सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन « Khabarhub

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्न सडक हेरालु परिचालन भएका छन् । 

बर्सातको समयमा अत्यधिक वर्षा हुने र ग्रामीण सडकहरू निरन्तर क्षतिग्रस्त भएर यातायात अवरुद्ध हुने अवस्थालाई मध्यनजर गर्दै अवरुद्ध सडक बाह्रै महिना सञ्चालन गर्न नगरपालिकाले २६ जना सडक हेरालु नियुक्त गरेर परिचालन गरेको हो । 

विगत वर्षमा सडक मर्मत गर्नका लागि मेसिन प्रयोग गर्दै आएको नगरपालिकाले चालु आर्थिक वर्षदेखि मेसिनको सट्टा सडक हेरालुको रूपमा मान्छेको प्रयोग सुरु गरेको छ । एघार वडा रहेको यो नगरपालिकामा सडक मर्मतमा मात्र वार्षिक रु एक करोडको हाराहारीमा खर्च हुँदै आएको थियो । 

सडक मर्मत तथा सम्भारको नाममा नगरपालिका र वडा कार्यालयले मेसिन (स्काभेटर तथा जेसिबी) प्रयोग गर्नका लागि बजेट विनियोजन गर्दै आएको थियो । नगरपालिकाले एक जनाले मासिक रु २१ हजार पारिश्रमिक पाउने गरी २६ जना हेरालुलाई पहिलो चरमा तीन महिनाका लागि नियुक्ति दिएको हो । 

सडक हेरालुलाई सडकको रेखदेख गर्ने, सम्भावित जोखिमयुक्त स्थानको पहिचान गरी नाली सरसफाइ गर्ने, खाल्डाखुल्डी पुर्ने, सडकमा आएको क्षति तत्काल मर्मत गर्ने तथा आवश्यक परे सम्बन्धित निकायलाई जानकारी गराउने जिम्मेवारी दिइएको छ । 

नगरपालिकाले नियुक्त गरेको सडक हेरालुले जनघनत्व बढी भएका बस्ती आसपास तथा सर्वसाधारणले बढी उपयोग गर्ने सडक छानेर मर्मत गर्ने जनाइएको छ । 

सम्बन्धित सडक आसपास बसोबास गर्ने तथा आर्थिक रूपमा विपन्न परिवारका व्यक्तिलाई प्राथमिकता दिने मापदण्ड बनाएर वडाको सिफारिसको आधारमा सडक हेरालु नियुक्त गरिएको नगरप्रमुख विमला राईले जानकारी दिए ।

 ‘विगत वर्षमा सडक मर्मतका लागि मेसिन प्रयोग गर्दा नगरपालिका र वडाले ठूलो बजेट खर्च गर्‍यौँ । त्यसले दीर्घकालीन समाधान दिन नसकेपछि यसपटक सडक हेरालु नियुक्त गरिएको छ’, उनले भने, ‘मेसिनले एकपटक मर्मत गरिएका सडकहरू वर्षापछि पुनः बिग्रिने समस्या दोहोरिएको थियो । सडक हेरालुको नतिजा फलदायी देखिए सङ्ख्यासमेत वृद्धि गर्ने र कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौँ ।’

भूगोलका आधारमा ठूला क्षेत्रफल रहेका चार वडा बाहुनीडाँडा, डिकुवा, दुर्छिम र राजापानीमा तीन-तीन जना र अन्य सात वडामा दुई-दुई जनाका दरले हेरालु नियुक्ति गरिएको छ । 

मानवीय जनशक्ति प्रयोग गरेर सडकलाई चुस्त तथा दुरुस्त राख्ने लक्ष्यका साथ नगरपालिकाले आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममा सडक हेरालु नियुक्त गरेर परिचालन गर्ने प्रस्ताव पारित गरेको थियो । 

दश स्थानीय तह रहेको जिल्लामा अहिले अविरल वर्षाका कारण अधिकांश ग्रामीण सडकमा यातायात सेवा अवरुद्ध रहेका छन् । जिल्लाको दोस्रो ठूलो स्थानीय तह हलेसी तुवाचुङ नगरपालिकामा भने, सडक हेरालुका कारण सबै वडामा सहजरूपमा यातायात सञ्चालन भइरहेको स्थानीयले बताएका छन् । 

जिल्लाका अन्य स्थानीय तहले हरेक वर्ष आ–आफ्नो क्षेत्रभित्रका ग्रामीण सडक मर्मतका लागि करोडौँ रकम खर्च गर्दै आएका छन् । मेसिन प्रयोग गरेर मर्मत गरिएका सडक पुनः अर्को वर्ष बर्सातको भलबाढीले खोलेर त्यही अवस्थामा पुर्‍याउने गरेको स्थानीयवासीले बताउँदै आएका छन् ।
 

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ३ : ०७ बजे

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

राँझा–  भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको कृषिउपजले

चितवनमा हात्तीको वनभोज (तस्बिरहरू)

चितवन– विद्यार्थी, युवा–युवती वा अन्य उमेर समूहका मानिस एकजुट भएर वनभोज

अमेरिका– इरान संवादलाई सहज बनाउन निरन्तर प्रयासरत पाकिस्तान

एजेन्सी– पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानलाई वार्ताको टेबलमा ल्याउन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका