बजेट निर्माणमा जुटे कञ्चनपुरका पालिका « Khabarhub

बजेट निर्माणमा जुटे कञ्चनपुरका पालिका


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– यहाँका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष २०८३-८४ का लागि आवश्यक बजेट निर्माणको तयारीमा जुटेका छन् ।

सङ्घीय सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएसँगै कञ्चनपुरका नौवटा पालिकाले पनि वडास्तरबाट योजना छनोट गरी पालिकामा संकलन गरिरहेका छन् । यहाँको शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले वडास्तरमा बजेटको सिलिङ पठाएर योजना छनोटको काम अन्तिम चरणमा पुगिसकेको बताए।

‘नगरपालिका कार्यालयमा पनि शाखागत रूपमा योजना छनोट लगायतका काम भइरहेका छन्’, उनले भने,’तोकिएको समयसीमाभित्र बजेट निर्माणका लागि सक्रियताका साथ लागेका छौँ ।’

उनले आगामी आवमा कर्मचारीको तलब वृद्धिको व्ययभार थपिएको बताए।

‘एक्काइस प्रतिशत तलब कर्मचारीको बढ्दा हाम्रो पालिकामा मात्रै तीन करोड व्ययभार थपियो’, उनले भने, ‘असार १० गतेभित्र बजेट ल्याउनेगरी तयारीमा जुटेका छौँ ।’

उनले बजेट र कार्यक्रम तयार गर्नुअघि सरोकारवालासँग छलफलसमेत गरिने बताए। चालु आवमा शुक्लाफाँटा नगरपालिकाको बजेट ९३ करोड रहेको नगरपालिकाले जनाएको छ । 

‘हामीले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माणलगायतका विषय प्राथमिकतामा राखेका छौँ’, उनले भने, ‘सङ्घ र प्रदेश सरकारले बजेट दिएर बनिरहेका योजना पनि पूरा गर्नेतर्फ अग्रसर छौँ ।’ उनले नगर चक्रपथ निर्माणसमेत भइरहेको बताए।

त्यसैगरी, कञ्चनपुरको जेठो भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले विषयगत शाखा र वडामा बजेटका लागि सिलिङ पठाइएको बताए। शाखाहरूमा बजेट निर्माणको काम हुँदैछ भने वडास्तरमा पनि योजना तर्जुमाको काम भइरहेको उनले जानकारी दिए । 

उपप्रमुख नेतृत्वमा बैठक बसेर वडाबाट आएका योजना टुङ्गोमा पुर्‍याएर कार्यपालिकामा अघि बढाउने उनले जानकारी दिए। ‘शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेर बजेट बन्ने छ, विभिन्न जनमुखी योजना बजेटबाट सम्बोधन हुनेछ’, उनले भने।

वडा समितिबाट निर्णय भएर आएपछि योजना छनोट, कार्यक्रम प्रस्ताव तथा विषयगत शाखाबाट अध्ययन गरेर बजेट तथा कार्यक्रम तर्जुमाको काम अगाडि बढाइने पालिकाहरूको भनाइ छ । नगरवासीको चाहनाअनुरूपको नीति तथा बजेट पारित गर्ने तयारी भइरहेको उपप्रमुख लेखकको भनाइ थियो ।

बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले पनि बजेट निर्माणको काम भइरहेको बताए। 

‘दशवटा वडा र विषयगत शाखामा पनि सिलिङ पठाइरहेका छौँ’, चौधरीले भने, ‘नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेका छौँ ।’ उनले सुदूरपश्चिम प्रदेशमा पनि प्राथमिकीकरण गरेर बजेट माग गरिएको बताए। ‘पुराना योजना प्राथमिकीकरण गरेर बजेटमा समावेश गर्छौँ’, चौधरीले भने, ‘अधूरा निर्माणकार्य पूरा गर्नेछौँ ।’

त्यसैगरी, कञ्चनपुरको दोधारा चादँनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र जोशीले वडामा बजेटको सिलिङ पठाएको बताए। 

‘आगामी असार ८ गते नगरसभा तोकिएको छ, वडा र विषयगत समितिमा योजना छनोटको काम हुँदैछ’, उनले भने। कञ्चनपुरमा सातवटा नगरपालिका र दुईवटा गाउँपालिका गरी नौवटा स्थानीय तह छन् । 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ९ : २७ बजे

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू

काठमाडौं- कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–४ स्थित जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन

इरान–अमेरिका सम्झौता अन्योलमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता हुन

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन– उन्नत जातका धान उत्पादनमा किसानहरूको आकर्षण बढेको छ ।

पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह

काठमाडौं– विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रदेश तथा स्थानीय सरकारलाई

शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ठूलो सम्झौता भएको भनेर