शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा « Khabarhub

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता निष्कर्षविहीन भएपछि दुई साताका लागि तय भएको युद्धविराम अब अन्यौलमा परेको छ । शनिबार दिनभर र आइतबार बिहानसम्म २१ घण्टा भएको वार्ता असफल भएसँगै दुई देशबीच फेरि युद्ध चर्किने जोखिम बढेर गएको छ ।

शान्ति वार्तापछि आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा अमेरिकी टोलीका मुख्य वार्ताकार उपराष्ट्रपति जेडी भान्सले परमाणु हतियारको विषयमा ठोस सहमति जुट्न नसकेको जानकारी दिए । शान्ति वार्तामा इरानले हर्मुज जलसन्धिमा आफ्नो नियन्त्रण कायम हुनुपर्ने अडान पनि राखेको थियो । यस विषयमा पनि अमेरिकी पक्षले सकारात्मक प्रतिक्रिया नदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मुख्य यी दुई बुँदामा सहमति जुट्न नसकेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।

पत्रकार सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दुई देशबीच २१ घण्टासम्म गम्भीर छलफल भए पनि आपसी मतभेद हटाउन नसकिएको जानकारी दिए । उनले यो परिणाम अमेरिकाका लागि भन्दा पनि इरानका लागि बढी हानिकारक हुने चेतावनी दिए । अमेरिकाले आफ्ना सर्तहरू स्पष्ट रूपमा राखेको तर इरानले ती सर्त मान्न तयार नभएको भान्सको भनाइ छ ।

अमेरिकाले एउटा सरल प्रस्ताव इरानसामु राखेको भन्दै उनले यो नै अमेरिकाको तर्फबाट ‘अन्तिम र उत्तम’ प्रस्ताव भएको टिप्पणी गरे । अब इरानले अमेरिकी प्रस्ताव स्वीकार गर्छ वा गर्दैन भन्ने कुरा प्रतीक्षाको विषय भएको उनको भनाइ छ ।

अमेरिकाले इरानसँग भविष्यमा कहिल्यै पनि परमाणु हतियार नबनाउने र त्यस्ता हतियार बनाउन प्रयोग हुने उपकरणहरू समेत नराख्ने प्रतिबद्धता खोजेको थियो । तर, वार्ताका क्रममा इरानबाट त्यस्तो कुनै ठोस प्रतिबद्धता नआएको उपराष्ट्रपति भान्सले जानकारी दिए । उनले अमेरिका निकै लचक भएर इमानदारीपूर्वक वार्तामा प्रस्तुत भए पनि खासै प्रगति हुन नसकेको दाबी गरे । पत्रकार सम्मेलनलगत्तै उनी अमेरिका फर्किएका थिए ।

अर्कोतर्फ इरानी सञ्चारमाध्यमहरूले भने वार्ता असफल हुनुमा अमेरिकाको दोष रहेको जनाएका छन् । उनीहरूका अनुसार अमेरिकी पक्ष यथार्थवादी नभएको र उनीहरूले इरानसँग निकै ठूला मागहरू अघि सारेका कारण कुराकानी निष्कर्षमा पुग्न नसकेको हो । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले हर्मुज जलसन्धिको नियन्त्रण, इरानको आणविक कार्यक्रम, इरानमाथि लगाइएका प्रतिबन्ध, युद्धको क्षतिपूर्ति र क्षेत्रीय युद्धको अन्त्यका बारेमा केन्द्रित थिए ।

इरानी प्रवक्ता बाघेईले अमेरिकी पक्षको आलोचना गर्दै कूटनीतिक प्रक्रियाको सफलता विपक्षी टोलीको गम्भीरता र इमानदारीमा भर पर्ने बताए । उनले अमेरिकाले अनावश्यक र अत्यधिक मागहरू राख्न छोड्नुपर्नेमा जोड दिए ।

इरानले वार्ताका लागि आफ्नो तर्फबाट केही सर्तहरू अघि सारेको थियो, जसमा हिजबुल्लाहमाथि भइरहेको इजरायली आक्रमण रोकिनुपर्ने माग पनि समावेश थियो । यसबाहेक इरानी टोलीले अमेरिकाले रोक्का गरिदिएको ६ अर्ब डलर रकम फुकुवा हुनुपर्ने, परमाणु कार्यक्रमका बारेमा ठोस ग्यारेन्टी पाउनुपर्ने र हर्मुज जलसन्धि भएर जाने जहाजहरूसँग शुल्क लिन पाउनुपर्ने जस्ता मागहरू पनि राखेको थियो । प्रवक्ता बाघेईलेले यति ठूला र जटिल मुद्दाहरूमा पहिलो भेटमै सहमति हुन्छ भनेर अपेक्षा गर्नु नै सही नभएको तर्क समेत गरेका छन् ।

इरानको बुझाइमा अमेरिकाले निकै धेरै र अनावश्यक मागहरू राखेका कारण कुराकानी निष्कर्षमा पुग्न नसकेको हो । शनिबारको वार्ताबाटै कुनै अन्तिम सहमति निस्कने अपेक्षा कसैले नगरे पनि केही सकारात्मक संकेत आउने र युद्धविरामको समय थपिने धेरैको आशा थियो । तर उपराष्ट्रपतिको भनाइले वार्तामा निकै कम आशा मात्र बाँकी रहेको देखाउँछ ।

यससँगै दुई हप्ताका लागि तय गरिएको युद्धविरामको भविष्य अन्योलमा परेको छ । यो युद्धमा मध्यस्थकर्ता र वार्ता आयोजक पाकिस्तानले भने शान्ति प्रयासमा आफ्नो भूमिका जारी राख्ने बताएको छ । आइतबार पाकिस्तानी विदेशमन्त्री इसाक डारले दुवै पक्षलाई युद्धविराम कायम राख्न आग्रह गरेका छन् । सन् २०१५ मा ओबामा प्रशासनले इरानसँग परमाणु सम्झौता गरेयता अमेरिका र इरानबीच भएको यो पहिलो प्रत्यक्ष वार्ता हो ।

त्यसबेलाको सम्झौतालाई पछि राष्ट्रपति ट्रम्पले खारेज गरिदिएका थिए । यो वार्ता सन् १९७९ को इस्लामिक क्रान्तिपछि दुई देशबीच भएको सबैभन्दा उच्च स्तरको छलफल पनि हो । वार्तामा कुनै ठोस सहमति हुन नसके पनि धेरै विश्लेषकहरूले अमेरिका र इरानका प्रतिनिधिहरू यसरी आमनेसामने बस्नुलाई नै एउटा ठूलो घटनाका रूपमा हेरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ७ : ४३ बजे

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३