जना र आर्थिक लाभ पुग्ने दाबी गर्दै आएका छन्। तर, भारतीय विद्यार्थी र कामदारका लागि भिसा तथा आप्रवासन प्रक्रिया सहज बनाउने प्रावधानलाई लिएर भने न्युजिल्यान्डभित्र आलोचना भइरहेको छ।

लक्सन नेतृत्वको गठबन्धन सरकारमा सहभागी ‘न्युजिल्यान्ड फस्र्ट’ पार्टीका केही सांसदले सम्झौताका केही प्रावधानप्रति असन्तुष्टि जनाएका छन्। सरकारीमन्त्री शेन जोन्सले पनि सार्वजनिक रूपमा सम्झौताप्रति आपत्ति जनाएका थिए। उनको अभिव्यक्तिलाई लिएर भारतीय समुदायका केही नेताले जातीय विभेदपूर्ण टिप्पणी भएको आरोप लगाएका छन्।

यसैबीच, विवादास्पद धार्मिक नेता ब्रायन तामाकीले प्रधानमन्त्री मोदीको भ्रमणको विरोध गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेपछि न्युजिल्यान्डका जातीय सम्बन्ध आयुक्तले त्यसको कडा आलोचना गर्दै उक्त अभिव्यक्तिलाई ‘अत्यन्त आपत्तिजनक’ बताएका छन्।

प्रधानमन्त्री लक्सनले भने मोदीको भ्रमणलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा चित्रण गर्दै यसले दुवै देशका नागरिकको समृद्धि र सुरक्षामा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ३ : १९ बजे

ग्यास अभाव भएपछि अनुगमनमा निस्किए प्रहरी-प्रशासन

धनकुटा– धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि जिल्ला प्रशासन

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको